प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत केबल बिछ्याउने काम गर्न लागेको हो । यसका लागि कात्तिक १३ देखि २० गतेसम्म दैनिक बिहान १०-३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ ।
प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पहिलो दिन कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी आसपासका क्षेत्रमा विद्युत् कटौती गरिएको छ ।
त्यस्तै, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी चक्रपथदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । कात्तिक १५ गते कलंकी, थानकोट र रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डा क्षेत्रसम्म बत्ती जानेछ ।
यसैगरी, कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी चक्रपथदेखि स्युचाटार सबस्टेसन क्षेत्र प्रभावित हुनेछ । कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तालिकाअनुसार कात्तिक १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् कटौती हुनेछ । त्यस्तै, कात्तिक १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।
प्राधिकरणले मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित कार्यतालिका परिवर्तन वा रद्द हुन सक्ने जनाएको छ । विद्युत् प्रणालीको भूमिगत विस्तार तथा स्तरोन्नतिको कामका क्रममा उपभोक्तालाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै प्राधिकरणले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ ।
भूमिगत विद्युत् प्रणाली विस्तारले भविष्यमा विद्युत् वितरणलाई थप व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने अपेक्षा गरिएको छ ।