नेपालको शेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन के गर्नुपर्ला ?

Nov 14, 2026 06:12 PM Merolagani




सुधा देवकोटा
पछिल्ला दिनमा शेयरमा आम चासो बढ्न थालेपछि बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बहस हुने गरेको छ। नेपाली बजारलाई अन्तर्राष्ट्रिय स्तरको, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउनु पर्नेमा आम लगानीकर्ताको एकमत हुने गरेको हो।

बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि नेप्से परिसूचक बढ्नु मात्र पर्याप्त नहुने बुझाई छ। नेपालको बजारलाई अन्तराष्ट्रिय स्तरको बनाउनको लागि सिस्टममा सुधार, नीतिगत सुधारदेखि लिएर समग्र बजारलाई व्यवस्थिरत बनाउनु पर्ने नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बताए। हाम्रो बजारमा कारोबार प्रणाली, सूचना प्रवाह, सेटलमेन्ट प्रक्रिया, वित्तीय उपकरणको विविधता तथा नियामक निकायको संस्थागत क्षमतामा आमूल सुधार आवश्यक रहेको पाण्डेको भनाइ छ।

अन्तर्राष्ट्रिय स्तरको बजार भन्दा पनि लगानी आउने वातावरण बनाउनु पर्नेमा पाण्डेले जोड दिएका छन। नेपालको बजारमा विश्वासको कमी छ। बजारमा लगानीकर्ता उपस्थितिमा सुधार नभएसम्म जस्ता कुरा गरेतापनि बजारको विकास हुदैन। पसल खोल्नको लागि ग्राहक हुन जरुरी भए जस्तै बजार अन्तर्राष्ट्रिय स्तरको हुनको लागि लगानीको वातावरण बन्नु पर्ने उनको भनाई रहेको छ।

नेपाली पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन पर्नेमा शेयर बजारका पुराना लगानीकर्ता तारा फुल्लेलको पनि राय छ। अन्तर्राष्ट्रिय स्तरको बजार बनाउनको लागि नेप्सेको संरचनागत तथा संस्थागत पुनसंरचना गर्नु आवश्यक छ। बजार सञ्चालन र नियमनलाई थप प्रभावकारी बनाउन नेपाल धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त, सक्षम र जवाफदेही नियामक निकायका रूपमा विकास गर्नुपर्ने फुल्लेलको धारणा छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय अभ्यास अनुसार कारोबार भएको भोलिपल्टै राफसाफ तथा फछ्र्योट हुने प्रणाली लागू गर्ने, इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ र मार्जिन ट्रेडिङजस्ता आधुनिक कारोबार उपकरणलाई व्यवस्थित रूपमा प्रवेश गराउनु पर्ने उनको बुझाई छ। अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि बजारको दिगो विकासका लागि बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा अन्य संस्थागत लगानीकर्ताको सहभागिता बढाउनु पर्छ।

 

साथै, नियामक निकायले नीतिगत चुस्ततामा पनि सुधार गर्नुपर्छ। बजारमा हुने कृत्रिम मूल्यवृद्धि, मूल्य प्रभावित गर्ने गतिविधि, भित्री सूचनाको दुरुपयोग तथा अन्य चलखेल नियन्त्रण गर्न प्रभावकारी निगरानी र कारबाही प्रणाली विकास गर्न आवश्यक छ। पूँजी बजार सम्बन्धी नीति तथा नियामकीय निर्णय प्रक्रियामा लगानीकर्ताको प्रतिनिधित्व सुनिश्चित गर्दै सरोकारवालासँग नियमित परामर्श गर्ने व्यवस्था मिलाउन सके नेपाली शेयर बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप आधुनिक, विश्वसनीय र लगानीमैत्री बनाउन सकिने फुल्लेलको धारणा रहेको छ।

अन्तर्राष्ट्रिय स्तरको बजार बनाउन बोर्डको पहल

नेपालको सानो बजारको दायरा बढाउदै अन्तर्राष्ट्रिय स्तरको आधुनिक, प्रतिस्पर्धी, पारदर्शी र लगानीमैत्री बनाउन नेपाल धितोपत्र बोर्डले नीतिगत, संस्थागत तथा प्राविधिक सुधार गरेको पाइन्छ।
हालै बोर्डले कारोबार प्रणालीलाई अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विकास गर्न मार्जिन कारोबार, इन्ट्रा डे ट्रेडिङ, सेक्युरिटिज लेण्डिङ एन्ड बोरोइङ तथा सर्ट सेलिङजस्ता आधुनिक कारोबार प्रणाली लागू गर्ने नीतिगत व्यवस्था गरेको छ। जसमा मार्जिन कारोबार सुरु भइसकेको छ भने इन्ट्रा डे कारोबार सम्बन्धी व्यवस्थाको लागि बोर्डले चरणबद्ध अवधारणापत्र सार्वजनिक गरेको छ। मार्जिन कारोबारलाई अझै व्यवस्थित बनाउन नियमावलीको मस्यौदा तयार गरी सुधारको काम भइरहेको बोर्डले जानकारी गराएको छ।

त्यसैगरी, बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजारलाई आधुनिक, प्रविधिमैत्री र सुरक्षित बनाउने उद्देश्य सहित ‘सूचना प्रविधि नीति, २०८३’ लागू गरेको छ। पूँजी बजारमा कृत्रिम बौद्धिकता (एआई), बिग डाटा तथा वित्तीय प्रविधि (फिनटेक) को प्रयोग बढ्दै गएपछि बोर्डले यसअघि लागू गरेको ‘सूचना प्रविधि नीति, २०७६’ खारेज गर्दै नयाँ नीति ल्याएको हो।

सूचना प्रविधि नीतिले नेप्सेको अनलाइन कारोबार प्रणाली र ट्रेडिङ म्यानेजमेन्ट सिस्टमलाई सुरक्षित तथा प्रभावकारी बनाउन सूचना प्रविधि परिक्षण, साइबर सुरक्षा परीक्षण, मोबाइल एपमार्फत कारोबार सुविधा विस्तार र सेन्ट्रलाइज्ड केवाईसी प्रणालीलाई कारोबार प्रणालीसँग एकीकृत गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी शेयर बिक्रीपछि गर्नुपर्ने ईडीआईएस प्रक्रियालाई स्वचालित बनाउने, धितोपत्र बजारमा बेञ्चमार्क सूचकांक सम्बन्धी व्यवस्था सुरु भएको छ। यसका साथै धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३, संस्थागत लगानीकर्ता नीति तथा सामूहिक लगानी कोषसम्बन्धी नीतिगत सुधार मार्फत बजारमा संस्थागत लगानी विस्तार गर्ने प्रयास भइरहेको छ।

साथै, निजी इक्विटी तथा भेन्चर क्यापिटलको विकास, वित्तीय साक्षरता विस्तार र बजारको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने कामलाई समेत बोर्डले प्राथमिकता दिइएको छ। वर्षौदेखि बजारमा गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशी संस्थागत लगानी ल्याउनु पर्नेमा जोड दिदै आएको देखिन्छ। तर व्यवहारमा एनआरएनहरुले सहज रुपमा कारोबार गर्न सकिरहेका छैनन। सो विषयलाई पनि बोर्डले महत्वका साथ लिदै यस्ता लगानीकर्तालाई बजारमा लगानी गर्ने सम्बन्धमा सरकार र अन्य सरोकारवाला निकायसँग समन्वयमा काम भइरहेको बोर्डले जानकारी गराएको छ।

नेपाली बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउन कारोबार प्रणालीको आधुनिकीकरण, रियल टाइम सूचना प्रवाहमा जोड दिनुपर्ने सबै पक्षको जोड रहेको देखिन्छ। त्यसका साथै, कारोबारको सेटलमेन्ट, नयाँ वित्तीय उपकरणको प्रवेश र नियामक निकायको संस्थागत सुदृढीकरणलाई समेत जोड दिनुपर्ने लगानीकर्ताहरुको बुझाई छ। साथै, संस्थागत तथा विदेशी लगानीकर्ताको सहभागिता विस्तार, बजारमा हुने चलखेल नियन्त्रण, पारदर्शिता र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्दै प्रविधि, सुशासन र जोखिम व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्नु पर्नेमा जानकारहरुले जोड दिएका छन्।