भाइटीकालाई लक्षित गर्दै चालु आर्थिक वर्षको पहिलो तीन महिनामै तीन अर्ब रुपैयाँभन्दा बढीको भाइमसला (ड्राई फ्रुट्स) आयात भएको छ । आयात बढेसँगै बजारमा यसको कारोबार चहलपहल पनि बढेको छ भने अधिकांश भाइमसलाको मूल्यसमेत महँगिएको छ ।
व्यापार प्रवर्धन तथा निकासी केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म ३ अर्ब ७ करोड ५३ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ११ हजार ९६६ किलो भाइमसला आयात भएको छ । उक्त आयातबाट १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।
केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी ८४ करोड ७७ लाख रुपैयाँ बराबरको सुपारी आयात भएको छ । त्यस्तै, ६५ करोड ३९ लाखको ओखर, ५८ करोड ७५ लाखको नरिवल, ४७ करोड ९३ लाखको बदाम र ४६ करोड ५७ लाख रुपैयाँ बराबरको काजु आयात भएको छ । पेस्ता, खजुर तथा अन्य नट्ससमेत विभिन्न मुलुकबाट आयात हुने गरेका छन् ।
तिहारमा भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई ओखर, काजु, बदाम, किसमिस, नरिवल, छोकडा र सुपारीलगायतका परिकार दिने चलन छ । यही कारण अन्य समयको तुलनामा तिहारमा ड्राई फ्रुट्सको आयात र खपत बढी हुने गरेको केन्द्रले जनाएको जनाएको छ ।

यसैबीच, तिहार नजिकिएसँगै काठमाडौंको नयाँ सडकस्थित मखनगल्लीका मसला पसलमा ग्राहकको चहलपहल बढेको छ । व्यवसायीका अनुसार यस वर्ष भाइमसलाको मूल्य प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्म बढेको छ । आयात मूल्य बढेर आएकाले बजारमा पसलअनुसार फरक मूल्य कायम हुँदा उपभोक्ता थप मारमा परेका छन् ।
हाल बजारमा काजु प्रतिकिलो १ हजार ८०० देखि २ हजार २०० रुपैयाँ, किसमिस ७०० देखि ७५० रुपैयाँ र पेस्ता ३ हजार ७०० देखि ३ हजार ७५० रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै, बदाम प्रतिकिलो १ हजार ८००, ओखर ५५० देखि ६००, ल्वाङ १ हजार ९०० र सुकमेल ७ हजार रुपैयाँ पुगेको छ । मिश्री प्रतिकिलो १८० देखि २००, दालचिनी ७५० र अन्जिर १ हजार ८०० देखि २ हजार रुपैयाँमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।
तिहारमा अन्य समयको तुलनामा भाइमसलाको खपत बढी हुने भएकाले व्यापार बढ्न थालेको छ ।