बीमा क्षेत्रका कर्मचारी तलब र बढुवाप्रति असन्तुष्ट, कार्यवातावरणमा भने सन्तुष्ट

Nov 03, 2026 12:28 PM Merolagani



नेपालको बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरू सहकर्मीको सहयोग, कार्यस्थलको सम्मान र कामको जिम्मेवारीप्रति सन्तुष्ट देखिएका छन्। तर तलब–सुविधा, बढुवा प्रणाली र कार्यसम्पादन मूल्याङ्कनप्रति भने असन्तुष्टि रहेको नेपाल बीमा प्राधिकरणको अध्ययनले देखाएको छ।

प्राधिकरणको अनुसन्धान तथा तथ्याङ्क शाखाले जीवन, निर्जीवन, लघु जीवन, लघु निर्जीवन तथा पुनर्बीमा कम्पनीका ३ हजार ७ सय ६७ कर्मचारीमाझ गरेको सर्वेक्षणमा समग्र कार्यसन्तुष्टि औसत ५ मा ३.९२ अङ्क पाइएको छ।

सहकर्मीको सहयोगमा सबैभन्दा बढी सन्तुष्टि

अध्ययनअनुसार सहकर्मीबीचको आपसी सहयोगले ४.३८ अङ्क प्राप्त गरेको छ। कार्यस्थलमा सम्मान तथा समावेशिताले ४.२६, व्यवस्थापकको सहयोगले ४.२१ र कामको जिम्मेवारीको स्पष्टताले ४.१७ अङ्क पाएका छन्। ८० प्रतिशतभन्दा बढी कर्मचारीले आफ्नो कामलाई अर्थपूर्ण र उपयोगी मानेका छन्।

तलब र बढुवा प्रणालीमा असन्तुष्टि

कर्मचारीको असन्तुष्टिको प्रमुख कारण पारिश्रमिक र वृत्तिविकास देखिएको छ। बैंकिङ क्षेत्र तथा बजारको तुलनामा तलब कम भएको भन्दै ४२ प्रतिशत कर्मचारीले असन्तुष्टि जनाएका छन्। यस पक्षले औसत २.८५ अङ्क पाएको छ।

त्यस्तै, ४१ प्रतिशत कर्मचारीले औषधि उपचार, बिदा, आवास तथा कर्मचारी कर्जाजस्ता गैरवित्तीय सुविधा अपर्याप्त रहेको बताएका छन्। आधारभूत तलब र भत्ता पर्याप्त नभएको गुनासो ३५ प्रतिशतको छ भने ३८ प्रतिशत कर्मचारीले बढुवा प्रणाली निष्पक्ष नभएको बताएका छन्।

विशेषगरी ५ देखि ९ वर्षसम्म एउटै पदमा काम गर्दा पनि बढुवा नहुने तथा योग्यताभन्दा पहुँच र नातावादले प्राथमिकता पाउने गरेको गुनासो अध्ययनमा समेटिएको छ।

१४ प्रतिशतले कार्यस्थलमा दुर्व्यवहार भोगेको बताए

सर्वेक्षणमा सहभागीमध्ये करिब १४ प्रतिशत कर्मचारीले कार्यस्थलमा मौखिक दबाब, गालीगलौज वा दुर्व्यवहार भोगेको बताएका छन्। लक्ष्य पूरा गराउन व्यवस्थापकबाट अनावश्यक मानसिक दबाब र अपमानजनक व्यवहार हुने गरेको गुनासो पनि प्रतिवेदनमा उल्लेख छ।

उच्च शिक्षित र बागमतीका कर्मचारी कम सन्तुष्ट

शैक्षिक योग्यताका आधारमा स्नातकोत्तर तह उत्तीर्ण कर्मचारीको सन्तुष्टि औसत ३.६२ अङ्क रहेको छ। प्लस टु वा सोभन्दा कम शिक्षा हासिल गरेका कर्मचारीको सन्तुष्टि भने ४.२७ अङ्क छ।

प्रदेशगत रूपमा बागमतीमा ३.८८ अङ्कसहित सबैभन्दा कम सन्तुष्टि देखिएको छ। मधेशमा ४.४३ र कर्णालीमा ४.३७ अङ्क पाइएको छ। उमेर र अनुभवका आधारमा ५५ वर्षमाथिका तथा २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारी तुलनात्मक रूपमा बढी सन्तुष्ट देखिएका छन्।

कर्मचारीले के सुधार चाहेका छन्?

कर्मचारीहरूले बैंक तथा वित्तीय संस्थासरह प्रतिस्पर्धी तलब, पारदर्शी बढुवा प्रणाली, स्वास्थ्य सुविधा विस्तार, अनिवार्य फोर्स लिभ, तालिममा समान अवसर र शाखाहरूको भौतिक पूर्वाधार सुधार गर्न सुझाव दिएका छन्।

अध्ययनले बीमा कम्पनीहरूमा कर्मचारीको सन्तुष्टि कायम राख्न मानव संशाधन व्यवस्थापन, पारिश्रमिक र वृत्तिविकासका अवसरमा सुधार आवश्यक रहेको औँल्याएको छ। प्राधिकरणले पनि कर्मचारीको कार्यसन्तुष्टि अभिवृद्धिका लागि नीतिगत तथा संस्थागत सुधार गर्ने जनाएको छ।