गुगलभन्दा कम कमाएर पनि किन उड्यो माइक्रोसफ्टको शेयर ? बजारमा नाफा होइन ‘अपेक्षा’ को खेल !

Oct 29, 2026 05:39 PM Merolagani



भनिन्छ, शेयर बजार र राजनीति उस्तै–उस्तै हुन्। दुवै क्षेत्रमा केवल काम वा आम्दानीको तथ्याङ्क देखाएर पुग्दैन, जनता वा लगानीकर्ताको ‘अपेक्षा’ (Expectation) मा खरो उत्रिन सक्नुपर्छ। 

पछिल्लो समय विश्वका दुई ठूला प्रविधि कम्पनी—माइक्रोसफ्ट र गुगल (अल्फाबेट) को वित्तीय नतिजापछि बजारमा देखिएको प्रतिक्रियाले यस भनाइलाई दुरुस्तै चरितार्थ गरिदिएको छ।

सार्वजनिक त्रैमासिक वित्तीय विवरणअनुसार, कुल आम्दानी (Revenue) का हिसाबले गुगलको मातृ कम्पनी अल्फाबेटले माइक्रोसफ्टलाई निकै पछाडि पारेको छ। समीक्षा अवधिमा गुगलले १२७.५८ अर्ब अमेरिकी डलर आम्दानी गर्दा माइक्रोसफ्टको आम्दानी ९२.२८ अर्ब डलरमा सीमित भयो। तर, विडम्बना ! गुगलभन्दा करिब ३५ अर्ब डलर कम कमाएको माइक्रोसफ्टको शेयर मूल्य उकालो लाग्यो भने बढी कमाइ गरेको गुगलको शेयर मूल्यमा पहिरो गयो।

सामाजिक सञ्जालमा समेत चर्चित बनेको यो रोचक विरोधाभासको भित्री कारण हो— ‘बजारको अपेक्षा’।

वित्तीय नतिजा सार्वजनिक भएलगत्तै नियमित समयपछिको कारोबार (आफ्टर-आवर्स ट्रेडिङ) मा माइक्रोसफ्टको शेयर मूल्य करिब २.९ प्रतिशतले बढेर प्रतिकित्ता ५४६ डलरमाथि पुग्यो। माइक्रोसफ्टको मुख्य व्यवसाय मानिने क्लाउड (एज्युर) को आम्दानी अघिल्लो वर्षभन्दा ४८ प्रतिशतले बढेर ३३.१७ अर्ब डलर पुगेको थियो, जुन विश्लेषकहरूको ३२.८४ अर्ब डलरको प्रक्षेपणभन्दा बढी हो। यसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा कम्पनीले गरेको विशाल लगानीले प्रतिफल दिन थालेको विश्वास लगानीकर्तामा जगायो।

यसको ठीक उल्टो, गुगलले १२७ अर्ब डलरभन्दा बढी आम्दानी गरे पनि विश्लेषकहरूले राखेको १२७.९७ अर्ब डलरको लक्ष्य भेट्टाउन सकेन। त्यसमाथि, कम्पनीको त्रैमासिक खुद नाफा अघिल्लो वर्षको ३४.९८ अर्ब डलरबाट २५ प्रतिशतले घटेर २६.१७ अर्ब डलरमा खुम्चियो। कम्पनीको प्रतिशेयर आम्दानी (EPS) अनुमानित ३.०१ डलरको तुलनामा घटेर २.१२ डलरमा झर्‍यो। खोज विज्ञापन (Search Ads) को सुस्त वृद्धि र एआईमा अनियन्त्रित खर्च बढ्दा लगानीकर्ता सशंकित बने। फलस्वरूप, कम्पनीको शेयर मूल्य आफ्टर-आवर्स ट्रेडिङमा करिब १० प्रतिशतले ओरालो लाग्यो।

यस घटनाले शेयर बजारको एउटा शाश्वत नियम उजागर गरेको छ— कम्पनीले नाफा वा आम्दानी कति कमायो भन्ने मात्र पर्याप्त हुँदैन, बजारले के अपेक्षा गरेको थियो र आगामी दिन कत्तिको सुरक्षित छन् भन्ने कुराले शेयरको दिशा तय गर्छ। यदि अपेक्षाभन्दा थोरै मात्र पनि नतिजा कमजोर आयो भने बजारले कठोर सजाय दिन्छ, जुन गुगलले भोग्यो।

यो पाठ नेपाली शेयर बजार (नेप्से) का लगानीकर्ताका लागि पनि उत्तिकै मननीय छ। प्रायः नेपाली लगानीकर्ताहरू कम्पनीको त्रैमासिक नाफा बढेको सूचना आउनासाथ शेयर किन्न हतारिन्छन्, तर मूल्य घटिदिन्छ। कम्पनीले कमाएको नाफा बजारको अपेक्षासँग मेल खाएको छ कि छैन, त्यो नाफा नियमित व्यवसायबाट आएको हो कि अन्य स्रोतबाट, र भविष्यमा त्यसको दिगोपना के छ भन्ने विश्लेषण नगरी गरिने लगानी सधैँ जोखिमपूर्ण हुन्छ। बजारमा नम्बर मात्र होइन, 'अपेक्षा र विश्वास' नै सबैभन्दा ठूलो पूँजी हो भन्ने कुरा यस कुराले पुष्टि गर्छ।