मार्जिन लेन्डिङः सीमित पूँजीबाट शेयर बजार विस्तारको अवसर

Oct 23, 2026 10:28 AM Merolagani



 दिपेश ढकाल

नेपालको शेयर बजार लामो समयदेखि उतारचढावको चक्रमा छ । बजारमा लगानीकर्ताको सहभागिता बढेको छ, कारोबार प्रणाली आधुनिक बन्दै गएको छ र बैंकिङ प्रणालीमा समेत पर्याप्त वित्तीय स्रोत परिचालन भइरहेका छन् ।

तर बजारलाई दिगो, गहिरो र तरल बनाउन अझै केही महत्वपूर्ण वित्तीय औजारको आवश्यकता छ । त्यसमध्ये मार्जिन ऋण एउटा महत्वपूर्ण औजार हो । लगानीकर्ताले आफ्नो सीमित पूँजीसँगै बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त ब्रोकरबाट ऋण लिएर शेयर खरिद गर्न पाउने व्यवस्थालाई सामान्य अर्थमा मार्जिन ऋण भनिन्छ ।

यसको महत्व केवल लगानीकर्ताले बढी शेयर किन्न पाउने सुविधामा सीमित छैन । यसले बजारमा अतिरिक्त क्रयशक्ति ल्याउन सक्छ, कारोबार बढाउन सक्छ, तरलता विस्तार गर्न सक्छ र शेयरको उचित मूल्य निर्धारणमा समेत सहयोग पुर्याउन सक्छ । तर यही सुविधा गलत ढंगले प्रयोग भयो भने लगानीकर्ताको घाटा बढाउने, बजारमा अस्थिरता ल्याउने र बैंक तथा वित्तीय संस्थाको कर्जा जोखिमसमेत बढाउने माध्यम बन्न सक्छ । त्यसैले प्रश्न मार्जिन ऋण चाहिन्छ कि चाहिँदैन भन्ने होइन, कस्तो मार्जिन ऋण चाहिन्छ भन्ने हो ।

सीमित पूँजीबाट ठूलो लगानी

मार्जिन ऋणको आधारभूत अवधारणा सरल छ । मानौँ कुनै लगानीकर्तासँग पाँच लाख रुपैयाँ आफ्नै रकम छ । उसले थप पाँच लाख रुपैयाँ ऋण लिएर दस लाख रुपैयाँ बराबरको सेयर खरिद गर्यो । सेयरको मूल्य दस प्रतिशत बढ्यो भने कुल लगानीमा एक लाख रुपैयाँ वृद्धि हुन्छ । आफ्नै पाँच लाख रुपैयाँको तुलनामा हेर्दा यो बीस प्रतिशत प्रतिफल हो । तर शेयरको मूल्य दस प्रतिशत घट्यो भने एक लाख रुपैयाँ घाटा हुन्छ । यस अवस्थामा आफ्नै पूँजीमा बीस प्रतिशत क्षति पर्न सक्छ ।

यसबाट स्पष्ट हुन्छ कि ऋणले नाफा मात्र बढाउँदैन, घाटा पनि बढाउँछ । त्यसैले मार्जिन ऋण अवसर र जोखिम दुवै बोकेको वित्तीय साधन हो । यसलाई अनुभव, आम्दानीको स्थिरता, ऋण तिर्न सक्ने क्षमता र लगानी गरिएको कम्पनीको वित्तीय अवस्थालाई ध्यानमा राखेर मात्र प्रयोग गर्नुपर्छ ।

बजारमा तरलता किन बढ्छ ?

स्वस्थ शेयर बजारका लागि पर्याप्त खरिदकर्ता र बिक्रीकर्ता आवश्यक हुन्छन् । लगानीकर्तासँग आफ्नो पूँजी मात्र प्रयोग गर्ने अवस्था भयो भने बजारमा कारोबारको क्षमता सीमित हुन सक्छ । मार्जिन ऋणले लगानीकर्ताको अतिरिक्त क्रयशक्ति बढाउँछ । यसबाट बजारमा खरिद आदेश बढ्न सक्छ र कारोबारको मात्रा विस्तार हुन सक्छ । तरलता बढेपछि लगानीकर्ताले शेयर किनबेच गर्न सजिलो हुन्छ । कारोबारको गहिराइ बढ्छ । खरिदकर्ता र बिक्रीकर्ताबीचको अन्तर कम हुन सक्छ । यसले बजारमा मूल्य निर्धारणको प्रक्रिया अझ प्रभावकारी बनाउन सहयोग पुर्याउँछ । यस अर्थमा मार्जिन ऋण बजारको मूल्य कृत्रिम रूपमा बढाउने माध्यम होइन । यसको वास्तविक योगदान बजारमा कारोबार गर्न आवश्यक वित्तीय क्षमता बढाउनु हो । बजारमा पर्याप्त सहभागिता र तरलता भयो भने राम्रो कम्पनीका शेयरको वास्तविक मूल्य पहिचान गर्न पनि सहज हुन्छ ।

बजारको गहिराइ र संस्थागत विकास

मार्जिन ऋणको विकासले लगानीकर्तालाई मात्र फाइदा गर्दैन । बैंक तथा वित्तीय संस्था, ब्रोकर, निक्षेप प्रणाली, कारोबार प्रणाली र नियामक निकायबीचको सम्बन्ध पनि बलियो हुन सक्छ । बैंकिङ प्रणालीमा रहेको वित्तीय स्रोतको केही हिस्सा व्यवस्थित रूपमा पूँजी बजारमा परिचालन हुन सक्छ ।
ब्रोकर कम्पनीका लागि पनि यो अतिरिक्त व्यवसायिक अवसर हो । लगानीकर्ताको कारोबार क्षमता बढ्दा कारोबारको मात्रा बढ्न सक्छ । यसबाट ब्रोकरको आम्दानी बढ्ने सम्भावना हुन्छ । बैंकले उचित धितो र जोखिम मूल्यांकनका आधारमा ऋण प्रवाह गरेर ब्याज आम्दानी गर्न सक्छ । यसरी मार्जिन ऋणले बैंकिङ क्षेत्र र पूँजी बजारबीचको सम्बन्धलाई थप मजबुत बनाउन सक्छ ।

तर यसको अर्थ बैंकमा रहेको जति पैसा पनि शेयर बजारमा पठाउनुपर्छ भन्ने होइन । ऋणको मात्रा भन्दा ऋणको गुणस्तर, धितोको सुरक्षा र जोखिम व्यवस्थापन बढी महत्वपूर्ण हुन्छ ।

धितोको मूल्य घट्दा के हुन्छ ?

मार्जिन ऋणमा खरिद गरिएका शेयर धितोका रूपमा राखिन्छन् । धितोको बजार मूल्य निरन्तर मूल्यांकन गरिन्छ । शेयरको मूल्य बढ्दा लगानीकर्ताको आफ्नै हिस्साको मूल्य बढ्छ । तर शेयरको मूल्य घट्दा धितोको मूल्य पनि घट्छ । मानौँ दस लाख रुपैयाँको शेयरलाई धितो बनाएर पाँच लाख रुपैयाँ ऋण लिइएको छ । बजारमा ठूलो गिरावट आएर उक्त सेयरको मूल्य छ लाख रुपैयाँमा झर्यो भने ऋणको तुलनामा धितोको सुरक्षा कमजोर हुन्छ । यस्तो अवस्थामा ऋणदाताले थप रकम वा थप धितो माग्न सक्छ । यसलाई मार्जिन माग भनिन्छ । लगानीकर्ताले तोकिएको समयमा आवश्यक रकम वा धितो थप्न सकेन भने ऋणदाताले धितो राखिएको शेयर बिक्री गरेर आफ्नो ऋण असुल गर्न सक्छ । यही अवस्थालाई जबर्जस्ती बिक्रीको जोखिमका रूपमा बुझिन्छ ।

जबर्जस्ती बिक्रीले बजारलाई थप कमजोर बनाउन सक्छ

मार्जिन ऋणको सबैभन्दा संवेदनशील पक्ष यही हो । बजार घट्न थाल्दा एकैपटक धेरै लगानीकर्ताको धितोको मूल्य घट्न सक्छ । धेरै लगानीकर्तालाई एकै समयमा थप रकम वा धितो राख्न भनियो र उनीहरूले त्यसो गर्न सकेनन् भने ठूलो मात्रामा शेयर बिक्री हुन सक्छ । त्यसपछि आपूर्ति बढ्छ र शेयरको मूल्य थप घट्न सक्छ । मूल्य घटेपछि फेरि थप लगानीकर्तालाई मार्जिन माग आउन सक्छ । उनीहरूले पनि शेयर बिक्री गर्नुपर्ने अवस्था आउन सक्छ । यसरी मूल्य घट्ने, धितो कमजोर हुने, थप रकम मागिने र शेयर बिक्री हुने चक्रले बजारको गिरावटलाई झनै तीव्र बनाउन सक्छ ।

त्यसैले राम्रो मार्जिन प्रणालीले बजार बढ्दा लगानीकर्तालाई ऋण दिने मात्र होइन, बजार घट्दा हुने जबर्जस्ती बिक्रीलाई पनि व्यवस्थित गर्नुपर्छ ।

बैंकको कर्जा जोखिम र खराब कर्जा

मार्जिन ऋण बढ्दैमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनिवार्य रूपमा बढ्छ भन्ने होइन । यदि धितोको उचित मूल्यांकन गरिएको छ, ऋणको सीमा सुरक्षित छ, योग्य शेयर मात्र स्वीकार गरिएको छ र बजार मूल्यको नियमित निगरानी हुन्छ भने जोखिम नियन्त्रण गर्न सकिन्छ । तर अत्यधिक ऋण प्रवाह भयो, कमजोर कम्पनीका शेयरलाई उच्च मूल्यमा धितो मानियो र बजार अचानक घट्यो भने समस्या उत्पन्न हुन सक्छ । लगानीकर्ताले ऋण तिर्न नसक्दा र धितो बिक्रीबाट पनि बैंकको साँवा तथा ब्याज पूर्ण रूपमा असुल हुन नसक्दा कर्जा समस्याग्रस्त बन्न सक्छ । त्यसैले मार्जिन ऋण विस्तार गर्दा बैंकले धितोको गुणस्तर, ऋणको अनुपात, लगानीकर्ताको क्षमता र बजारको जोखिमलाई समान महत्व दिनुपर्छ ।

सबै शेयरलाई एउटै दृष्टिले हेर्न मिल्दैन

नेपालको शेयर बजारमा विगतदेखि नै कम्पनी तथा शेयरलाई विभिन्न आधारमा वर्गीकरण गर्ने अभ्यास हुँदै आए पनि त्यसले अपेक्षित प्रभाव पार्न सकेको देखिँदैन । अब कम्पनीको वित्तीय अवस्था, कारोबारको मात्रा, शेयरको आपूर्ति, मूल्यको उतारचढाव र संस्थागत सुशासनका आधारमा जोखिमअनुसार वैज्ञानिक वर्गीकरण आवश्यक छ । बलिया र स्थिर कम्पनीका शेयरमा बढी तथा कमजोर, न्यून कारोबार भएका र अत्यधिक उतारचढाव भएका सेयरमा कम मार्जिन ऋण सीमा निर्धारण गर्न सकिन्छ । यसरी समयअनुसार पुनरावलोकन हुने पारदर्शी वर्गीकरण प्रणाली विकास गर्न सके मार्जिन ऋण सट्टेबाजीको माध्यम नभई स्वस्थ र गुणस्तरीय लगानी प्रवद्र्धन गर्ने प्रभावकारी वित्तीय साधन बन्न सक्छ ।

ब्याजदर पनि निर्णायक पक्ष

मार्जिन ऋणको ब्याजदर अत्यधिक महँगो भयो भने यसको उपयोग सीमित हुन्छ । ऋण लिएर शेयर किन्दा लगानीकर्ताले शेयरको सम्भावित प्रतिफल र ऋणको ब्याजबीच तुलना गर्नुपर्छ । ब्याजदर धेरै उच्च भयो भने छोटो अवधिमा मूल्य बढ्ने आशामा मात्र ऋण लिनुपर्ने दबाब बढ्न सक्छ । त्यसैले मार्जिन ऋणको ब्याजदर पारदर्शी, प्रतिस्पर्धी र जोखिमअनुकूल हुनुपर्छ । लगानीकर्ताले ऋण लिनुअघि आफूले तिर्नुपर्ने कुल लागत स्पष्ट रूपमा बुझ्न पाउनुपर्छ ।

मार्जिन मागलाई चरणबद्ध बनाउनुपर्छ

बजार घट्नेबित्तिकै सम्पूर्ण धितो बिक्री गर्ने व्यवस्था लगानीकर्ता र बजार दुवैका लागि जोखिमपूर्ण हुन सक्छ । त्यसैले मार्जिन मागलाई चरणबद्ध बनाउनु उपयुक्त हुन्छ । पहिलो चरणमा लगानीकर्तालाई चेतावनी दिने, दोस्रो चरणमा थप रकम वा धितो राख्न समय दिने, तेस्रो चरणमा ऋणको केही हिस्सा भुक्तानी गर्न अवसर दिने र अन्तिम अवस्थामा मात्र धितो बिक्री गर्ने व्यवस्था गर्न सकिन्छ । यसका लागि निश्चित समयको सुविधा दिन सकिन्छ । तर अत्यधिक जोखिम भएको अवस्थामा यस्तो समय अनिश्चित हुनु हुँदैन । ऋणदाता र लगानीकर्ता दुवैको हित सन्तुलित हुने गरी व्यवस्था आवश्यक छ ।

नेपालले कस्तो प्रणाली अपनाउने ?

नेपालमा मार्जिन ऋणलाई पूर्ण रूपमा विस्तार गर्ने वा पूर्ण रूपमा नियन्त्रण गर्नेभन्दा जोखिममा आधारित प्रणाली विकास गर्नु उपयुक्त देखिन्छ । धितोपत्रको गुणस्तरअनुसार ऋणको सीमा फरक हुनुपर्छ । लगानीकर्ताको ऋण क्षमता पनि उसको आम्दानी, आफ्नै पूँजी र जोखिम वहन क्षमताका आधारमा निर्धारण गर्न सकिन्छ । त्यसैगरी कुनै एक बैंकले एउटै कम्पनी वा एउटै क्षेत्रका सेयरमा अत्यधिक ऋण केन्द्रित गर्न नपाउने व्यवस्था आवश्यक छ । बैंकगत, कम्पनीगत र क्षेत्रगत जोखिम सीमा निर्धारण गर्न सकिएमा कुनै एउटा क्षेत्रमा समस्या आउँदा त्यसको असर समग्र वित्तीय प्रणालीमा फैलिनबाट रोक्न सकिन्छ । नियामक निकायले कुल मार्जिन ऋण, बैंकगत जोखिम, धितोपत्रगत जोखिम, धितोको अनुपात, मार्जिन माग, जबर्जस्ती बिक्री र खराब कर्जाको अवस्था नियमित रूपमा निगरानी गर्न सक्ने व्यवस्था पनि आवश्यक छ ।

अन्तर्राष्ट्रिय अभ्यासबाट सिकाइ

विश्वका विकसित पूँजी बजारमा मार्जिन ऋण लामो समयदेखि प्रयोग हुँदै आएको छ । भारतमा विद्युतीय धितो व्यवस्था र नियमित जोखिम निगरानीलाई महत्व दिइएको छ । अमेरिकामा प्रारम्भिक ऋण सीमा, न्यूनतम धितो र ऋणदाताबाट हुने बिक्रीको स्पष्ट व्यवस्था छ । बेलायतमा लगानीकर्ताको अनुभव, उपयुक्तता र जोखिम जानकारीलाई महत्व दिइन्छ । जापानमा पनि व्यवस्थित धितो कारोबारको लामो अभ्यास छ । नेपालले यी अभ्यासबाट सिक्न सक्छ । तर अन्य देशको व्यवस्था जस्ताको तस्तै नक्कल गर्नु समाधान होइन । नेपालको बजारको आकार, लगानीकर्ताको संरचना, कारोबारको प्रकृति र वित्तीय अवस्थाअनुसार आफ्नै प्रणाली विकास गर्नुपर्छ ।

अहिलेको आवश्यकता ऋण बढाउनु होइन, गुणस्तर बढाउनु हो

नेपालमा मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२ लागू भएको र नयाँ मार्जिन ऋण कारोबार नियमावलीको मस्यौदा सार्वजनिक छलफलमा आएको सन्दर्भमा अबको बहस केवल ऋणको सीमा बढाउने विषयमा केन्द्रित हुनुहुँदैन । मुख्य प्रश्न हुनुपर्छ, कसलाई ऋण दिने, कुन सेयरमा दिने, कति दिने, कति समयका लागि दिने र जोखिम बढेपछि कसरी व्यवस्थापन गर्ने । यही प्रश्नको स्पष्ट उत्तरले नेपालको मार्जिन ऋण प्रणालीलाई बलियो बनाउन सक्छ ।

बजार उचाल्ने जादुको छडी होइन

मार्जिन ऋणले लगानीकर्ताको क्रयशक्ति बढाउन सक्छ । यसले माग, कारोबार र तरलता बढाउन सक्छ । तर यसले कम्पनीको नाफा, उत्पादन, उत्पादकत्व वा वास्तविक मूल्य आफैँ बढाउँदैन । कमजोर कम्पनीको कमजोर वित्तीय अवस्था मार्जिन ऋणले सुधार्न सक्दैन । त्यसैले कमजोर कम्पनी, कमजोर व्यवस्थापन, नीतिगत अस्थिरता र लगानीकर्ताको घट्दो विश्वास रहेको अवस्थामा केवल मार्जिन ऋण बढाएर शेयर बजारलाई दीर्घकालीन रूपमा माथि लैजान सकिँदैन । मार्जिन ऋण बजारको गति बढाउने सहायक साधन हो, बजारको आधार होइन । यसको सफलताका लागि राम्रो कम्पनी, पारदर्शी बजार, प्रभावकारी नियमन, संस्थागत लगानी, लगानीकर्ताको विश्वास र स्थिर आर्थिक नीति पनि आवश्यक हुन्छ ।

निष्कर्ष

नेपालको शेयर बजारलाई अझ गहिरो, तरल र व्यवस्थित बनाउन मार्जिन ऋण महत्वपूर्ण वित्तीय औजार बन्न सक्छ । यसले सीमित पूँजी भएका लगानीकर्तालाई अतिरिक्त क्रयशक्ति दिन्छ, कारोबार बढाउन सक्छ, बजारको तरलता सुधार्न सक्छ र बैंकिङ प्रणाली तथा पूँजी बजारबीचको सम्बन्ध बलियो बनाउन सक्छ । तर यसको विस्तार “जति धेरै ऋण, त्यति राम्रो बजार” भन्ने सोचका आधारमा हुनु हुँदैन । अत्यधिक ऋणले लगानीकर्ताको जोखिम बढाउँछ, बजारमा अस्थिरता ल्याउन सक्छ र बजार घट्दा जबर्जस्ती बिक्रीको दबाब सिर्जना गर्न सक्छ । त्यसैले मार्जिन ऋणको मात्रा भन्दा यसको गुणस्तर महत्वपूर्ण छ । नेपालका लागि आवश्यक प्रणाली जोखिममा आधारित, पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्ता संरक्षणमा केन्द्रित हुनुपर्छ । धितोपत्रको गुणस्तरअनुसार ऋण सीमा, उचित ब्याजदर, वैज्ञानिक धितो मूल्यांकन, चरणबद्ध मार्जिन माग, पर्याप्त समय, बैंक तथा क्षेत्रगत जोखिम सीमा र निरन्तर निगरानी आवश्यक छन् । अन्ततः मार्जिन ऋण शेयर बजारलाई कृत्रिम रूपमा उचाल्ने जादुको छडी होइन । तर सही नियमन, जिम्मेवार लगानी र प्रभावकारी जोखिम व्यवस्थापनसहित सञ्चालन गर्न सकियो भने यसले बजारमा स्वस्थ माग सिर्जना गर्न, तरलता बढाउन, कारोबारको गहिराइ विस्तार गर्न र लगानीकर्ताको विश्वास बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपालको आवश्यकता धेरै मार्जिन ऋण होइन, व्यवस्थित, पारदर्शी र जिम्मेवार मार्जिन ऋण हो । बजारको गति बढाउनु मात्र यसको सफलता होइन । यसले नेपालको पूँजी बजारलाई कति सुरक्षित, गहिरो, तरल र दिगो बनाउन सक्छ भन्ने नै यसको वास्तविक सफलता हो ।




लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।