कांग्रेस मतदानको समय सारियो, १ बजेदेखि हुने

Oct 08, 2026 12:12 PM Merolagani



नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदान कार्यक्रमको समय सारिएको छ ।

आज (असोज २२) बिहान १० बजेदेखि मतदान हुने भनिएको थियो । तर, मतदान कार्यक्रम दिउँसो १ बजेसम्मका निम्ति सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले मतदानको समय सारिएको उनले बताए ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने उमेदवारको अन्तिम नामावली बुधबार (असोज २१) राति प्रकाशन गरिएको छ ।

वाग्मती प्रदेशका मतदाताका निम्ति राष्ट्रिय सभागृहमा मतदानको व्यवस्था गरिएको छ । कोसी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश र नेपाली जनसम्पर्क समितिका निम्ति खुलामञ्चमा मतदानको व्यवस्था गरिएको छ ।

कोसी र मधेस प्रदेशका निम्ति खुलामञ्चस्थित तराई मधेस हल, गण्डकीका लागि हिमाली हल र कर्णाली, सुदूरपश्चिम र नेपाली जनसम्पर्क समितिका निम्ति पहाड हलमा मतदानको व्यवस्था गरिएको सदस्य सचिव कटुवालले बताए ।

मतदानस्थलमा मोबाइललगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान नपाइने समितिले जनाएको छ । रासस