नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले उक्त एसयूभी नेपाल ल्याएको हो ।
कम्पनीले यसअघि नै टोमहक ईभीको बुकिङ खुलाइसकेको छ । यसको मूल्य भने असोज २४ गते शनिबार एक कार्यक्रम आयोजना गरी सार्वजनिक गर्ने तयारी छ ।
एमजी हेक्टर टोमहकमा १५० किलोवाटको इलेक्ट्रिक मोटर र ६९.२ किलोवाट आवरको ब्याट्री छ । यसले ३१० न्युटन मिटर टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार एसयूभीले एकपटकको पूर्ण चार्जमा ५१७ किलोमिटरसम्म रेन्ज दिन्छ ।

यसमा ९० किलोवाटको डीसी फास्ट चार्जिङ सुविधा छ । उक्त प्रविधिबाट ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न ३५ मिनेट लाग्ने कम्पनीको दाबी छ ।
एसयूभीमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले र १० स्पिकरको इन्फिनिटी साउन्ड सिस्टम उपलब्ध छन् । अगाडिका दुवै सिटमा भेन्टिलेसन सुविधा पनि दिइएको छ ।
४ हजार ७४५ एमएम लम्बाइ, १ हजार ८५० एमएम चौडाइ र २ हजार ८१० एमएम ह्विलबेस भएको यस एसयूभीमा २३० एमएम ग्राउन्ड क्लियरेन्स छ । यसको बाहिरी डिजाइन बक्सी शैलीको छ भने अगाडि स्लिम लाइट, इलुमिनेटेड एमजी लोगो र १८ इन्चका ड्युअल टोन अलोय ह्विल दिइएको छ ।
सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा, पार्किङ सेन्सर तथा टायर प्रेसर मोनिटरिङ सिस्टम उपलब्ध छन् । टप भेरियन्टमा अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल र लेन किप असिस्टसहितको लेभल–२ एडास प्रविधि पनि रहेको छ ।
नेपालमा यसको मूल्य सार्वजनिक हुन बाँकी रहेकाले मूल्य र भेरियन्टअनुसारका सुविधाबारे थप विवरण शनिबार घोषणा हुने अपेक्षा गरिएको छ ।