आजको पहिलो खेल दिउँसो १२:३० बजे कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच हुनेछ। प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको कर्णाली यसअघिका दुवै खेलमा विजय हासिल गर्दै ४ अंकका साथ अपराजित यात्रा कायम राखेको छ। कर्णाली आज पनि सोही विजयी लयलाई निरन्तरता दिँदै शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउन चाहन्छ।
यता, पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौँ गोर्खाज भने आज प्रतियोगितामा पहिलो जितको खाता खोल्ने दाउमा मैदान उत्रनेछ। एनपीएलको इतिहासमा यसअघि भएका दुवै भेटमा काठमाडौँले बाजी मारेको भए पनि हालको उच्च फर्ममा रहेको कर्णालीलाई रोक्नु काठमाडौँका लागि ठूलो चुनौती हुनेछ।
आजै अपराह्न ५:०० बजे हुने दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। दुवै टोलीका लागि अंक तालिकामा सुधार गर्न यो खेल निकै निर्णायक मानिएको छ। चितवन यो खेलमा जित निकाल्दै शीर्ष चारमा आफ्नो स्थान सुरक्षित र बलियो बनाउन चाहन्छ भने सुदूरपश्चिम पनि दबाब चिर्दै जितको लयमा फर्किने लक्ष्यसहित मैदानमा उत्रनेछ।