आयोजकका अनुसार आगामी नोभेम्बर ५ र ६, २०२६ मा काठमाडौं वर्ल्ड स्कुलमा ह्याकाथन आयोजना गर्न लागिएको हो । कार्यक्रममा नवीन व्यावसायिक अवधारणा, प्रविधिमा आधारित समाधान र बजारमा विस्तार गर्न सकिने सम्भावना भएका स्टार्टअपलाई प्राथमिकता दिइनेछ ।
ह्याकाथनमा सहभागी टोलीले २४ घण्टाभित्र आफ्ना व्यावसायिक अवधारणालाई परिष्कृत गरी निर्णायकमण्डलसमक्ष प्रस्तुत गर्नुपर्नेछ । त्यसक्रममा व्यवसायिक समाधानको सम्भाव्यता, बजारको आवश्यकता, व्यवसायिक मोडेल र भविष्यमा व्यवसाय विस्तार गर्ने योजनाको मूल्यांकन गरिने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धाबाट उत्कृष्ट तीन स्टार्टअप टोली छनोट गरिनेछ । छनोटमा परेका टोलीले आगामी चरणमा लगानीकर्ता, अनुभवी मार्गदर्शक तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष आफ्ना व्यवसायिक अवधारणा प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
आयोजकका अनुसार ह्याकाथनको उद्देश्य उत्कृष्ट व्यावसायिक विचार छनोटमा मात्र सीमित छैन । सम्भावनायुक्त विचारलाई दिगो व्यवसायमा रूपान्तरण गर्न आवश्यक लगानी,मार्गदर्शन र व्यावसायिक सञ्जालसँग जोड्नु पनि कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।
नेपालमा प्रारम्भिक चरणका स्टार्टअपले लगानी जुटाउन, बजारमा पहिचान स्थापित गर्न तथा अनुभवी मार्गदर्शक र व्यावसायिक सञ्जालसम्म पहुँच पुर्याउन कठिनाइ भोग्दै आएका छन् । यस्तो अवस्थामा ह्याकाथनले नवप्रवर्तकलाई आफ्ना व्यावसायिक समाधान परीक्षण गर्ने, अवधारणा सुधार गर्ने र सम्भावित लगानीकर्तासम्म पुग्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमले युवा उद्यमीलाई प्रोत्साहन गर्नुका साथै नेपालमा नवप्रवर्तनमा आधारित उद्यमशीलताको वातावरण विकास गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
कार्यक्रममा सहभागी हुन इच्छुक स्टार्टअप तथा नवप्रवर्तकले आयोजकले उपलब्ध गराएको दर्ता माध्यमबाट आवेदन दिन सक्नेछन् ।