राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा बेलिब्रिज निर्माणको काम अघि बढाइएको हो ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले जिल्ला सदरमुकाम धुञ्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएपछि उक्त क्षेत्रमा आवतजावत प्रभावित भएको थियो । पुल बगाएको स्थानमा नयाँ बेलिब्रिज जडान गर्न फाउन्डेसन निर्माण सुरु भइसकेको छ ।
बेलिब्रिज जडानको काम आगामी तिहारअघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्धारित समयमै निर्माण सम्पन्न गर्न चौबिसै घण्टा काम भइरहेको जनाइएको छ ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेती नेतृत्वको टोलीले शनिबार स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माण कार्यको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ ।
बाढीका कारण आवतजावतमा समस्या भएपछि स्याफ्रुबेँसी–बृद्धिम जोड्ने फड्के पुल निर्माणको काम पनि अघि बढाइएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले फलामको लट्टे लगायतका सामग्री उपलब्ध गराएको छ ।
आवश्यक सामग्री उपलब्ध भएसँगै स्थानीय बासिन्दाको आवतजावत सहज बनाउने उद्देश्यले फड्के पुल निर्माणलाई पनि तीव्रता दिइएको प्रशासनले जनाएको छ ।
बेलिब्रिज र फड्के पुल निर्माण सम्पन्न भएपछि बाढीबाट प्रभावित क्षेत्रको यातायात तथा स्थानीयको आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।