यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग औपचारिक प्रस्ताव माग गरेको छ। इच्छुक इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज (शुक्रबार) अपराह्न ३ बजेसम्म अनलाइन प्रणालीमार्फत आफ्नो बोलकबोल प्रस्ताव पेस गर्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार यस उपकरणमार्फत उठाइने रकमको साँवा तथा आर्जित ब्याज आगामी मंसिर २३ गते भुक्तानी गरिनेछ। यसको ब्याजदर भने बोलकबोलमा सहभागी बैंकहरूले प्रस्ताव गरेको दरका आधारमा तय हुनेछ।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन उल्लेख्य रूपमा वृद्धि भए पनि सोही अनुपातमा कर्जाको माग र विस्तार हुन सकेको छैन। लगानीयोग्य रकम वित्तीय संस्थाहरूमा थुप्रिएपछि अल्पकालीन ब्याजदर निकै तल झर्ने जोखिम रहन्छ। यस्तो अवस्थामा अन्तरबैंक ब्याजदरलाई ब्याजदर करिडोरको सीमाभित्र राख्न र मौद्रिक स्थिरता कायम गर्न केन्द्रीय बैंकले लगातार खुला बजार कारोबारमार्फत रकम खिच्दै आएको छ।
राष्ट्र बैंकले यसअघि पनि विभिन्न चरणमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै बजारबाट उल्लेख्य परिमाणमा तरलता तानेको थियो। केन्द्रीय बैंकका अनुसार यसअघि निक्षेप संकलन उपकरणमार्फत बजारबाट खिचिएकोमध्ये करिब ७ खर्ब रुपैयाँ अझै परिपक्व हुन बाँकी रहेको छ। ठूलो परिमाणको रकम परिपक्व हुन बाँकी रहँदारहँदै पनि प्रणालीमा तरलताको चाप उच्च नै रहेका कारण राष्ट्र बैंकले थप ७० अर्ब रुपैयाँ उठाउने निर्णय गरेको हो।
यस कदमले बजारमा रहेको निष्कृय पूँजीलाई अल्पकालीन रूपमा व्यवस्थापन गर्न मद्दत पुर्याउने र वित्तीय प्रणालीमा ब्याजदर सन्तुलन कायम राख्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। ऋण विस्तारले गति नलिनु र रेमिट्यान्स आप्रवाह बढ्नुका कारण बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था अझै केही समय लम्बिन सक्ने विश्लेषण गरिएको छ।