कीर्तिपुर बर्न अस्पताल बाहिर यातयात व्यवसायीको प्रदर्शन

Sep 22, 2026 03:00 PM Merolagani



यातयात व्यवसायी तथा श्रमिकहरुले कीर्तिपुर बर्न अस्पताल बाहिर प्रदर्शन गरेका छन् । स्वतन्त्र चालक संघ नेपालको अगुवाईमा यातयात व्यवसायी तथा श्रमिकहरुले मंगलबार अस्पताल बाहिर प्रदर्शन गरेका हुन् ।

काठमाडौंको त्रिपुरेश्वरमा सोमवार बसमा जलेर चालक अर्जुन दोङको मृत्यु भएको थियो । उक्त घटनाको विरोधमा दोङका परिवार र यातयात व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । साथै उनीहरुले ट्राफिक प्रहरीले अनाश्यक दुख दिने गरेको आरोप समेत लगाएका छन् ।

प्रदर्शनमा सहभागीहरुले सवारी चालकहरू माथी ट्राफिक प्रहरीले गर्ने ज्यादती बन्द गर्नुपर्ने, मृतक चालकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, चालक आयोग गठन गरेर घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राखेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी) का महासचिव नवराज दाहालले राज्यले सवारी चालक र सहचालकलाई अन्याय गरेको आरोप लगाए । उनले सरकारले पीडितलाई उचित राहत दिएर दोषिलाई कारबाही नगरे श्रमिकहरु आन्दोलनमा उत्रिने चेतावनी दिए ।

उनले भने, ‘यो राज्यले चालक र सहचालकमाथी गरेको अन्याय र अत्याचार हामी सहन सक्दैनौ । यो कुरालाई सरकारले मनन गरोस्, प्रशासनले यसको उचित छानविन गरोस र पीडितलाई उचित क्षतिपुर्तिसहित न्याय देओस् । हाम्रो आवाज नसुनेमा आन्दोलनले उग्र रुप लिन सक्छ, त्यसको जिम्मेवारी स्वयं राज्य नै हुनेछ ।’

काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर गम्भिर घाईते भएका मकवानपुरका दोङको उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमराती नै मृत्यु भएको थियो ।