तिहारमा ६४ करोडको झिलिमिली बत्ती भित्रिँदा १९०० मेगावाट पुग्दै विद्युत्‌को ‘पिक डिमान्ड’ : भारततर्फको ५५० मेगावाट निर्यात पनि नरोकिने

Nov 08, 2026 06:58 PM Merolagani



सुवास निरौला
उज्यालो र उमङ्गको पर्व तिहार नजिकिएसँगै नेपाली बजार र घरआँगन झिलिमिली बत्तीले सजिन थालेका छन्। धनधान्यकी देवी लक्ष्मीको पूजा गरिने लक्ष्मीपूजाको साँझ घर-घरमा बालिने कृत्रिम विद्युतीय बत्तीका कारण राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्‌को माग वर्षकै उच्च विन्दु (पिक डिमान्ड) मा पुग्ने गर्छ।

यस वर्षको तिहारलाई लक्षित गरी चीन र भारतबाट ६४ करोड रुपैयाँभन्दा बढीको झिलिमिली बत्ती आयात भएको छ। यस्ता बत्तीको व्यापक प्रयोगले लक्ष्मीपूजाको साँझ आन्तरिक विद्युत् माग बढेर अधिकतम १ हजार ९०० मेगावाट सम्म पुग्ने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको छ। यद्यपि, आन्तरिक उत्पादन पर्याप्त भएका कारण भारततर्फ भइरहेको करिब ५५० मेगावाट विद्युत् निर्यातमा समेत कुनै कटौती नगरी देशभित्र निर्बाध विद्युत् आपूर्ति गर्न प्राधिकरण सक्षम देखिएको छ।

आयात परिमाण घट्यो, मूल्य भने २० प्रतिशतसम्म महँगो

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। यस अवधिमा कुल २८ लाख ५९ हजार थान विभिन्न प्रकारका एलइडी तथा सजावटी बत्तीहरू नेपाल भित्रिएका हुन्।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष बत्तीको आयात रकम करिब ८ प्रतिशतले बढेको छ। गत वर्ष ५९ करोड ६५ लाख रुपैयाँको बत्ती आयात भएको थियो। तर, आयात भएको परिमाणलाई हेर्ने हो भने यस वर्ष करिब २७ प्रतिशतले गिरावट आएको छ। गत वर्ष ३८ लाख ९२ हजार थान बत्ती आयात भएकोमा यस वर्ष संख्या घटेर २८ लाख ५९ हजारमा सीमित भएको हो।

नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार परिमाण घटे पनि मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमै भएको मूल्यवृद्धि, डलरको भाउ र ढुवानी खर्चको चाप हो। “कच्चा पदार्थको मूल्य, अमेरिकी डलरको विनिमय दर र ढुवानी खर्च निकै बढेको छ। जसका कारण यसपालि बजारमा झिलिमिली बत्तीको खुद्रा मूल्य गत वर्षको तुलनामा १५ देखि २० प्रतिशतसम्म महँगो भएको छ,” पौडेलले भने।

पौडेलका अनुसार विद्युतीय सामग्रीमा प्रयोग हुने तामाको तार र प्लास्टिकको बाहिरी आवरणको मूल्य चीनमै बढेको छ। यसका साथै ढुवानी भाडा अस्वाभाविक रूपमा बढेको छ। अघिल्लो वर्ष एउटा कन्टेनरको ढुवानी खर्च २ हजारदेखि २ हजार २०० अमेरिकी डलर रहेकोमा अहिले ६ हजार डलर तिर्दासमेत कन्टेनर पाउन मुस्किल छ।

त्यसैगरी, नेपाल-चीन जोड्ने उत्तरी नाका केरुङ नियमित रूपमा सञ्चालन हुन नसक्दा व्यवसायीहरूले समुद्री मार्ग हुँदै भारतको कोलकाता वा विशाखापट्टनमबाट वीरगन्ज नाका घुमाएर सामान ल्याउनुपरेको छ। यसले गर्दा ढुवानी समय र लागत दुवै बढेको छ, जसको प्रत्यक्ष भार उपभोक्ताको भान्सा र बजार मूल्यमा परेको छ।

लक्ष्मीपूजाको साँझ १९०० मेगावाटसम्म पिक डिमान्ड

तिहारमा आयातित झिलिमिली बत्ती, उद्योगधन्दा र घरायसी उपकरणको प्रयोगले लक्ष्मीपूजाको दिन विद्युत् मागले नयाँ रेकर्ड बनाउने गर्छ। विगतका वर्षहरूको खपत प्रवृत्ति र पछिल्लो मागको विश्लेषण गर्दै नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको साँझ उच्च माग (पिक डिमान्ड) बढीमा १ हजार ९०० मेगावाट पुग्ने अनुमान गरेको छ।

प्राधिकरणका प्रवक्ता अच्युत बाबु घिमिरेले विगतको तथ्यांक र नियमित खपतलाई आधार मानेर प्रणालीको भार व्यवस्थापनको योजना बनाइएको बताए। “पोहोर-परारको डेटा र हालको लोडलाई हेर्दा यस वर्ष तिहारको पिक डिमान्ड अधिकतम १ हजार ९०० मेगावाटसम्म पुग्न सक्छ,” प्रवक्ता घिमिरेले भने, “हामीसँग यो माग सहजै धान्न सक्ने पर्याप्त आन्तरिक उत्पादन छ। ग्राहकहरूले ढुक्क भएर बत्ती बाल्दा हुन्छ, आपूर्तिमा कुनै समस्या हुँदैन।”

२९०० मेगावाट उत्पादन : भारततर्फको ५५० मेगावाट निर्यात पनि नरोकिने

कुनै समय तिहारको बेला लोडसेडिङ व्यवस्थापन गर्न भारतबाट थप बिजुली आयात गर्नुपर्ने वा औद्योगिक ग्राहकको लाइन काट्नुपर्ने अवस्था थियो। तर, अहिले परिस्थिति ठ्याक्कै उल्टिएको छ। प्रवक्ता घिमिरेका अनुसार हाल नेपालका जलविद्युत् आयोजनाहरूबाट पिक समयमा २ हजार ८०० देखि २ हजार ९०० मेगावाट सम्म बिजुली उत्पादन भइरहेको छ। यसले गर्दा लक्ष्मीपूजाको साँझ १९०० मेगावाट बिजुली घरेलु बजारमै खपत भए पनि प्राधिकरणसँग करिब ९०० देखि १ हजार मेगावाट बिजुली अतिरिक्त बचत रहनेछ।

यही कारण प्राधिकरणले भारततर्फ गर्दै आएको विद्युत् निर्यातसमेत तिहारको अवधिमा रोक्नु नपर्ने स्पष्ट पारेको छ। “अहिले हामीसँग भारततर्फ करिब ५५० मेगावाट विद्युत् निर्यात गर्ने पूर्ण स्वीकृति (एप्रुभल) छ। तिहारको उच्च मागको समयमा पनि यो ५५० मेगावाट निर्यात निरन्तर रहन्छ,” घिमिरेले स्पष्ट पारे, “आन्तरिक माग पूरा गरेर उब्रेको बिजुली मात्र निर्यात गरिने भएकाले यताको बिजुली काटेर उता पठाउनुपर्ने वा उताको रोकेर यता आपूर्ति गर्नुपर्ने कुनै बाध्यता छैन।”

'राइट अफ वे' सफाइदेखि सबस्टेसनसम्म चुस्त

माग र आपूर्तिमा सन्तुलन भए पनि स्थानीय स्तरमा ट्रान्सफर्मर जल्ने वा तार चुँडिएर बत्ती जाने प्राविधिक समस्या नआओस् भन्नका लागि प्राधिकरणले देशव्यापी मर्मतसम्भार अभियान चलाएको छ।

प्राधिकरणले प्रसारण तथा वितरण लाइनको सुरक्षाका लागि ‘राइट अफ वे’ (Right of Way) भित्र पर्ने रुखका हाँगाबिंगा कटिङ गर्ने, ओभरलोड भएका ट्रान्सफर्मर फेर्ने र जोखिमयुक्त स्थानहरू (Weak Points) पहिचान गरी मर्मतसम्भार सम्पन्न गरिसकेको छ। लक्ष्मीपूजाको दिन कुनै पनि क्षेत्रमा समस्या आएमा तत्कालै परिचालन हुने गरी प्राविधिक टोलीहरूलाई देशभर ‘स्ट्यान्डबाइ’ (तयारी अवस्था) मा राखिएको प्रवक्ता घिमिरेले जानकारी दिए।

महँगो बत्तीको भार, तर ऊर्जामा गर्विलो आत्मनिर्भरता

तिहारको यो अर्थतन्त्रले दुईवटा फरक पाटो देखाएको छ। एकातिर, अन्तर्राष्ट्रिय ढुवानी भाडा, सीमा नाकाको अवरोध र अमेरिकी डलरको मजबुतीका कारण आम उपभोक्ताले यस वर्ष चिनियाँ झिलिमिली बत्तीका लागि २० प्रतिशतसम्म बढी मूल्य चुकाउनुपरिरहेको छ।

तर, अर्कोतिर, राष्ट्रिय ऊर्जा अर्थतन्त्रको पाटो भने निकै गर्विलो बनेको छ। ६४ करोडका बत्ती बालेर देश नै झलमल्ल हुँदा पनि विद्युत्‌को माग धान्न नेपाल पूर्ण रूपमा आफ्नै नदीनालाबाट उत्पादित हरित ऊर्जामा निर्भर छ। घरेलु मागलाई निर्बाध धानेर पनि छिमेकी भारतलाई ५५० मेगावाट बिजुली बेच्न सक्ने प्राधिकरणको यो सामर्थ्यले लोडसेडिङको अँध्यारो इतिहासलाई चिर्दै नेपाल ऊर्जा निर्यातको नयाँ युगतर्फ दृढतापूर्वक अघि बढेको सन्देश दिएको छ।