कम्पनीका अनुसार नेप्से बुल्समा १० वर्ष पुरानो रेयर माल्ट प्रयोग गरिएको छ। उक्त माल्ट स्कटल्यान्डका हाइल्यान्ड र स्पेसाइड क्षेत्रका विभिन्न माल्ट व्हिस्कीको मिश्रण हो। यसमा हाल अस्तित्वमा नरहेको एक डिस्टिलरीको व्हिस्कीसमेत समावेश गरिएको जनाइएको छ।
उक्त रेयर माल्ट केही हजार लिटर मात्र उपलब्ध रहेको र त्यसको सानो हिस्सा मात्रै नेप्से बुल्समा प्रयोग गरिएको कम्पनीको दाबी छ। विविध उत्पत्ति, विशिष्ट चरित्र र सीमित उपलब्धताका कारण नेप्से बुल्सलाई नेपालमा रेयर माल्ट प्रयोग गरेर तयार गरिएको विशेष व्हिस्कीका रूपमा प्रस्तुत गरिएको छ।
रेयर माल्ट कुनै कानुनी श्रेणी नभई दशकौँमा विकसित भएको छनोटको परम्परा भएको कम्पनीले जनाएको छ। यसको पहिचानमा व्हिस्कीको उत्पत्ति तथा निर्माणको कथा, मौलिक चरित्र र दुर्लभतालाई आधार मानिन्छ।
सागर डिस्टिलरीले नेपाली व्हिस्की उपभोक्ताको बदलिँदो रुचिलाई ध्यानमा राख्दै नेप्से बुल्सलाई नयाँ स्वरूपमा अघि बढाउन लागेको जनाएको छ। कम्पनीका अनुसार अहिलेका उपभोक्ता केवल मूल्यमा आधारित प्रिमियम उत्पादनभन्दा त्यसको उत्पत्ति, विशेषता र कथाबारे जान्न चाहनेतर्फ अघि बढिरहेका छन्।
नयाँ नाम सिर्जना गर्नुको सट्टा नेपाली उपभोक्तामाझ पहिलेदेखि परिचित नेप्से बुल्स नामलाई नै नयाँ अवधारणासहित अघि बढाउने निर्णय गरिएको कम्पनीले जनाएको छ। यसको उद्देश्य नेपाली व्हिस्कीप्रेमीबीच सुरु भइसकेको संवादलाई अझ गहिरो बनाउनु रहेको कम्पनीको भनाइ छ।