३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिँदै मन्त्री वादीले ज्येष्ठ नागरिकलाई समाजका सक्रिय र सम्मानित साझेदारका रूपमा स्थापित गर्न डिजिटल प्रविधिको प्रयोग गरिने बताइन् । ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यस वर्ष ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार’ भन्ने नाराका साथ मनाइँदैछ ।
मन्त्री वादीले बदलिँदो पारिवारिक संरचना र शहरीकरणका कारण ज्येष्ठ नागरिकहरूले भोग्नुपरेका एक्लोपन र स्वास्थ्य समस्यालाई राज्यले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले ज्येष्ठ नागरिक केवल हेरचाहको आवश्यकता भएका व्यक्ति नभई समाजका मार्गदर्शक र अनुभवी धरोहर भएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘ज्येष्ठ नागरिकहरूको अनुभव र ज्ञानको संरक्षण र पुस्तान्तरणलाई संस्थागत गर्न हामी ‘अनुभव बैङ्क’को अवधारणामा काम गरिरहेका छौँ ।’
उनले यस पहलले अन्तरपुस्ता ज्ञान हस्तान्तरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिन् । साथै, मन्त्री वादीले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा विपदमा परी ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरिन् । उनले प्रभावितहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि मन्त्रालयले निरन्तर समन्वय गरिरहेको स्पष्ट पारिन् । मन्त्री वादीले ज्येष्ठ नागरिकप्रतिको सम्मान कुनै एक दिवसको औपचारिकतामा मात्र सीमित नभई हाम्रो व्यवहार, नीति र सामाजिक संस्कारका रूपमा स्थापित हुनुपर्नेमा जोड दिइन् ।