लगानीकर्ताले विभिन्न प्रकारका धितोपत्रहरूमा अल्पकालीन वा दीर्घकालीन लगानी गरी मुनाफा आर्जन गर्न सक्छन्। प्राथमिक बजारका ऋणपत्र र सामूहिक लगानी योजनाका साथै दोस्रो बजारमा पनि लगानी गर्न सकिन्छ। शेयर कारोबारमा व्यक्तिगत तथा संस्थागत दुवै किसिमका लगानीकर्ताहरू संलग्न हुन्छन्।
शेयर बजारमा आफ्नो क्षमता अनुसार लगानी गर्न सकिन्छ। शेयर बजारमा गरिएको लगानी आवश्यकता परेका बेला बिक्री गरेर सजिलै नगदमा परिणत (तरल) गर्न सकिने भएकाले पनि यो धेरै लगानीकर्ताको रोजाइमा परेको हो। यसो भनिरहँदा शेयर बजारबाट सजिलै पैसा कमाउन सकिन्छ भन्ने धेरैलाई लाग्न सक्छ, तर यहाँबाट सोचेजस्तै सजिलै पैसा कमाउन भने सकिँदैन।
शेयर बजार जोखिमयुक्त लगानीको क्षेत्र हो। बजारमा गरिएको लगानीलाई राम्रोसँग व्यवस्थापन गर्न सकिएन भने कमाउनुको सट्टा गुमाउने सम्भावना बढी हुन्छ। यस्तो अवस्थामा सफल लगानीकर्ता कसरी बन्ने त? शेयर बजारमा लगानी गर्नुअघि बजारका विभिन्न आयामहरूबारे राम्रो ज्ञान हुनु आवश्यक हुन्छ।
पूँजी बजार अत्यन्त संवेदनशील क्षेत्र हो। लगानीकर्ताले आफ्नो लगानीको जोखिम कसरी वहन गर्ने भन्ने कुरा पहिले नै यकिन गर्नुपर्छ। दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको प्रगति विवरण, लाभांश दर, सरोकारवाला निकायका गतिविधि, राजनीतिक अवस्था र नीतिगत व्यवस्थाजस्ता कुराहरूले बजारलाई प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन्।
लगानीकर्ताले अल्पकालीन र दीर्घकालीन लगानीको स्पष्ट रणनीति बनाउनुपर्छ। साथै, उनीहरूमा जोखिम वहन गर्न सक्ने क्षमता पनि हुनुपर्छ। बजार बढ्दा हुने नाफाजस्तै घट्दा हुने नोक्सानी पनि लगानीकर्ता स्वयंले नै व्यहोर्नुपर्छ। बजारको विशेष अध्ययन र विश्लेषण गरेर लगानी गर्दा मात्र सफल हुन सकिन्छ।
कसैको हल्ला वा लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्नु हुँदैन। आफूले बनाएको योजनालाई अनुशासित रूपमा कार्यान्वयन गरेमा बजार घट्दा होस् या बढ्दा—सफल बन्न सकिन्छ। धेरैजसो लगानीकर्तामा बजार बढेपछि मात्र खरिद गर्ने र घट्न थालेपछि आत्तिएर बिक्री गर्ने प्रवृत्ति देखिन्छ। बजारको उतारचढावमा धैर्य गुमाउँदा ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन सक्छ। त्यसैले भनिन्छ—शेयर बजारमा लगानीकर्ताको मुख्य शक्ति भनेकै अनुशासन हो। जसले लोभ र डरलाई नियन्त्रणमा राखेर लगानी गर्न सक्यो, ऊ नै बजारमा सफल हुन्छ।
सफल लगानीकर्तामा हुनुपर्ने गुणहरू:
१) सबै लोभी हुँदा डराउनु र सबै डराउँदा लोभी हुनु
शेयर बजारमा वारेन बफेटको यो भनाइ अत्यन्त चर्चित छ। उनले भनेका छन्— “जब शेयर कारोबारमा अरू लोभी हुन्छन्, त्यतिबेला हामी डराउनुपर्छ र अरू डराएका बेला हामी लोभी हुनुपर्छ।” यसको अर्थ लगानीकर्ताले भीडको पछाडि लाग्नुको सट्टा फरक र विवेकपूर्ण रणनीति बनाउनुपर्छ।
२) आफूले सहन सक्ने जोखिम मात्र उठाउनु
लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्दा आफ्नो क्षमता अनुसारको मात्र जोखिम लिनुपर्छ। वारेन बफेट भन्छन्— “खोलाको किनारमा बसेर दुवै खुट्टा पानीमा हाली गहिराइ नाप्ने प्रयास गरेमा डुब्न सकिन्छ। यसका लागि एउटा हातले किनारलाई बलियो गरी समातेर एक खुट्टामा सन्तुलन कायम गर्दै अर्को खुट्टाले नदीको गहिराइ आँकलन गर्नु जरुरी हुन्छ।” यसरी सही मूल्याङ्कन गरेर अघि बढेमा डुब्नबाट बच्न सकिन्छ।
३) बजारको विषयमा गहन अनुसन्धान गर्नु
बफेट निहित स्वार्थ भएका मानिसहरूको अनुमान वा भविष्यवाणीमा कहिल्यै विश्वास नगर्ने सुझाव दिन्छन्। लगानीका मामिलामा विशेषज्ञ वा एजेन्टहरूको आफ्नै स्वार्थ हुन सक्छ। त्यसैले लगानी गर्नुअघि सधैँ आफैँले अनुसन्धान गर्नुपर्छ। कम्पनीको वास्तविक कार्यसम्पादन वा अरूको भनाइमा आँखा चिम्लिएर विश्वास गर्नु जोखिमपूर्ण हुन्छ।
४) शेयरको गुणस्तरमा ध्यान दिनु
बफेट भन्छन्— “मोजा (Socks) होस् या स्टक्स (Stocks), सधैँ गुणस्तरीय वस्तु मात्र किन्नुपर्छ।” उनले सस्तो मूल्यमा राम्रो गुणस्तरको शेयर खरिद गर्नुपर्नेमा जोड दिएका छन्। बजार घटेको समय शेयर खरिदका लागि उपयुक्त अवसर हुन सक्छ। आधारभूत पक्ष बलियो भएका कम्पनीहरूको मात्र शेयर किन्नुपर्छ। लगानी गर्नुअघि कम्पनीको सञ्चालक समिति, विगतका वर्षहरूको वित्तीय विवरण, लाभांश इतिहास जस्ता महत्त्वपूर्ण पक्षहरूमा ध्यान दिनु आवश्यक हुन्छ।
शेयर बजार धेरै हदसम्म लगानीकर्ताको मनोविज्ञान र भावनामा आधारित हुन्छ। बजारमा लगानीकर्ताको मनोबल गिराउने खालका नकारात्मक कुराहरूले सूचकलाई सीधा प्रभाव पार्छन्। त्यसैले बजारका आधारभूत (Fundamental) र प्राविधिक (Technical) दुवै पक्षहरू बुझ्नु जरुरी छ।
आजकल सामाजिक सञ्जालमा ‘यो कम्पनी किन्नुस्’ वा ‘यो कम्पनी राम्रो छ’ भन्दै धेरैले अभिव्यक्ति दिइरहेका हुन्छन्। यस्ता धेरैजसो अभिव्यक्ति पछाडि उनीहरूको आफ्नै स्वार्थ वा प्रचारप्रसार हुन सक्छ। त्यसैले लगानी गर्नुअघि सम्बन्धित कम्पनीका बारेमा आफैँले सूक्ष्म अनुसन्धान गर्नुपर्छ। नबुझी गरिएको लगानी डुब्न सक्छ। यदि तपाईं शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने पहिले अध्ययन, अनुसन्धान र योजना बनाएर मात्र अघि बढ्नु उचित हुन्छ। बजारमा अनुशासित भएर लगानी गर्नेहरूले यसलाई केवल आम्दानीको स्रोत मात्र नभई सम्पत्ति सिर्जना गर्ने सशक्त माध्यमका रूपमा लिने गरेका छन्।