यस दिन नेप्से परिसूचक ०.२६ अंक बढेर २५९९.१५ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ७६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५३ स्टकको ५१ हजार ७४५ पटकको कारोबारमा ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँबराबरको १ करोड २० लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १०.८१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने इमर्जीङ्ग नेपालको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सयपत्री हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.६६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३० करोड ५३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकले भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछ। लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएकोले लगानीकर्ताहरु यसतर्फ आकर्षिक भएका हुन्। त्यस्तै, यस दिन अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्टको करिब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०५ प्रतिशत घटेको छ भने लगानी उपसमूहको परिसूचक स्थिर रहेको छ।