दसैँ मनाउने तरिका पनि समुदाय, भूगोल र पारिवारिक संस्कारअनुसार फरक छ। कतिपय समुदायमा देवीको पूजा र बलि दसैँको महत्त्वपूर्ण हिस्सा हुन्छ भने कतिपयमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने चलन बढी देखिन्छ। केही समुदायमा दसैँ मनाउने विषयमै फरक धारणा छन्। यसैले दसैँलाई एउटै परम्परा वा एउटै रङको टीकामा सीमित गरेर बुझ्न सकिँदैन।
नेपालको दसैँमा देखिने यही विविधताले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ—दसैँमा रातो टीका नै किन बढी प्रचलित भयो ? र, रातो टीकाभन्दा फरक रङ लगाउने परम्पराको अर्थ के हो ?
रातो टीकाको प्रभाव, सेतो टीकाको पुरानो चलन
दसैँमा रातो टीका लगाउने चलन हिन्दू ब्राह्मण र क्षेत्री समुदायका धेरै परिवारमा प्रचलित छ। तर राई, लिम्बु, मगर, गुरुङ, तामाङ र थारू समुदायका कतिपय परिवारमा सेतो टीका लगाउने परम्परा पनि पाइन्छ। नेवार समुदायका केही परिवारमा कालो टीका लगाउने चलन छ भने दैलेखको दुल्लु क्षेत्रमा बेसार मिसाएर पहेँलो टीका लगाउने परम्परा रहेको बताइन्छ।
पहिले दही र अक्षताबाट सेतो टीका लगाउने चलन थियो। पछि बजारमा रङ र अबिर सहज रूपमा उपलब्ध हुन थालेपछि रातो टीकाको प्रयोग विस्तार भएको भन्ने चलन छ । पहिले नेवार समुदायमा रातो टीका लगाउने चलन सुरु भएको र त्यसपछि अन्य समुदायमा पनि यसको प्रभाव परेको बताइन्छ ।
यसरी टीकाको रङ केवल धार्मिक आस्थासँग मात्र सम्बन्धित नभई समयसँगै उपलब्ध सामग्री, सामाजिक सम्पर्क र सांस्कृतिक प्रभावसँग पनि जोडिएको हुन सक्ने देखाउँछ। अहिले रातो टीका धेरै प्रचलित भए पनि त्यसअघि र अन्य समुदायमा प्रचलित टीकाका रङले नेपाली समाजको पुरानो सांस्कृतिक विविधता सम्झाउँछन्।
सेतो टीकाः फरक समुदाय, फरक परम्परा
नेपालका विभिन्न समुदायमा सेतो टीकाको आफ्नै स्थान छ। मगर, गुरुङ, तामाङ, राई, लिम्बु र थारू समुदायका कतिपय परिवारमा दसैँमा सेतो टीका लगाउने चलन पाइन्छ। तर यी सबै समुदायका सबै सदस्यले एउटै परम्परा अपनाउँछन् भन्ने होइन। समुदायभित्रै पनि दसैँ मनाउने र नमनाउने, रातो वा सेतो टीका लगाउने विषयमा फरक अभ्यास हुन सक्छ।
तामाङ समुदायका सबैले दसैँ मनाउँदैनन्। बौद्ध परम्परा मान्ने धेरैले दसैँलाई आफ्नो प्रमुख चाडका रूपमा नमनाए पनि केही तामाङ परिवारले सेतो टीका लगाएर दसैँ मनाउने गरेका छन्। भने कसै कसैे रातो टिका पनि लगाउँछन् ।
पूर्वी नेपालका राई र लिम्बु समुदायमा पनि दसैँको सांस्कृतिक महत्त्वबारे फरक धारणा छन्। केहीले दसैँ मनाउने परम्परालाई निरन्तरता दिएका छन् भने केहीले यसलाई आफ्नो मौलिक संस्कृतिको प्रमुख चाडका रूपमा स्वीकार गर्दैनन्। लिम्बु समुदायमा दसैँ मनाउने विषयलाई लिएर फरक मत पाइन्छ।
यस्ता भिन्नताले कुनै समुदायलाई एउटै धारणा वा अभ्यासमा सीमित गर्न नमिल्ने देखाउँछन्। समय, पारिवारिक संस्कार र सामाजिक परिवेशअनुसार एउटै समुदायका सदस्यको दसैँ मनाउने तरिका पनि फरक हुन सक्छ।
नेवार समुदायमा कालो टीकाको परम्परा
काठमाडौँ उपत्यकाको नेवार समुदायमा दसैँलाई ‘मोहनी’ पनि भनिन्छ। धेरै नेवार परिवारमा रातो टीका लगाउने चलन भए पनि उनिहरुले राते टिका माथि थोरै कालो टीका लगाउने परम्परा छ।
तर सबै नेवारहरूले कालो टीका लगाउँदैनन्। कतिपय नेवारहरू कालो टीका लगाउँछन्। दशैँलाई मोहिनी भन्ने यो समुदायले दियो बाल्दा जम्मा हुने ध्वाँसोसँग चामल मुछेर कालो टीका लगाउने गरेका छन्।
काठमाडौं उपत्यकाको काँठ भनिने क्षेत्रका कतिपय क्षेत्री समुदायमा पनि कालो टीकाको प्रचलन गरेको छ । कालो टीका तान्त्रिक विद्यासँग पनि जोडिएको बताइन्छ। कालो टीकाले दानव लट्ठिएर देवीले विजय हासिल गरेको विश्वासमा कालो टीकाको चलन रहेको बताइन्छ।
थारू समुदायको दसैँः पूजा, टीका र सामुदायिक सम्बन्ध
थारू समुदायमा पनि दसैँ मनाउने तरिका ठाउँअनुसार फरक छ। थारू समुदायमा सेतो टीका लगाउने चलन रहे पनि पछिल्लो समय कतिपयले रातो टीका लगाउन थालेका छन्।
थारू समुदायका कतिपय ठाउँमा नवरात्रिको पूजा गर्ने चलन नभए पनि सप्तमीदेखि घर तथा वरपर सरसफाइ गर्ने र नवमीमा कुखुराको बलि दिने परम्परा छ। पूजा गर्दा बाबरी र दौना फूल प्रयोग गर्ने चलन पनि रहेको बताइन्छ।
थारू समुदायमा दसैँ केवल घरपरिवारमा टीका लगाउने विषयमा सीमित छैन। कतिपय ठाउँमा गाउँका संरक्षक मानिने गुरुबा र गाउँका अगुवाको घरमा गएर टीका थाप्ने परम्परा पनि छ। गुरुबालाई दक्षिणा दिने र दशमीका दिन गुरुबाहरू भेला भएर अखडिया नाच गर्ने चलन रहेको छ ।
त्यस्तै, दसैँअघि सुरु हुने सखिया नाच दसैँसँगै समापन गर्ने परम्परा पनि थारू समुदायको सांस्कृतिक जीवनसँग जोडिएको छ। यद्यपि पूर्व र पश्चिममा बसोबास गर्ने थारू समुदायमा पनि दसैँ मनाउने अभ्यास फरक हुन सक्छ।
यसरी हेर्दा टीकाको रङसँगै पूजा, नाच, सामुदायिक भेटघाट र स्थानीय संस्कारले पनि दसैँको स्वरूप निर्धारण गर्छन्।
मधेसमा फरक विधि र पारिवारिक चलन
मधेसका विभिन्न समुदायमा पनि दसैँको परम्परा फरक छ। धनुषाको जनकपुरधाममा कतिपय परिवारमा एक दिन मात्रै टीका लगाउने चलन छ। घरका अभिभावकले दुर्गा पूजा गरेर परिवारका सदस्यलाई टीका लगाइदिने परम्परा रहेको छ । यस्तो चलनमा सबैले सबैलाई टीका लगाउने वा दक्षिणा दिने प्रचलन नहुन सक्छ।
मधेसका कतिपय ठाउँमा सूर्योदयअघि नै जमरा काटेर नदीमा विसर्जन गर्ने चलन पनि रहेको बताइन्छ। दुर्गा पूजा, उपवास र बलिसँग सम्बन्धित परम्परा पनि ठाउँअनुसार फरक हुन सक्छन्।
मधेसमा दसैँको विधि अन्य क्षेत्रको भन्दा फरक देखिनुको अर्थ कुनै एउटा चलन सही र अर्को गलत भन्ने होइन। एउटै चाडलाई स्थानीय समुदायले आफ्नै धार्मिक विश्वास, पारिवारिक संस्कार र सामाजिक परम्पराअनुसार अपनाएका छन् भन्ने हो।
दुल्लुको पहेँलो टीका हराउँदै
कर्णाली प्रदेशको दैलेखस्थित दुल्लु क्षेत्रमा बेसार मिसाएर पहेँलो टीका लगाउने परम्परा रहेको बताइन्छ। तर अहिले यो चलन घट्दै गएको छ । अहिले विधवा र दशनामी समुदायका केही व्यक्तिले पहेँलो टीका लगाउने गरे पनि धेरैले रातो टीका लगाउन थालेका छन्।
पहिले प्रयोग हुने सामग्री र परम्पराले बनाएको पहिचान समयसँगै परिवर्तन हुन सक्छ भन्ने उदाहरणका रूपमा यसलाई लिन सकिन्छ। रातो टीकाको बढ्दो प्रयोगसँगै स्थानीय रूपमा प्रचलित अन्य रङका टीका र तिनसँग जोडिएका चलन कम देखिन थालेका हुन सक्छन्।
तर यस्तो परिवर्तनलाई सबै समुदायमा एउटै ढङ्गले भइरहेको प्रक्रिया मान्न मिल्दैन। कुनै ठाउँमा पुरानो चलन कायम हुन सक्छ भने अर्को ठाउँमा नयाँ अभ्यासले स्थान लिइरहेको हुन सक्छ।
दसैँको चर्चा गर्दा प्रायः रातो टीका, जमरा, दुर्गा पूजा र मान्यजनबाट आशीर्वाद लिने चलनलाई केन्द्रमा राखिन्छ। तर नेपालका विभिन्न समुदायको अभ्यास हेर्दा दसैँको स्वरूप त्योभन्दा फराकिलो देखिन्छ। कतै सेतो टीकाले निरन्तरता पाएको छ, कतै कालो वा पहेँलो टीकाको परम्परा छ। कतै देवीको पूजा र बलि महत्त्वपूर्ण छन् भने कतै पारिवारिक भेटघाट र टीका लगाउने चलन प्रमुख छ।
समयसँगै मानिसको बसाइँसराइ, सामाजिक सम्पर्क र जीवनशैली बदलिँदा चाडपर्व मनाउने तरिका पनि बदलिन सक्छ। कुनै समुदायका केही सदस्यले अर्को समुदायको चलन अपनाउँदैमा उनीहरूको पुरानो परम्परा पूर्ण रूपमा हराइसकेको निष्कर्ष निकाल्न भने मिल्दैन। सांस्कृतिक अभ्यास एउटै समुदायभित्र पनि विविध हुन सक्छ।
दसैँको वास्तविक विशेषता सबैले एउटै रङको टीका लगाउनु वा एउटै विधिबाट चाड मनाउनुमा छैन। आफ्नो आस्था र परम्पराअनुसार चाड मनाउने अधिकार, फरक अभ्यासप्रतिको सम्मान र पुस्तौँदेखि चलिआएका संस्कारको संरक्षणमा यसको सांस्कृतिक महत्त्व जोडिएको छ।