मन्त्रिपरिषद्का सदस्यहरूमध्ये कसैले आधुनिक वित्तीय बजारको शेयर र घरजग्गामा ठूलो पूँजी केन्द्रित गरेका छन् भने कोही अझै परम्परागत कृषि उपज, राडीपाखी र घरायसी भाँडाकुँडाकै विवरणमा सीमित छन्। अर्कोतर्फ, क्याबिनेटमै रहेकी एक मन्त्रीको नाममा भने एउटा घरसमेत नरहेको विवरण बाहिरिएको छ।
वित्तीय बजार र शेयरमा टेकराजको पूँजी
आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई कर्णाली सरकारभित्र आधुनिक पूँजी बजारका सबैभन्दा ठूला लगानीकर्ताका रूपमा देखिएका छन्। उनको सम्पत्तिको मुख्य हिस्सा शेयर बजारमै केन्द्रित छ।
मन्त्री पछाईको आफ्नै नाममा सम्पदा लघुवित्तमा मात्रै ७२ लाख ३५ हजार ६०० रुपैयाँबराबरको शेयर छ भने कमसम बचत तथा ऋण सहकारीमा दुई लाख रुपैयाँ लगानी रहेको छ। यसबाहेक नबिल र कालिकालगायत वित्तीय संस्थामा उनको ९ हजार कित्ता शेयर छ।
उनकी श्रीमती तिला आचार्य पनि शेयर लगानीमै सक्रिय देखिन्छिन्। एक्सपर्ट हाइड्रोपावरमा दुई लाख रुपैयाँ लगानी गरेकी उनले आरम्भ चौतारी, सूर्यज्योति लाइफ, एलआइसी र त्रिशूली जलविद्युत्लगायतका कम्पनीहरूमा गरी १६ हजार कित्ता शेयर होल्ड गरेकी छन् (यद्यपि यसको बजार मूल्य खुलाइएको छैन)।
दम्पतीको बैंक मौज्दात १२ लाख १५ हजार र नागरिक लगानी कोषमा करिब ९ लाख १३ हजार रुपैयाँ पूँजी सुरक्षित छ। कुनै पनि ऋण नभएका पछाईसँग जुम्ला र बर्दियाका विभिन्न ठाउँमा जग्गा तथा पुर्ख्यौली घरहरू छन्।

घरजग्गामा मल्ल दम्पती अगाडि, ऋणको भार पनि उत्तिकै
सामाजिक विकासमन्त्री जितबहादुर मल्ल र उनको परिवारको लगानी भने रियलस्टेट (घरजग्गा) मा बढी केन्द्रित देखिएको छ। मल्ल दम्पतीका नाममा चारवटा घर छन्। कोहलपुरमा मन्त्री मल्लको ३० लाख मूल्य बराबरको घर छ भने मुगुको छायाँनाथ रारामा उनकी श्रीमती राधिका मल्लका नाममा ५० लाख, १५ लाख र ५ लाख खरिद मूल्यका तीनवटा घर छन्। यसका अतिरिक्त छायाँनाथ रारामै श्रीमतीको नाममा ९७ लाख रुपैयाँ खरिद मूल्य बराबरका १० ठाउँमा जग्गासमेत छन्।
तर, सम्पत्तिसँगै मल्ल परिवारमा वित्तीय दायित्व पनि ठूलो छ। श्रीमती मल्लका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाको ६३ लाख रुपैयाँ ऋण रहेको छ, यद्यपि यो ऋणको प्रयोजन खुलाइएको छैन। मन्त्री मल्लसँग ३ लाख नगद मौज्दात र वैदेशिक रोजगारीमा रहेका व्यक्तिबाट उपहार प्राप्त ग्याजेटहरू (मोबाइल, ल्यापटप, ट्याब्लेट) छन्।
बिमा रकम र बहुमूल्य धातुको भरमा जुम्कित लामा
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा (कार्की) को आर्थिक आधारमा भने दिवंगत श्रीमान्को दुर्घटना बिमा दाबी रकम र परम्परागत गरगहना प्रमुख देखिएका छन्। बिमा दाबीबापत प्राप्त रकममध्ये मन्त्री लामाको नाममा १५ लाख र छोराको नाममा ४२ लाख रुपैयाँ गरी कुल ५७ लाख रुपैयाँ बैंक मौज्दात छ।
सिमकोट र वीरेन्द्रनगरमा गरी ५५ लाख रुपैयाँ मूल्यको जग्गा जोडेकी मन्त्री लामा बहुमूल्य धातुमा पनि धनी देखिएकी छन्। उनीसँग १० तोला सुन, ११० तोला चाँदी र २५ तोला बराबरका परम्परागत हिमाली मालाहरू (तुषो, मुगा र मोती) छन्।
कृषि उपज र राडीपाखीको सम्पत्ति देखाउने कलबहादुर
जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमालको विवरण भने कर्णालीको परम्परागत ग्रामीण अर्थतन्त्र झल्काउने खालको छ। मन्त्री हमालले आफ्नो सम्पत्ति विवरणमा नगद र जग्गाका अलावा धान, कोदो, गहुँ, मकै, सिमी, कागुनो जस्ता कृषि उपज, राडीपाखी, गलैँचा तथा तामा, पित्तल र काँसका भाँडाकुँडासमेत सूचीकृत गरेका छन्।
हुम्ला र सुर्खेतमा जग्गा तथा अंशबन्डा हुन बाँकी पुर्ख्यौली सम्पत्ति रहेका हमालसँग २ तोला सुन, पैतृक ४० तोला चाँदी र २ लाख ७० हजार रुपैयाँ बचत छ। अध्ययन तथा वैदेशिक रोजगारीका लागि विभिन्न व्यक्तिबाट लिएको ८ लाख रुपैयाँ ऋण अझै तिर्न बाँकी रहेको उनले उल्लेख गरेका छन्।
आफ्नै घर नभएकी कल्याणी खड्का
कर्णाली मन्त्रिपरिषद्मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काको विवरण भने सबैभन्दा फरक र संक्षिप्त छ। अन्य मन्त्रीहरूले घरजग्गा, शेयर र नगदको फेहरिस्त पेस गर्दा मन्त्री खड्काले भने आफ्नो नाममा कुनै पनि घर नरहेको उल्लेख गरेकी छन्। उनको अन्य अचल सम्पत्ति, पूँजी लगानी वा बैंक मौज्दातबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।