बदलिँदो समयसँगै हाम्रा सांस्कृतिक परम्पराहरूलाई आधुनिक वित्तीय अभ्याससँग जोड्नु अपरिहार्य भइसकेको छ। दशैँको अवसरमा दिइने नगद दक्षिणालाई यदि बुद्धिमानीपूर्वक वित्तीय साक्षरता र लगानीसँग जोड्न सकियो भने यसले नयाँ पुस्ताको आर्थिक भविष्य निर्माणमा ठोस योगदान पुर्याउन सक्छ। यसै सोचको आधुनिक र व्यावहारिक रूप हो— 'दक्षिणादेखि डिम्याटसम्म'।
नगदभन्दा शेयर लगानी किन?
१. व्यावहारिक वित्तीय साक्षरता: बालबालिका तथा किशोर-किशोरीहरूलाई सानै उमेरदेखि पैसाको महत्त्व, बचत र लगानीको अवधारणा सिकाउन शेयर बजारभन्दा उत्तम माध्यम अरू हुन सक्दैन। किताबी ज्ञानभन्दा आफ्नै नाममा रहेको शेयरको उतारचढाव हेर्दा उनीहरूमा वित्तीय चेतना छिटो जाग्छ।
२. चक्रवृद्धिको शक्ति: सानो उमेरमा गरिएको सानो लगानीले पनि दीर्घकालमा ठूलो रूप लिन्छ। दशैँमा प्राप्त केही हजार रुपैयाँको लगानी १० देखि १५ वर्षपछि उनीहरूको उच्च शिक्षा वा करियर सुरुआतका लागि एउटा बलियो आर्थिक आधार बन्न सक्छ।
३. अनुशासित बचतको बानी: हातमा परेको नगद सहजै खर्च हुने जोखिम रहन्छ। तर, त्यो रकम शेयर वा म्युचुअल फण्डमा रूपान्तरण हुँदा उनीहरूमा फजुल खर्च नियन्त्रण गर्ने र सम्पत्ति अभिवृद्धि गर्ने अनुशासनको विकास हुन्छ।
नयाँ पुस्तालाई लगानीमा जोड्ने व्यावहारिक उपायहरू
नाबालक डिम्याट खाताको उपयोग: १६ वर्षभन्दा मुनिका बालबालिकाका लागि अभिभावकको संरक्षकत्वमा जुनसुकै बैंक वा मर्चेन्ट बैंकरमार्फत 'नाबालक डिम्याट खाता' र मेरो शेयर खाता खोल्न सकिन्छ। यसले उनीहरूलाई सानैदेखि औपचारिक वित्तीय प्रणालीमा प्रवेश गराउँछ।
प्राथमिक निष्कासनबाट सुरुआत: नेपालको शेयर बजारमा प्रवेश गर्ने सबैभन्दा सुरक्षित र सुलभ माध्यम प्राथमिक शेयर (आईपीओ) हो। मात्र १ हजार रूपैयाँमा (१० कित्ता) बाट सुरु गर्न सकिने भएकाले दशैँको दक्षिणाबाट प्राप्त रकम आईपीओमा आवेदन दिन पर्याप्त हुन्छ। आफ्नै नाममा शेयर परेको देख्दा नयाँ पुस्तामा लगानीप्रतिको उत्सुकता थप अभिवृद्धि हुन्छ।
सुरक्षित र लाभांशमुखी कम्पनीको छनोट: दक्षिणाको रकमलाई उच्च जोखिमयुक्त वा सट्टेबाजी (स्पेकुलेटिभ) शेयरमा लगाउनुको सट्टा दीर्घकालीन प्रतिफल दिने ठाउँमा लगाउनुपर्छ। कम जोखिम र व्यवस्थित प्रतिफलका लागि म्युचुअल फण्ड वा एसआईपी तथा नियमित लाभांश दिने 'ब्लु-चिप' कम्पनीहरू उत्तम विकल्प हुन्।
डिजिटल दक्षिणा र शेयर उपहार: आजभोलि डिजिटल प्रविधिको विकाससँगै क्यूआर वा वालेटमार्फत दक्षिणा दिने चलन बढेको छ। यसलाई अझ परिस्कृत गर्दै, घरका ज्येष्ठ सदस्य वा आफन्तले बालबालिकाको डिम्याट खातामा सिधै शेयर हस्तान्तरण गरिदिने वा लगानीकै लागि रकम पठाइदिने नयाँ संस्कार बसाल्न सकिन्छ।
दशैँमा दिइने भौतिक उपहार वा कपडा केही समयपछि पुराना हुन्छन् र नगद रकम पनि सहजै खर्च भएर जान्छ। तर, 'दक्षिणालाई डिम्याट' मा रूपान्तरण गरेर दिइने उपहारले भने उनीहरूलाई जीवनभर काम लाग्ने वित्तीय ज्ञान र बलियो आर्थिक सुरक्षाहरू प्रदान गर्छ।