तिहारमा स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो स्थान, प्लाष्टिकका माला बेचे जफत गरिने

Nov 03, 2026 11:30 AM Merolagani



काठमाडौँ महानगरपालिकाले दीपावली (तिहार) पर्वका अवसरमा नेपाली किसानहरूले उत्पादन गरेका स्वदेशी फूल तथा माला बिक्री वितरणका लागि विभिन्न स्थानहरू तोकेको छ।

महानगरपालिका नगर कार्यपालिकाको कार्यालय (महानगर प्रहरी बल) ले एक सूचना जारी गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन र प्लाष्टिकजन्य फूल–मालाको कारोबार नगर्न आग्रह गरेको हो। महानगरको निर्देशनविपरीत प्लाष्टिकका वा गुणस्तरहीन फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्रीहरू नियन्त्रणमा लिई जफत गरिने चेतावनीसमेत दिइएको छ।

स्थानीय किसानलाई बजार व्यवस्थापनमा सहज होस् र जथाभावी सडक–फूटपाथमा बिक्री वितरण नहोस् भन्ने उद्देश्यले महानगरले सरोकारवाला निकायहरूसँगको समन्वयमा निम्न स्थानहरू बिक्री केन्द्रका रूपमा निर्धारण गरेको छ:

फूल तथा माला बिक्रीका लागि तोकिएका मुख्य स्थानहरू:

  • बानेश्वर र आसपास: एन.बि. सेन्टर (नयाँ बानेश्वर), आइ प्लेक्स मल (नयाँ बानेश्वर), सेल्स बेरी (मध्य बानेश्वर), बिग मार्ट (शंखमुल), तीनकुने चौर।

  • चावहिल र बत्तीसपुतली: फोनेक्स टावर (बत्तीसपुतली), सिफल चौर, ए.सी. कम्प्लेक्स (चावहिल), चावहिल गणेशस्थान (तरकारी बजार), के.एल. टावर अगाडि (चावहिल)।

  • कालीमाटी, स्वयम्भू र कलङ्की: कालीमाटी बैंक्वेट, कालीमाटी चौखेल, धर्म चक्र पार्क (स्वयम्भू), भाटभटेनी (कलङ्की)।

  • बालाजु, गोंगबु र सामाखुशी: नयाँ बजार (भ्याली कोल्ड स्टोर), बुद्ध महल तथा गुणस्तर खाल्डो (माछापोखरी), कोइराला स्मार्ट (सामाखुशी), बिग मार्ट (गोंगबु)।

  • महाराजगञ्ज र बालुवाटार क्षेत्र: सेल्सबेरी (महाराजगञ्ज), बिग मार्ट (चप्पलकारखाना), बिग मार्ट (बालुवाटार), हाँडीगाउँ (वडा नं. ५ अगाडिको डबली र गणेश मन्दिर डबली)।

  • केन्द्रीय शहर (पुतलीसडक, सुन्धारा र भित्री शहर): IT Building (कमलादी), Star Mall (पुतलीसडक), भाटभटेनी (अनामनगर), काठमाडौँ मल (सुन्धारा), बज्र कम्प्लेक्स/गुड मार्ट (न्यूप्लाजा), भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, लगन र जैसीदेवल।

बिक्री स्थल व्यवस्थापन तथा सम्पर्कका लागि महानगरले सम्बन्धित स्थानका प्रतिनिधिहरूको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।

सहजीकरणका लागि महानगर प्रहरीको हटलाइन:

बिक्री वितरणमा कुनै समस्या परे वा सहजीकरण आवश्यक भएमा महानगर प्रहरी बलको निम्न नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छ:

  • टेलिफोन: ०१-५९०१७६३ / ०१-५९०१७६४

  • मोबाइल: ९८५१३५६५०९