चाडपर्व नजिकिँदै गर्दा बिजुलीको चिन्ता, साँझको पिक आवरमा बढ्यो ‘ट्रिपिङ’

Oct 01, 2026 06:08 PM Merolagani



हरिप्रसाद शर्मा

नेपालीका ठूला चाडपर्व नजिकिँदै जाँदा देशभर नियमित विद्युत् आपूर्तिमा समस्या देखिन थालेको छ। 

काठमाडौं उपत्यकासहित मुख्य बजार क्षेत्र र दुर्गम जिल्लाहरूमा समेत पछिल्ला दिनमा विद्युत् आपूर्तिमा अवरोध र ट्रिपिङको समस्या बढ्न थालेको हो।

विशेषगरी साँझको पिक आवरमा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा झ्यापझ्याप विद्युत् जाने समस्या देखिएको छ। बिना सूचना विद्युत् आपूर्ति अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित हुन थालेको छ। विद्युत् प्रयोग गरेर खाना पकाउने उपभोक्ता तथा व्यवसायीलाई यस्तो समस्याले थप असर पारेको छ।

सरकारले २०७३ सालको लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यकामा र २०७५ सालमा देशभर औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको थियो। त्यसयता नियमित विद्युत् आपूर्तिका कारण लोडसेडिङको समस्या हटेको भन्दै विद्युत् प्रणालीमा ठूलो सुधार भएको बताइँदै आएको थियो।

तर, लोडसेडिङ अन्त्य भएको करिब नौ वर्षपछि पनि छिनछिनमा विद्युत् जाने समस्या दोहोरिन थालेपछि उपभोक्ताले पुनः लोडसेडिङकै झल्को दिन थालेको गुनासो गर्न थालेका छन्।

काठमाडौंको घट्टेकुलोकी गीता कँडेल पछिल्ला दिनमा साँझको समयमा विद्युत् जाने समस्या बढेको बताउँछिन्। खाना पकाउने समयमा अचानक बिजुली जाँदा समस्या हुने र विद्युत् कहिले आउने भन्ने यकिन नहुने उनको गुनासो छ।

‘हिजोआज साँझमा बिजुली जान्छ। खाना पकाउने बेला अँध्यारो हुँदा समस्या हुन्छ। बिजुली कतिबेला आउने, कतिबेला नआउने टुंगो हुँदैन,’ उनले भनिन्।

बाढीपहिरोले घटायो उत्पादन

पछिल्लो विद्युत् आपूर्ति समस्याको एउटा प्रमुख कारण गत भदौ १० गते र त्यसपछिका बाढीपहिरोबाट जलविद्युत् आयोजनामा भएको क्षतिलाई मानिएको छ। बाढीपहिरोका कारण देशभरका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेपछि करिब एक हजार मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको थियो।

 

क्षतिग्रस्त आयोजनामध्ये केहीको मर्मत तथा पुनर्निर्माणपछि उत्पादन सुरु भइसकेको छ। तर, नेपाल विद्युत् प्राधिकरणका अनुसार अझै करिब ३ देखि ४ सय मेगावाट विद्युत् उत्पादन प्रणालीबाहिर नै रहेको छ।

बाढीका कारण उत्पादन क्षमता घटेपछि आगामी चाडपर्वको समयमा विद्युत्को माग व्यवस्थापन थप चुनौतीपूर्ण बन्ने देखिएको छ। प्राधिकरणले भने आवश्यक परे भारतबाट विद्युत् आयात गरेर भए पनि नियमित आपूर्ति कायम गर्ने तयारी गरेको जनाएको छ।

चाडपर्वमा २ हजार २०० मेगावाटसम्म माग

चाडपर्वका बेला घरायसी तथा व्यावसायिक विद्युत् खपत बढ्ने भएकाले देशभरको पिक डिमान्ड करिब २ हजार २०० मेगावाट पुग्ने अनुमान गरिएको छ।

त्यसमाथि हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाको उत्पादन पनि क्रमशः घट्नेछ। यसले आन्तरिक उत्पादन र विद्युत् मागबीचको अन्तर बढाउन सक्ने देखिएको छ।

आन्तरिक उत्पादन घटेको अवस्थामा माग धान्न भारतबाट थप विद्युत् आयात गर्नुपर्ने अवस्था आउने प्राधिकरणको आकलन छ। आयात व्यवस्थापनसँगै प्रसारण तथा वितरण प्रणालीमा देखिने प्राविधिक समस्यालाई समयमै समाधान गर्न नसके पिक आवरमा ट्रिपिङको समस्या थपिन सक्ने जोखिमसमेत छ।

क्षतिग्रस्त आयोजना पुनर्निर्माणमा जोड

नेपाल विद्युत् प्राधिकरणले भने बाढीपहिरोबाट क्षतिग्रस्त आयोजनाको मर्मत तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ। प्रणालीबाट बाहिर रहेका आयोजनालाई क्रमशः सञ्चालनमा ल्याउँदै विद्युत् उत्पादन पूर्ववत् बनाउने तयारी भइरहेको छ।

चाडपर्वका बेला विद्युत्को माग उच्च हुने भएकाले आन्तरिक उत्पादन, भारतबाट हुने आयात र प्रसारण तथा वितरण प्रणालीको व्यवस्थापनमार्फत नियमित आपूर्ति कायम गर्ने चुनौती प्राधिकरणसामु छ।

लोडसेडिङको अन्त्यपछि विद्युत् आपूर्तिमा आएको सुधारका कारण उपभोक्ताको विद्युत्माथिको निर्भरता पनि बढेको छ। विद्युतीय चुलो, पानी तान्ने पम्प, इन्डक्सन तथा अन्य विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको अवस्थामा पिक आवरको लगातार ट्रिपिङले उपभोक्तालाई प्रत्यक्ष असर पार्न थालेको छ।

यसकारण चाडपर्वको समयमा माग बढ्ने, जलविद्युत् उत्पादन घट्ने र बाढीपहिरोबाट क्षतिग्रस्त आयोजना पूर्ण क्षमतामा सञ्चालनमा नआइसकेको अवस्थाबीच विद्युत् प्रणाली व्यवस्थापन प्राधिकरणका लागि चुनौतीपूर्ण बन्ने देखिएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।