२१ बुँदे सुधार योजनापछि पनि टिक्न सकेन बजार: नीतिगत सहुलियतका बाबजुद लगानीकर्ताको मनोबल अझै कमजोर

Sep 29, 2026 06:36 PM Merolagani



सुवास निरौला

आज शेयर बजार ९.६२ अंक घटेर २६०३.७१ विन्दुमा ओर्लिएको छ। सरकार तथा नियामक निकायहरूले पूँजी बजारलाई चलायमान बनाउन विभिन्न लचिला नीति तथा सुधारका योजना अघि सारे तापनि त्यसले बजारमा दिगो सुधार ल्याउन सकेको छैन। 

पछिल्ला केही कारोबार दिनमा सुधारको झिनो संकेत देखिएको नेप्से परिसूचक पुन: घट्दो लयमा फर्किएपछि लगानीकर्तामा छाएको निराशा अझै नहटेको स्पष्ट भएको छ। सरकारले भदौ २९ गते ल्याएको २१ बुँदे सुधार कार्ययोजनापछि बजारमा देखिएको उत्साह केही दिनमै सेलाएको छ। एकातिर पूँजीगत लाभकर कटौती र शेयर धितो कर्जाको सीमा खारेजीजस्ता नीतिगत निर्णय कार्यान्वयनमा छन् भने अर्कोतिर वित्तीय प्रणालीमा लगानीयोग्य रकम थुप्रिएर ब्याजदर निकै सस्तो भइसकेको छ। यस्तो अनुकूल आर्थिक वातावरण हुँदाहुँदै पनि बजार घट्दो क्रममा देखिनुले लगानीकर्ताहरूको आत्मविश्वास अझै कमजोर नै रहेको पुष्टि गर्दछ।

२१ बुँदे कार्ययोजना र बजारको अल्पकालीन उत्साह

नेप्से परिसूचक नयाँ सरकार बन्नुअघि २९५० विन्दुमा रहेकोमा निरन्तर ओरालो लागेर भदौ १५ सम्म आइपुग्दा २५१३ विन्दुसम्म झरेको थियो। करिब ४३७ अंकको यो ठूलो गिरावट आउदा लगानीकर्ताको करिब ५ खर्ब रुपैयाँ  गुम्यो। सोही अवधिमा बजार पूँजीकरण ५० खर्बबाट घटेर ४५ खर्बमा सीमित हुन पुग्यो। बजारलाई ओरालो लाग्नबाट रोक्न र लगानीकर्ताको खस्किएको मनोबल फर्काउन अर्थ मन्त्रालयले भदौ २९ गते २१ बुँदे 'शेयर बजार पुनरुत्थान तथा सुदृढ कार्ययोजना' सार्वजनिक गरेको थियो।

कार्ययोजना सार्वजनिक भएको भोलिपल्टै बजारमा केही सकारात्मक प्रभाव देखिँदै नेप्से सूचक ४८.५७ अंकले बढेर २६३३ विन्दुमा पुगेको थियो। तर, त्यो वृद्धि २४ घण्टा पनि टिक्न सकेन र ३१ गते पुन: २१.१९ अंकले घट्यो। असोज महिनाका सुरुवाती दिनहरूमा केही सुधार देखिएर सूचक असोज ६ गते २६५४ सम्म पुगे पनि त्यसको भोलिपल्टै पुन: ३६.२५ अंकको पहिरो गयो। आजको कारोबारमा समेत सूचक ओरालो लागेर २६०३.७१ विन्दुमा झर्नुले २१ बुँदे योजनाको प्रभाव अल्पकालीन मात्र सावित भएको देखाउँछ।

नीतिगत सहुलियत र नियामक निकायहरूको भरपुर प्रयास

बजार सुधारका लागि सरकार, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले नीतिगत रूपमा आफ्ना तर्फबाट गर्नुपर्ने लगभग सबै कामहरू सम्पन्न गरिसकेका छन्। चालु आर्थिक वर्षको बजेटमार्फत बढाइएको पूँजीगत लाभकरलाई परिमार्जन गर्दै सरकारले १ वर्षभन्दा बढी होल्ड गरेको शेयरमा लाभकर आधा घटाएर ३.७५ प्रतिशत र १ वर्षभन्दा कम अवधि होल्ड गरेको शेयरमा ५ प्रतिशत कायम गरेको छ। साथै, लगानीकर्तालाई पूँजीगत लाभकरमा घाटा समायोजन गर्न पाउने व्यवस्था समेत आउने क्रममा  छ।

यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्र बैंकले ६ महिनाको अनिवार्य होल्डिङ अवधिलाई घटाएर ४५ दिनमा झारिदिएको छ। हाल बैंकिङ प्रणालीमा करिब १६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ भने बैंकहरूको आधार दर ६ प्रतिशतभन्दा तल झरेर इतिहासकै सस्तो ब्याजदरमा कर्जा अफर भइरहेको छ। राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको व्यक्तिगत तथा संस्थागत सीमासमेत हटाइसकेको छ र ब्रोकरहरूले पनि मार्जिन कर्जा प्रवाह गरिरहेका छन्। यी तमाम प्रयासका बाबजुद बजारले अपेक्षित गति लिन सकेको छैन।

प्राविधिक विश्लेषण र चार्टले देखाएका प्रमुख संकेतहरू

दैनिक (Daily) क्यान्डलिस्टिक चार्टको प्राविधिक विश्लेषण गर्दा बजारको संरचना मिश्रित तर दबाबयुक्त देखिन्छ। २९६९.५० को उच्च विन्दु बनाएपछि नेप्से लगातार 'Lower High' र 'Lower Low' बनाउँदै मध्यमकालीन घट्दो ट्रेन्ड (Downtrend) मा फसेको थियो। बजार घटेर सेप्टेम्बरको सुरुमा २५०१.४९ को विन्दुसम्म झरेपछि त्यहाँबाट बलियो 'V-Shape' बाउन्स आएको थियो, जसले २५०० को क्षेत्रलाई एउटा बलियो बटम (Demand Zone) का रूपमा स्थापित गरेको छ।

उक्त बटमबाट बढेको बजार २६८० विन्दु नजिक पुगेर रोकिएको थियो। तर, २६८० को रेसिस्टेन्सलाई माथितिर तोड्न नसक्दा बजार अहिले पुन: कन्सोलिडेसन र पुलब्याकको चरणमा प्रवेश गरी २६०३ विन्दु आसपास आइपुगेको छ। प्राविधिक रूपमा बजारका लागि तत्कालको अल्पकालीन सपोर्ट २५८० देखि २६०० को क्षेत्रमा छ। यदि यो स्तर जोगिन नसकेमा बजारले पुन: २५०० देखि २५२० को बलियो सपोर्ट परीक्षण गर्न सक्छ। बजार माथितिर जानका लागि भने तत्काल २६६० देखि २६८० को अवरोध पार गर्नुपर्नेछ। यो विन्दुभन्दा माथि ब्रेकआउट भएमा मात्र बजारले अर्को प्रमुख सप्लाई जोन २७२० देखि २७४० लाई चुनौती दिन सक्नेछ। भोल्युमको हिसाबले हेर्दा गिरावटको समयमा भोल्युम घट्नु सकारात्मक भए पनि बजारलाई माथि लैजान थप खरिद भोल्युम आवश्यक देखिन्छ।

लगानीकर्ताको मनोबल कमजोर हुनुका मुख्य कारणहरू

बजारका लागि आवश्यक नीति, तरलता र ब्याजदर सबै अनुकूल हुँदाहुँदै पनि लगानीकर्ताको आत्मविश्वास नफर्किनुमा मनोवैज्ञानिक त्रास मुख्य कारण रहेको बजार विश्लेषकहरूको बुझाइ छ। सरकार परिवर्तनका सुरुवाती दिनहरूमा अपनाइएको धरपकड र कडाइका कारण लगानीकर्ताहरू त्रसित बनेका थिए। त्यसयता सरकारले एकपछि अर्को बजारमैत्री नीति लिए पनि लगानीकर्ताहरू नीतिगत स्थिरताप्रति अझै पूर्ण विश्वस्त हुन सकेका छैनन्।

लगानीकर्तामा अझै पनि बजार थप घट्न सक्छ भन्ने डर कायमै रहेकाले बजार सामान्य बढ्नेबित्तिकै नाफा सुरक्षित गर्ने (Profit Booking) वा घाटा कम गरेर बाहिरिने प्रवृत्ति हाबी भएको छ। नीतिगत व्यवस्थाले बजारलाई सहज बनाए पनि लगानीकर्ताको मनोवैज्ञानिक त्रास नहटेसम्म ठूलो पूँजी बजारमा भित्रिन नसकेको विश्लेषकहरू बताउँछन्।

समग्र अर्थतन्त्रका अन्य सूचकहरू सुधारोन्मुख बन्दै गएको र बजार २५०० को बलियो आधार विन्दुबाट माथि उठेकाले योभन्दा तल झर्ने जोखिम कम रहेको जानकारहरूको ठम्याइ छ। यद्यपि, बजारलाई स्थायी रूपमा वृद्धिको बाटोमा डोर्‍याउन नीतिगत सहुलियतसँगै लगानीकर्तामा गुमेको भरोसा पुनस्र्थापित हुनु अपरिहार्य देखिन्छ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।