नेपाल पूर्वाधार सम्मेलन तयारी सम्बन्धि लगानी र विकासका लागि कानून सुधार परामर्शको तीन दिने कार्यशाला गोष्ठीमा बोल्दै उनले यसअघि भएका लगानी सम्मेलन तथा सम्मेलनबाहेक आन्तरिक र वाह्य लगानीकर्तासँग भएका छलफलबाट आएका सबै लगानी प्रस्तावलाई नयाँ कानून बनाएर कार्यान्वयनमा लैजाने तयारी भएको बताए । उनकाअनुसार आजसम्म भएका लगानी सम्मेलनमा र लगानी सम्मेलनबाहेक आन्तरिक तथा वाह्य लगानीकर्तासँग भएका सबै पिचलाई ऐन बनाएर कार्यान्वयनमा लगिनेछ । सम्बन्धित सबै निकायलाई अगाडि राखेर लगानीकर्ताले परियोजना अघि बढाउन कति समय लाग्छ भन्ने स्पष्ट गरिने उनले बताए।
मन्त्री लम्सालले लगानीकर्ताले परियोजना अघि बढाउने निर्णय गरेपछि सम्झौता हस्ताक्षरदेखि कार्यान्वयनमा जान लाग्ने समयलाई समेत कानूनमै स्पष्ट गरिने बताए ।
उनले लामो समयदेखि पाइपलाइनमा रहेका र सम्झौता भएर पनि कार्यान्वयनमा जान नसकेका परियोजनालाई प्राथमिकताका साथ हेर्न लागिएको बताए । कतिपय परियोजनामा सरकारले १२–१४ वर्षअघि नै सम्झौता गरिसकेको र लगानीकर्ताले प्रारम्भिक खर्चसमेत गरिसकेको भए पनि अनेक कारणले परियोजना अड्किएको हुनसक्ने उनको भनाइ छ ।
मन्त्री लम्सालले भने–‘आजसम्म भएका लगानी सम्मेलन तथा लगानी सम्मेलनबाहेक आन्तरिक र वाह्य लगानीकर्तासँग भएका सबै पिचलाई अब हामीले तयार गरेको ऐनको ढोकाबाट अगाडि बढाउँछौँ । त्यो प्रक्रिया वास्तवमै छिटो र प्रभावकारी हुन्छ कि हुँदैन भन्ने हेर्न सम्बन्धित सबै निकायलाई अगाडि राखेर काम गर्नुपर्छ । लगानीकर्ताले परियोजनामा लगानी गर्ने निर्णय गरेपछि सम्झौता हस्ताक्षर भएको कति दिनमा त्यसलाई कार्यान्वयनमा लैजान सकिन्छ भन्ने पनि स्पष्ट हुनुपर्छ । अहिले तयार भइरहेको मस्यौदा ऐन बनेर कार्यान्वयनमा आएपछि पनि कुनै परियोजना कार्यान्वयन हुन तीन महिनाभन्दा बढी समय लाग्छ भने त्यसमा आवश्यक परिवर्तन गर्नुपर्छ । अर्को महत्वपूर्ण विषय भनेको लामो समयदेखि पाइपलाइनमा रहेका परियोजना हुन् । कतिपय परियोजनामा सरकारले १२–१४ वर्षअघि नै सम्झौता गरिसकेको छ । लगानीकर्ताले प्रारम्भिक खर्चसमेत गरिसकेका छन् । तर विभिन्न कारणले ती परियोजना अझै अड्किएका छन् । यस्ता परियोजनाको पनि अब अध्ययन गर्नुपर्छ । विगतमा नेपालमा लगानी गरेका लगानीकर्तासँग पनि छलफल गर्नुपर्छ । ३०–४० वर्षअघि लगानी गरेका लगानीकर्ताले अहिलेसम्म के–कस्ता समस्या र चुनौती सामना गरे, उनीहरू नेपालमा लगानी गरेर सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्न आवश्यक छ । नेपालमा अहिलेसम्म लगानी गरेका सबै लगानीकर्तासँग छलफल गरेर उनीहरूले भोगेका समस्या र चुनौती पहिचान गर्छौं । त्यसपछि ती समस्या समाधान गर्ने दिशामा काम गर्छौं । अब दसैँअघिको अर्को चरणमा हामी यही प्रक्रियामा जानेछौं ।’
मन्त्री लम्सालले नेपालमा लामो समयदेखि लगानी गरिरहेका लगानीकर्तासँग समेत छुट्टाछुट्टै छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए । विगतमा लगानी गरेका लगानीकर्ता नेपालमा लगानी गरेर सन्तुष्ट छन् कि छैनन् र उनीहरूले के–कस्ता समस्या भोगिरहेका छन् भन्ने विषयमा सरकारले जानकारी लिन लागेको मन्त्री लम्सालको भनाइ छ ।