दसैँमा हवाई यात्राको टिकट स्थिति : बुद्ध एयर शतप्रतिशत ‘प्याक’, यतीमा केही बाँकी रहँदा श्री एयरलाइन्समा अझै सिट उपलब्ध

Oct 04, 2026 03:52 PM Merolagani



दसैँमा काठमाडौँ उपत्यका छाड्ने यात्रुको चाप बढेसँगै आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीहरूको टिकट बुकिङमा तीव्र भिन्नता देखिएको छ। सडक मार्गको दुरावस्था र अनिश्चितताका कारण हवाई यात्रामा यात्रुको आकर्षण अत्यधिक देखिए पनि सबै एयरलाइन्सको टिकट एकैनासले सकिएको छैन।

पिक सिजनका लागि बुद्ध एयरका अधिकांश प्रमुख गन्तव्यका टिकटहरू शतप्रतिशत बिक्री भइसकेका छन् भने यती एयरलाइन्समा सीमित सिटहरू अझै बाँकी छन्। उता श्री एयरलाइन्समा भने दसैँका मुख्य दिनहरूका लागिसमेत यात्रुले सहजै टिकट पाइरहेका छन्।

बुद्ध एयर : पिक आवरका सबै टिकट ‘प्याक’
आन्तरिक उडानको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरमा दसैँका मुख्य दिनहरू (२८ असोजदेखि १ कात्तिकसम्म) का लागि टिकट पाउन असम्भवप्रायः बनेको छ। पोखरा, विराटनगर, भैरहवा, धनगढी, नेपालगन्ज, भद्रपुरलगायतका ट्रान्जिट तथा प्रमुख गन्तव्यका सिटहरू शतप्रतिशत ‘प्याक’ भइसकेका छन्। “२८ असोजदेखि १ कात्तिकसम्मका मुख्य दिनहरूमा सबैजसो सेक्टरका टिकटहरू लगभग शतप्रतिशत बिक्री भइसकेका छन्,” बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने— “यस पटक हामीले अधिकतम मूल्य (माथिल्लो फेयर) मा टिकट नराखेका कारण दसैँ अगाडिका सिटहरूको बिक्री निकै तीव्र भयो। यद्यपि, काठमाडौँ फिर्ता हुने उडानहरूमा भने सिट उपलब्ध छन्।”

यती एयरलाइन्स : ८० प्रतिशतभन्दा बढी बुकिङ, केही सिट अझै बाँकी
यती एयरलाइन्समा भने अधिकांश उडानको बुकिङ पूरा भए पनि केही सेक्टर र समयका लागि सीमित सिटहरू अझै उपलब्ध छन्। कम्पनीका अनुसार कुल टिकटमध्ये ८० प्रतिशतभन्दा बढी बिक्री भइसकेको छ र बाँकी सिटहरूमा तीव्र बुकिङ भइरहेको छ। “हाम्रो ८० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको छ। अब केही सीमित टिकटहरू मात्र बाँकी छन्,” यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए— “पोखरा, विराटनगर र भैरहवाजस्ता पहाडी तथा तराईका प्रमुख हबहरूमा यात्रुको चाप सबैभन्दा बढी छ। सडकको समस्या छल्न यात्रुले यी विमानस्थललाई मुख्य ट्रान्जिट बनाएका छन्।”

श्री एयरलाइन्स : यात्रुका लागि अझै सिट उपलब्ध
बुद्ध र यतीमा टिकट नपाएर छटपटिएका यात्रुहरूका लागि श्री एयरलाइन्समा भने अझै विभिन्न गन्तव्यका लागि सिटहरू उपलब्ध छन्। कम्पनीले आफ्ना ठूला क्षमताका जहाजहरू (सीआरजे र क्यु४००) मार्फत उडान भरिरहेकाले दसैँको पिक समयका लागिसमेत यात्रुले टिकट पाउन सकिरहेका छन्। “हाम्रो एयरलाइन्समा दसैँका लागि अझै यात्रुहरूले विभिन्न सेक्टरमा टिकट पाइरहनुभएको छ,” श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले भने— “अन्य कम्पनीमा सिट सकिएको अवस्थामा यात्रुहरू हाम्रोमा आकर्षित भइरहेका छन्। मागअनुसार हाम्रा नियमित उडानहरूमा अझै सिट बाँकी रहेकाले यात्रुले सजिलै बुकिङ गर्न सक्नुहुन्छ।”

सडकको दुरावस्थाले हवाई टिकटमा अस्वाभाविक चाप
पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ खण्ड र बीपी राजमार्गमा बाढीपहिरोले पुर्‍याएको क्षति र सडक जामको डरले यस वर्ष मध्यम वर्गीय यात्रुहरूसमेत सडक छाडेर हवाई यात्रातर्फ आकर्षित भएका हुन्।

वायुसेवा कम्पनीहरूका अनुसार हाल काठमाडौँबाट बाहिरिने उडानहरूमा ‘वान-वे अकुपेन्सी’ (एकतर्फी चाप) अत्यधिक छ भने काठमाडौँ फर्कने जहाजहरू प्रायः रित्तै उडाउनुपर्ने अवस्था रहेको छ। २५ असोज (घटस्थापना) देखि ४ कात्तिक (विजयादशमी) सम्मको यात्राका लागि बुद्धमा टिकट नपाएका यात्रुहरू यती र श्री एयरलाइन्सका बाँकी सिटहरू बुक गर्न लागिपरेका छन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।