तिहारमा घरमै बनाउनुहोस् बजारमा पाइने जस्तै मिठाई, यस्तो छ बनाउने सजिलो तरिका

Nov 09, 2026 07:00 PM Merolagani



तिहार भनेको नै फूलमाला, रङ्ग, बत्ती र देउसीभैलोसँगै मिठाईको पर्व भनेर बुझ्ने गरिन्छ। तिहारमा सेल रोटी र बिभिन्न किसिमका मिठाईहरु बनाउने गरिन्छ।

तिहारमा घरमा आउने पाहुनालाई विभिन्न प्रकारका मिठाईले स्वागत गर्ने गरिन्छ। बजारमा पाइने मिठाई किन्नुभन्दा घरमै सफा र ताजा सामग्री प्रयोग गरेर मिठाई तयार गर्न सकियो भने त्यसको स्वाद र सन्तुष्टि दुवै फरक हुन्छन्।

सामान्यतया मिठाई बनाउन धेरै झन्झटिलो हुन्छ भन्ने धारणा धेरैमा रहेको पाइन्छ। तर आवश्यक सामग्री र पकाउने तरिका थाहा भएमा घरमै पनि बजारमा जस्तै मिठो मिठाई बनाउन सकिन्छ। दूध, चिनी, पीठो, सुजी, बेसन, घ्यू, तेल र केही मसलाको प्रयोगबाट विभिन्न परिकार तयार गर्न सकिन्छ। मिल्क बर्फी, बटारे मिठाई, लालमोहन, रसबरी र मोतिचुरको लड्डु लगायतका परिकारहरु घरमै बनाउन सकिने लोकप्रिय मिठाई हुन्।

दूधको बर्फी कसरी बनाउने?

घरमै दूधको बर्फी बनाउन धेरै सामग्रीको आवश्यक पर्दैन। डेढ लिटर दूध, १०० ग्राम चिनी, काटेको बदाम तथा काजु र सुकुमेलको धुलो भए हुन्छ । दूधको मिठो बर्फी बनाउन सकिन्छ।

सुरुमा कराइमा दूध राखेर उमाल्नुपर्छ। दूध कराइको पिँधमा नलाग्योस भन्नका लागि उमाल्दा बेलाबेला चलाइरहनु पर्ने हुन्छ। बिस्तारै दुध घट्दै जाँदा बाक्लो हुन थाल्छ र खुवाको रूप लिन्छ। यस्तो अवस्थामा आगो मध्यमबाट कम बनाएर निरन्तर रुपमा चलाउदै पकाउनुपर्छ। उक्त दुध खुवामा रुपान्तरण भएपछि चिनी र सुकुमेलको धुलो मिसाउनुपर्छ। चिनी पग्लिएर मिश्रण बाक्लो हुँदै कराइको सतह छोड्न थालेपछि बर्फी तयार हुने अवस्थामा पुगेको हुन्छ।

बर्फी पाक्यो कि पाकेन भनेर जाँच्नको लागि खुवाको मिश्रणको सानो टुक्रा हातमा लिएर डल्लो बनाउनुपर्छ। हातमा नटाँसिई सफासँग डल्लो बन्यो भने बर्फी तयार भएको बुझ्न सकिन्छ। तर च्यापच्याप भएर हातमा टाँसियो भने केही समय थप पकाउनु पर्ने हुन्छ ।

त्यसपछि घ्यू वा बटर लगाइएको स्टिलको ट्रेमा मिश्रणलाई समान रूपमा फैलाउनुपर्छ। माथिबाट बदाम, काजु तथा अन्य ड्राइफ्रुट्स छर्केर हल्का थिच्नुपर्छ। १० देखि १५ मिनेट वा आवश्यकता अनुसार सेट हुन छोडीदिनु पर्छ। सेट भएपछि छुरीले आफूलाई चाहिएको आकारमा काट्न सकिन्छ। तयार भएको बर्फीलाई एयरटाइट डब्बामा राखेर फ्रिजमा भण्डारण गर्न सकिन्छ।

बटारे मिठाई : चास्नीमा बेरिएको कुरकुरे स्वाद

बटारे मिठाईलाई दाम्लो मिठाई नामले पनि चिनिन्छ। यो मिठाईको विशेषता यसको बटारिएको आकारमा बनेको हुन्छ भने बाहिर जम्ने सेतो चिनीको पत्र लगाईएको हुन्छ।

यो मिठाई बनाउन मैदा वा आटाको पीठो, तेल, नुन, बेकिङ सोडा, पानी र चिनी यसको मुख्य सामग्रीहरु हुन्। यो मिठाई बनाउनको लागि सबैभन्दा पहिले पीठोमा दुई चम्चा तेलसँगै थोरै नुन र बेकिङ सोडा मिसाउनुपर्छ। सुरुमा पानी नहाली यी सामग्रीलाई पीठोसँग राम्ररी मोल्नुपर्छ। हातमा लिँदा पीठो डल्लो पर्ने अवस्था आयो भने तेलको मात्रा ठीक भएको बुझिन्छ। त्यसपछि थोरैथोरै पानी थप्दै पीठो मुछ्नु पर्ने हुन्छ। मुछिएको पीठोलाई करिब १० मिनेट छोपेर राखेपछि पुनः राम्रोसँग माड्नु पर्छ।

अब पीठोलाई सानो आकारमा काटेर हातले तन्काउँदै डोरीजस्तो लामो बनाउने त्यसपछि दुई छेउ समातेर विपरीत दिशामा बटार्नु पर्छ। बीचमा फोल्ड गरेर फेरि बटार्दा मिठाईले दाम्लो वा डोरीजस्तो आकार लिन्छ। बटार्दा धेरै बल लगाउनु हुँदैन। धेरै थिचिएमा पीठोका पत्रहरू एकआपसमा टाँसिन सक्नेमा सचेत हुनु पर्छ।

बटारे मिठाईको आकार तयार भएपछि तेलमा एउटा–एउटा गर्दै तार्नुपर्छ। तार्दा पुन्युँले बिस्तारै चलाइरहनु पर्छ, ताकि मिठाई सबै भागमा समान रूपमा पाक्न सकोस्। सुनौलो खैरो रङ आएपछि तेलबाट निकाल्नु पर्छ।

यसको अर्को महत्वपूर्ण पक्ष चास्नी बनाउने तरिका पनि हो। एक कचौरा चिनीमा एक कचौरा पानी राखेर उमाल्नुपर्छ। चास्नी एक तारको अवस्थामा पुगेपछि त्यसमा तारेको मिठाई राखेर राम्ररी मोल्नुपर्छ। यसमा कागतीको रस प्रयोग गर्नु हुँदैन। कागतीले चिनी जम्ने प्रक्रियामा असर गर्ने भएकाले मिठाईको बाहिरी भागमा सेतो चिनीको पत्र राम्रोसँग बस्दैन। चास्नीबाट निकालेर सेलाउन दिएपछि बाहिर चिनीको सेतो पत्र जम्छ र मिठाई कुरकुरे बनेको हुन्छ।

घरमै बनाउन सकिन्छ रसिलो लालमोहन

नेपाली तथा भारतयिहरुलाई लालमोहन वा गुलाब जामुन धेरैको मनपर्ने मिठाईको परिकार हो। सामान्यतया खुवा वा दूधका सामग्रीबाट बनाइने यो मिठाई सुजी प्रयोग गरेर पनि सजिलैसँग बनाउन सकिन्छ।

यसका लागि १८० ग्राम मसिनो सुजी, ४५० मिलिलिटर दूध, आधा चम्चा सुकुमेलको धुलो, घ्यू, ४०० ग्राम चिनी, ७०० मिलिलिटर पानी, एक चम्चा रोज वाटर र तार्नका लागि तेल आवश्यक पर्छ। लालमोहन बनाउनको लागि सबैभन्दा पहिले ननस्टिक प्यानमा थोरै घ्यू लगाउनु पर्छ। त्यसपछि सुजीलाई थोरैथोरै गर्दै थप्दै लगातार चलाउनुपर्छ। एकैपटक धेरै सुजी राख्दा डल्ला पर्ने सम्भावना हुन्छ। दूध थपेर सानो आगोमा पाँचदेखि सात मिनेटसम्म पकाउँदा पर्छ।

पाकेर तयार भएको मिश्रणलाई धेरै चिसो हुन नदिई मनतातो अवस्थामै मुछ्नुपर्छ। हातमा घ्यू लगाएर सातदेखि आठ मिनेटसम्म मज्जाले मुछ्दा पीठो नरम र चिल्लो हुन्छ। त्यसपछि समान आकारमा काटेर गोलो वा लाम्चो डल्ला बनाउनुपर्छ। डल्लो बनाउँदा बाहिरी सतहमा चिरा रहन दिनु हुँदैन। चिरा भएमा तार्दा लालमोहन फुट्न सक्ने सम्भावना हुन्छ।

लालमोहनको चास्नी बनाउन ४०० ग्राम चिनीमा ७०० मिलिलिटर पानी राखेर चारदेखि पाँच मिनेट उमाल्नुपर्छ। चास्नी धेरै बाक्लो बनाउनु हुँदैन। हल्का च्यापच्याप हुने अवस्थामा पुगेपछि रोज वाटर र सुकुमेलको धुलो मिसाउर मठिो चास्नि बनाउन सकिन्छ ।

अब तयार भएका लालमोहरका डल्लालाई सानो आगोमा राखिएको तेलमा तार्नुपर्छ। तेल धेरै तातो भए बाहिर छिट्टै कालो हुन्छ तर भित्र काँचै रहन सक्छ। त्यसैले कम तापक्रममा विस्तारै पकाउनुपर्छ। पकाउन सुरु भएको दुईदेखि तीन मिनेट चम्चाले चलाउनु हुँदैन। पाँच मिनेटपछि डल्ला तेलको सतहमा तैरिन थालेपछि तेललाई हल्का घुमाउँदै पकाउन सकिन्छ। करिब १० मिनेटपछि सुनौलो खैरो रङ आएमा पल्टाएर सबै भाग समान रूपमा तार्नु पर्छ।

तेलबाट निकालेपछि मध्यम तातो वा मनतातो चास्नीमा डुबाउनु पर्छ। धेरै तातो चास्नीमा राख्दा लालमोहन फुट्न सक्छ भने धेरै चिसो चास्नीमा राख्दा भित्रसम्म रस पस्न गाह्रो हुन्छ। तीनदेखि चार घण्टासम्म चास्नीमा छोड्दा लालमोहनले रस सोस्छ र आकार पनि केही ठूलो हुन्छ। यसरी तयार भएको लालमोहन नरम र रसिलो हुन्छ।

रसबरी कसरी बनाउने?

रसबरी पनि नेपालीहरुको लोकप्रिय मिठाई हो। दूधबाट तयार हुने रसबरी पनि घरमै सजिलै बनाउन सकिन्छ। बनाउन सकिने लोकप्रिय मिठाई हो। यसका लागि दुई लिटर दूध, दूध फटाउन कागतीको रस वा भेनेगर, चिनी, पानी र सुकुमेल आवश्यक पर्छ। विशेषगरी ३.८ प्रतिशत फ्याट भएको दूध प्रयोग गर्दा राम्रो र मिठो रसबरी बन्छ।

रसबरी बनाउनको लागि सुरुमा दूधलाई उमाल्नु पर्छ। दूध उम्लिएपछि तुरुन्तै कागती वा भेनेगर हाल्नु हुँदैन। ग्यास बन्द गरेर करिब पाँच मिनेटपछि मात्र अमिलो पदार्थ मिसाउनु पर्छ। त्यसपछि बिस्तारै चलाउँदा दूध फाटेर छेना र हरियो जस्तो देखिने पानी छुट्टिन्छ। छेना तयार भएपछि मसिनो कपडामा छानेर चिसो पानी खन्याउनुपर्छ। यसले छेनाको अत्यधिक तापक्रम घटाउन सहयोग गर्छ।
उक्त छेनालाई धेरै निचोर्नु हुँदैन। कपडामा बाँधेर करिब आधा घण्टा झुन्ड्याउँदा बाँकी पानी आफैँ निस्कन्छ। त्यसपछि छेनालाई हत्केलाको तल्लो भागले चारदेखि पाँच मिनेटसम्म मिचेर म्यास गर्नुपर्छ। छेना चिल्लो हुँदै हातमा नटाँसिने नरम डो बनेपछि गोलो डल्ला बनाउन सकिन्छ। डल्ला बनाउँदा बाहिर कतै पनि चिरा रहन दिनु हुँदैन।

रसबरीको चास्नी बनाउन चिनीको तुलनामा ठ्याक्कै दोब्बर पानी प्रयोग गर्नुपर्छ। चास्नीलाई ठूलो आगोमा उमालेर बिर्को लगाउनुपर्छ। चास्नी राम्ररी उम्लिरहेको अवस्थामा छेनाका डल्ला राखेर बिर्को लगाई ठीक १० मिनेट पकाउनुपर्छ। यस अवधिमा रसबरी फुलेर करिब दोब्बर आकारको हुन्छ।
करिब १० मिनेटपछि आगो बन्द गरेर रसबरीलाई चास्नीसहित छोपेर करिब पाँच घण्टासम्म चिसो हुन छोड्नु पर्छ। यसरी राख्दा चास्नीको रस भित्रसम्म पस्छ। अन्ततः रसबरी स्पोन्जीजस्तो नरम, लचकदार र रसिलो भएको हुन्छ।

 लड्डु बनाउने तरिकाः
तिहारमा लड्डुको विशेष महत्व हुन्छ। विशेषगरी मोतिचुरको लड्डु यसको सानो दाना, आकर्षक रङ र नरम बनावटका कारण लोकप्रिय छ। घरमै पनि बेसन, चिनी, पानी, तेल, फुड कलर, मगज वा काजु र पिस्ताको प्रयोग गरेर मोतिचुरको लड्डु बनाउन सकिन्छ। लड्डुलाई लामो समयसम्म नरम राख्न ग्लुकोज लिक्विडसमेत प्रयोग गर्ने गर्छन्।

मोतिचुरको लड्डु बनाउन सबैभन्दा पहिले मसिनो बेसनमा थोरै पानी राखेर बाक्लो घोल बनाउनु पर्छ। बेसनमा गाँठा नपर्ने गरी घोलेपछि आवश्यकता अनुसार पानी थप्दै पातलो बनाउनु पर्छ। घोलको बाक्लोपन बुँदी झार्ने छान्नीको आकार अनुसार मिलाउनुपर्छ। मोतिचुरका लागि विशेषगरी शून्य नम्बरको मसिनो छान्नी प्रयोग गरिन्छ।

बेसनको घोल तयार भएपछि तेललाई राम्रोसँग तताउनु पर्छ। छान्नीबाट घोल झार्दै बुँदी बनाउनु पर्छ। तेल पर्याप्त तातो भएन भने बुँदी गोलो नबनी चेप्टो वा लाम्चो हुन सक्छ। बुँदीलाई धेरै बेर तार्नु हुँदैन। रङ परिवर्तन हुनु अघि नै तेलबाट निकाल्नुपर्छ। तेलको फिँज हराउन थालेपछि बुँदी तयार भएको हुन्छ।

अब एक कप चिनीमा आधा कप पानी राखेर चास्नी बनाउनुपर्छ। यसलाई धेरै बाक्लो बनाउनु पर्दैन। एकपटक राम्ररी उम्लिएपछि पहेँलो र रातो फुड कलर मिसाएर सुन्तला वा केसरी रङ बनाउन सकिन्छ। त्यसपछि तयार भएको बुँदी चास्नीमा राखेर एकदेखि डेढ मिनेटसम्म हल्का चलाउनुपर्छ। बुँदी नरम भएपछि ग्यास बन्द गरेर पाँच मिनेट छोपेर राख्नुपर्छ, जसले गर्दा बुँदीले चास्नी राम्ररी सोस्छ।

त्यसपछि आवश्यकता अनुसार ग्लुकोज लिक्विड र मगज वा काजुका टुक्रा मिसाउन सकिन्छ। मिश्रणलाई प्लेटमा फैलाएर कोठाको तापक्रममा चिस्याउनुपर्छ। लड्डु बाँध्नु अघि हातमा थोरै पानी लगाउँदा मिश्रण हातमा टासिदैन। त्यसपछि धेरै नथिची विस्तारै हल्का हातले मिलाउदै दुवै हत्केलाको सहायताले गोलो आकारमा बनाउनु पर्छ। लड्डको माथिबाट पिस्ता राखेर सजाउन सकिन्छ। तयार भएको लड्डुलाई दुईदेखि तीन घण्टा सेट हुन दिएपछि खानका लागि तयार हुन्छ।

घरमै मिठाई बनाउँदा ध्यान दिनुपर्ने कुरा

मिठाई बनाउँदा सामग्रीको मात्रा जति महत्वपूर्ण हुन्छ। मिठाई पकाउने तापक्रम र समयपनि उत्तिकै महत्वपूर्ण हुन्छ। दूधबाट बन्ने परिकारमा निरन्तर चलाउने, पीठोबाट बन्ने परिकारमा सही मात्रामा राख्ने र तेलमा तार्ने मिठाईमा आगो नियन्त्रण गर्ने कुराले स्वाद र बनावट निर्धारण गर्छ। त्यस्तै चास्नीको बाक्लोपन मिलाउन नसक्दा मिठाई धेरै कडा वा धेरै नरम हुन सक्छ। यस्ता कुरालाई ध्यान दिन सकियो भने घरमा नै स्वछ मिठो मिठाई बनाउन सकिन्छ। यसले चाडपर्वको मिठास बढाउनुका साथै परिवारसँगै बसेर मिठाई बनाउने र खाने अवसरसमेत प्रदान गरेको हुन्छ।