बुधवार पार्टीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध निर्मम रूपमा उभिन तयार रहेको बताएका हुन् । अध्यक्ष लिङदेनले आफूले संसदमा प्रतिनिधित्व गर्दादेखि नै सार्वजनिक पदमा बस्ने व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने आवाज उठाउँदै आएको स्मरण गराए। उनले भ्रष्टाचारको आरोप प्रमाणित भएमा आफू सजाय भोग्न र राजनीतिबाटै सन्यास लिएर विपक्षीको घरमा भाँडा माझ्न तयार रहेको दाबी गरे। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम रोकिनुलाई उनले रहस्यमय भन्दै आफूले स्वेच्छाले सम्पती विवरण बुझाएको जानकारी दिए ।
पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै लिङदेनले कार्यकर्ता र नेतृत्वलाई संयमित रहन आग्रह गरे । उनले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै निजी स्वार्थका लागि पार्टी र सहकर्मीको मानमर्दन गर्ने कार्य नगर्न सचेत गराए ।
उनले भने, ‘नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज संसददेखि निरन्तर उठाउँदै आएको छु । सबैभन्दा पहिले आफ्नै र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने मेरो माग आज पनि कायम छ । छानबिनबाट भ्रष्टाचार प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु । म सिद्धान्त, वचन र व्यवहार तीनै पक्षबाट भ्रष्टाचारविरोधी छु । त्यसैले राप्रपा भ्रष्टाचारविरुद्ध दृढतापूर्वक अघि बढ्नुपर्छ । अब हाम्रो मुख्य लक्ष्य पार्टीको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु हो । नेतृत्व चयन सहमतिबाट हुन सके राम्रो हुन्छ, नभए स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्छ । तर नेतृत्वका आकाङ्क्क्षी साथीहरूले व्यक्तिगत स्वार्थका लागि एकअर्कालाई होच्याउने र पार्टीको मनोबल कमजोर बनाउने काम गर्नु हुँदैन । पार्टीको एकता, प्रतिष्ठा र हितलाई सर्वोपरि राखेर अघि बढ्नुपर्छ ।’
उनले आफ्नो अडान ‘सिद्धान्तमा मात्र नभई मन, वचन र कर्ममा आधारित रहेको’ जिकिर गरे । आगामी दिनमा राप्रपा भ्रष्टाचारविरुद्धको मुद्दालाई प्रमुखताका साथ अगाडि बढाउने उनको भनाइ छ ।