हुन्डाईले ६ महिनाभित्र ल्याउँदै दुई नयाँ एसयूभी, बेयोन र सस्तो इलेक्ट्रिक एसयूभी

Sep 23, 2026 02:35 PM Merolagani



हुन्डाई मोटर इन्डियाले आगामी ६ महिनाभित्र दुई नयाँ एसयूभी बजारमा ल्याउने तयारी गरेको छ।

कम्पनीले बेयोन र कोडनेम HE1i नाम दिइएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको हो।

हुन्डाई बेयोनलाई क्रेटाभन्दा सस्तो विकल्पका रूपमा बजारमा उतार्ने तयारी गरिएको छ। यो एसयूभीले भारतमा मारुती सुजुकी भिक्टोरिससँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

बेयोनमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन उपलब्ध हुने सम्भावना छ। पेट्रोल संस्करणमा ६–स्पिड म्यानुअल वा सीभीटी गियरबक्स र सीएनजी संस्करणमा म्यानुअल गियरबक्स उपलब्ध हुन सक्ने बताइएको छ। यसमा डिजेल इन्जिन भने नआउने जनाइएको छ।

स्पाइ तस्बिरअनुसार बेयोनमा स्प्लिट हेडलाइट, ‘एच’ आकारको डीआरएल, ठूलो ह्विल आर्च, पुल–टाइप डोर ह्यान्डल, डुअल–टोन एलोय ह्विल, एलईडी टेललाइट र रूफ–माउन्टेड स्पोइलर रहने सम्भावना छ।

इन्टेरियरमा कर्भ्ड डुअल–स्क्रिन सेटअप तथा तीन–स्पोक स्टेयरिङ ह्विल दिइने अपेक्षा गरिएको छ। यसमा वायरलेस फोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, सनरुफ, ३६० डिग्री क्यामेरा र लेभल–२ एडीएएसजस्ता फिचर पनि उपलब्ध हुन सक्नेछन्।

यसैगरी, हुन्डाईले HE1i नामको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी पनि ल्याउने तयारी गरेको छ। यो कम्पनीको सबैभन्दा सस्तो इलेक्ट्रिक एसयूभी बन्ने अपेक्षा गरिएको छ। यसको मुख्य प्रतिस्पर्धीका रूपमा टाटा पन्च ईभी, नेक्सन ईभी, किया साइरोस ईभी र महिन्द्रा एक्सयूभी ३एक्सओ ईभीलाई हेरिएको छ।

HE1i मा स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई संस्करण आउने सम्भावना छ। यसमा ४२ किलोवाट–आवर र ४९ किलोवाट–आवरका ब्याट्री प्रयोग हुन सक्ने अनुमान गरिएको छ। यी ब्याट्रीले क्रमशः करिब ३२७ किलोमिटर र ३७० किलोमिटरसम्मको दाबी गरिएको रेन्ज दिन सक्ने बताइएको छ।

हुन्डाईले यसअघि उक्त इलेक्ट्रिक एसयूभीमा एक्साइडका ब्याट्री प्रयोग गर्ने योजना बनाए पनि उत्पादनमा भएको ढिलाइका कारण एसभीओएलटीका सेल प्रयोग गर्ने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ। हुन्डाईले आफ्नो नयाँ पुस्ताको इन्फोटेनमेन्ट प्रणालीसमेत पहिलोपटक प्रयोग गर्ने तयारी गरेको छ।