घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै तौलका ग्यास सिलिन्डर ल्याइँदै, १५ दिनभित्र प्रतिवेदन तयार हुने

Sep 23, 2026 12:14 PM Merolagani



सरकारले खाना पकाउने एलपी ग्यासमा घरायसी र व्यावसायिक प्रयोजनका लागि फरक–फरक तौल र मूल्यका सिलिन्डर कार्यान्वयनमा ल्याउन अध्ययन प्रक्रिया अगाडि बढाएको छ। 

हाल घरायसी तथा ठूला व्यावसायिक प्रतिष्ठान दुवैले १४.२ किलोग्राम (केजी) क्षमताकै सिलिन्डर एउटै मूल्यमा प्रयोग गर्दै आएकोमा अब त्यसलाई वर्गीकरण गर्न लागिएको हो। यस विषयमा अध्ययन गरी ठोस सुझाव दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा एक अध्ययन समिति गठन गरिएको छ। समितिमा गुणस्तर तथा नापतौल विभाग, भन्सार विभाग, नेपाल आयल निगम र ग्यास उद्योगीका प्रतिनिधिहरू सदस्य रहेका छन्। ग्यास उद्योगीसहितको उक्त टोलीले अध्ययन सुरु गरिसकेको र १५ दिनभित्र प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्ने तयारी छ।

किन आवश्यक पर्‍यो बेग्लाबेग्लै तौल र मूल्य ?

हाल बजारमा पाँचतारे होटल, रेष्टुरेन्ट तथा उद्योगदेखि सर्वसाधारण उपभोक्तासम्म सबैले एउटै तौल (१४.२ केजी) र एउटै मूल्य (प्रतिसिलिन्डर करिब २ हजार ६० रुपैयाँ) मा ग्यास खरिद गर्दै आएका छन्। नेपाल आयल निगमका अनुसार बजारमा खपत हुने कुल ग्यासमध्ये ७० प्रतिशत घरायसी र ३० प्रतिशत व्यावसायिक प्रयोजनमा प्रयोग हुने गर्दछ।

एउटै दरभाउ हुँदा राज्यले सर्वसाधारणका लागि दिने सहुलियत तथा अनुदानको ठूलो हिस्सा (वार्षिक करिब ७ देखि ८ अर्ब रुपैयाँ) सम्पन्न उद्योगी तथा व्यावसायिक घरानाले समेत पाउँदै आएका छन्। दुई थरि सिलिन्डर र मूल्य निर्धारण भएपछि सर्वसाधारणलाई दिइने अनुदान सुरक्षित हुने र व्यावसायिक प्रतिष्ठानहरूलाई बजार मूल्यमा ग्यास उपलब्ध गराउन सकिनेछ।

व्यावसायिक प्रयोजनका लागि ४५० केजीसम्मको सिलिन्डर प्रस्ताव

गुणस्तर तथा नापतौल विभागले यसअघि नै ५ केजी, १४.२ केजी, १९ केजी र ४५० केजी तौलको ग्यास सिलिन्डर प्रयोगका लागि मापदण्ड तयार पारिसकेको छ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार व्यावसायिक प्रयोजनका लागि ४५० केजीको सिलिन्डर बढी प्रभावकारी हुने देखिएको छ। पाँचतारे होटल तथा ठूला उद्योगहरूमा सयौँको संख्यामा साना सिलिन्डर होल्ड गरेर राख्नुभन्दा ४५० केजी तौलको ठूलो (जम्बो) सिलिन्डर प्रयोग गर्दा सुरक्षाका दृष्टिले समेत उपयुक्त हुने र यस्ता सिलिन्डरमा सरकारले अनुदान दिनु नपर्ने उनको भनाइ छ।

छिमेकी मुलुक भारतमा पनि इन्डियन आयल कर्पोरेसन (आईओसी) ले 'जम्बो सिलिन्डर' का नाममा ४५० केजीका सिलिन्डर व्यावसायिक प्रयोजनमा ल्याएको छ। साथै, सुपरग्यास कम्पनीले 'म्याक्सिमा' तथा टोटल इनर्जीले 'मिनी बल्क सिलिन्डर' मार्फत धातु, फलाम र स्टिल उद्योगमा उच्च ग्यास प्रवाहका लागि ४५० केजी क्षमताकै सिलिन्डर प्रयोगमा ल्याउँदै आएका छन्।

विगतका प्रयास र कानुनी व्यवस्था

‘एलपी ग्यास विनियमावली, २०६५’ ले विभिन्न तौल र आकारका सिलिन्डर बिक्री गर्न सकिने व्यवस्था गरेको भए पनि यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको थिएन। २०८० असोज २२ गते प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा समेत दुई थरि सिलिन्डर प्रयोगमा ल्याउनेबारे छलफल भएको थियो।

अहिले गठन भएको समितिले प्राविधिक, व्यावहारिक र आर्थिक पक्षको विस्तृत विश्लेषण गरी १५ दिनभित्र प्रतिवेदन बुझाएपछि दुई थरि तौलका सिलिन्डर कार्यान्वयनको प्रक्रिया मन्त्रिपरिषद् वा मन्त्रालय तहबाट अघि बढाइने जनाइएको छ।