नयाँ १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा, यस्ता छन् विशेषता

Sep 24, 2026 11:11 AM Merolagani



नेपाल राष्ट्र बैंकले आज असोज ८ गतेदेखि १ हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ।

केन्द्रीय बैंकले साविककै आकारमा रङ परिवर्तन गरी बैजनी रङको घेराभित्र फिक्का हरियो रङ रहेको नयाँ नोट चलनचल्तीमा ल्याएको हो। राष्ट्र बैंकका अनुसार संकेत नं. ट९२–०००००१ देखि त५०–९९९९९९ सम्मका नयाँ नोट प्रचलनमा आएका छन्।

नोटको अगाडिका मुख्य विशेषता

नोटको मध्य भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १,००० एक हजार तुरुन्त पाइने छ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ। पानीछापको मुनि ‘१०००’ अंकसमेत देखिन्छ।

नोटको दायाँतर्फ निलो रङमा ‘१०००’ को केही अंश देखिने सि थ्रु रजिस्टर रहेको छ। नोटलाई प्रकाशतर्फ हेर्दा उक्त अंक पूर्ण रूपमा देखिन्छ।

दृष्टिविहीन व्यक्तिलाई नोट पहिचान गर्न सहज होस् भनेर दायाँतर्फको तल्लो भागमा एक हजार जनाउने रोमन अक्षर ‘M’ राखिएको छ। साथै, सगरमाथा हिमालको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०/१० वटा तेर्सा रेखा राखिएका छन्।

सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र राखिएको छ।

नोटमा ३.५ मिलिमिटर चौडाइको चलायमान सुरक्षण धागो रहेको छ। सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने उक्त धागोमा ‘NRB’ र ‘१०००’ अंकित छन्। नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखतसमेत रहेको छ।

नोटको पछाडिका विशेषता

नोटको मध्य भागमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा रहेका नेपाली हात्तीमध्ये देवकली मनी नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। चित्रको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ।

नोटको बायाँतर्फ पनि निलो रङमा ‘१०००’ को सि थ्रु रजिस्टर राखिएको छ। पानीछापको दायाँतर्फ नेपालको सातवटा प्रदेशलाई जनाउने गरी सातवटा लालीगुराँसका चित्र प्रयोग गरिएको छ।

त्यसैगरी, दायाँतर्फ ‘RUPEES ONE THOUSAND’ लेखिएको छ भने हनुमानढोकास्थित व्हीचोकमा रहेको ऐतिहासिक महत्वको थामको आकृति राखिएको छ। नोटको तल्लो भागमा सिरिज नम्बर ‘2025 A.D.’ उल्लेख गरिएको छ।