चाडपर्वमा उपभोग बढ्ने मौका छोपेर ठूला व्यापारी तथा आयातकर्ताले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएको उपभोक्ताको गुनासो छ । मूल्यवृद्धिले सर्वसाधारणको घरायसी बजेट प्रभावित भइरहँदा बजार अनुगमन र मूल्य नियन्त्रणमा सरकार भने प्रभावकारी देखिएको छैन ।
दसैंअघि बढेको खाद्यान्नको मूल्य अहिले थप महँगिएको छ । सामान्यतया कात्तिक–मंसिरमा नयाँ चामल बजारमा आउने भएकाले मूल्य घट्ने अपेक्षा गरिन्छ । तर, यसपटक नयाँ चामल बजारमा आउने समयमा पनि मूल्य घट्नुको सट्टा प्रतिबोरा २०० देखि ४०० रुपैयाँसम्म बढेको छ ।
घट्टेकुलोकी गीता कँडेलले पछिल्लो समय चामलको मूल्य अस्वाभाविक रूपमा बढेको बताइन् । उनका अनुसार दसैंअघि २५ किलोको एक बोरा चामल २ हजार २०० रुपैयाँसम्ममा किनेकोमा अहिले त्यही चामललाई २ हजार ६०० रुपैयाँभन्दा बढी तिर्नुपरेको छ ।
‘अहिले बजारमा सबैजसो वस्तुको मूल्य बढेको छ । चामलको एक बोरामै ३ सय देखि ४ सय रुपैयाँसम्म महँगिएको छ,’ उनले भनिन्, ‘यसरी मूल्य बढ्दै जाने हो भने सामान्य परिवारलाई गुजारा गर्नसमेत कठिन हुन्छ । महँगी नियन्त्रण गर्न सरकारले कुनै पहल गरेको देखिँदैन ।’

कुन वस्तुको मूल्य कति ?
नेपाल खुद्रा व्यापार संघका अनुसार अहिले बजारमा त्रिशुलीको पोखरेली चामल प्रतिकिलो १२० रुपैयाँ, जिरा मसिनो चामल १०५ देखि ११० रुपैयाँ, मासको दाल २२० रुपैयाँ र मुसुरोको दाल १४५ रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै, भुटेको तोरीको तेल प्रतिलिटर ४६० रुपैयाँ र काँचो तोरीको तेल २९० रुपैयाँसम्म पुगेको छ । यद्यपि, थोक बजारको तुलनामा खुद्रा पसलमा उपभोक्ताले अझ बढी मूल्य तिर्नुपर्ने अवस्था छ । थोकमा प्रतिकिलो ११० रुपैयाँ रहेको चिनी खुद्रा पसलमा १२० देखि १३० रुपैयाँसम्म बिक्री भइरहेको छ ।
नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यका अनुसार पछिल्लो समय चामल, दाल, तेल, घ्यू तथा चिनी लगायतका अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ ।
उनका अनुसार तोरीको तेल प्रतिलिटर १० देखि २० रुपैयाँसम्म महँगिएको छ । नयाँ चामल आउने समयमा मूल्य घट्नुपर्ने भए पनि २५ किलोको बोरामा २०० देखि ४०० रुपैयाँसम्म वृद्धि भएको छ ।
त्यस्तै, दालको मूल्य प्रतिकिलो ४० देखि १०० रुपैयाँसम्म बढेको छ । चिनीको खुद्रा मूल्य प्रतिकिलो १३० रुपैयाँसम्म पुगेको छ । दालको मूल्य अझै बढ्न सक्ने व्यापारीहरूको अनुमान छ ।
‘अहिले बजारमा धेरैजसो दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । चामल सस्तो हुनुपर्ने समयमा प्रतिबोरामै २०० देखि ४०० रुपैयाँसम्म बढेको छ । तेल र दालको मूल्य पनि बढिरहेको छ,’ बज्राचार्यले भने ।
उनका अनुसार चामल मिलबाटै मूल्य बढेर आउने गरेको छ । दसैंअघि नै थोक व्यापारी तथा आयातकर्ताले मूल्य बढाइसकेको अवस्थामा अहिले घट्नुको सट्टा थप वृद्धि भइरहेको छ ।
भारतमा अर्बन चक्रवातको प्रभावका कारण खाद्यान्न तथा अन्य उपभोग्य वस्तुको मूल्य अझै बढ्न सक्ने संकेत आयातकर्ताले गरिरहेको पनि उनले बताए । यसले आगामी दिनमा बजार मूल्य थप प्रभावित हुन सक्ने देखिएको छ ।
झारा टार्न अनुगमन, हुँदैन मूल्य नियन्त्रण
चाडपर्व नजिकिएसँगै सरकारले बजार अनुगमनलाई तीव्रता दिएको दाबी गरे पनि त्यसले मूल्यवृद्धि नियन्त्रण गर्न सकेको छैन । अनुगमनका क्रममा केही पसलमा कैफियत भेटिए जरिवाना गर्ने गरिए पनि समग्र बजारको मूल्य प्रणालीमा सुधार आउन नसकेको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाका अनुसार सरकारले चाडपर्वमा मात्रै अनुगमन गरेजस्तो गर्ने प्रवृत्तिले बजारमा बढ्दो महँगी नियन्त्रण हुन सक्दैन ।
‘चाडपर्वमा मात्र अनुगमन गरेजस्तो गरेर बजार सुध्रिँदैन । अहिले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य यसरी बढेको छ । त्यो मूल्यवृद्धि रोक्न सरकार पूर्ण रूपमा असफल भइसकेको देखिन्छ,’ उनले भने ।
उनका अनुसार बजारमा हुने मूल्यवृद्धिको वास्तविक कारण पहिचान गरी त्यसलाई नियन्त्रण गर्नुपर्नेमा सरकारको अनुगमन औपचारिकतामै सीमित हुँदा उपभोक्ता निरन्तर मारमा परिरहेका छन् ।