धनतेरसमा आज ४० देखि ५० किलो सुन बिक्री हुने प्रक्षेपण, भाउ घट्दा बजारमा भीड, माग धान्न आपूर्तिमा सकस

Nov 06, 2026 01:50 PM Merolagani



 

  • राष्ट्र बैंकको टक्सारमा सुनका असर्फी सकिए, चाँदीको सिक्कामा आकर्षण

  • आज स्थानीय बजारमा सुन प्रतितोला ५ हजार ९०० ले घट्यो, चाँदी पनि सस्तियो

 

 

  • दिनभरिमा ४० देखि ५० किलो सुन बिक्री हुने व्यवसायीको प्रक्षेपण

  • माग न्यून हुँदा बैंकहरूले आयात घटाएको बैंकर्स एसोसिएसनको दाबी

 

सुवास निरौला

कार्तिक कृष्ण पक्ष त्रयोदशी अर्थात् आज धनतेरस। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) को औपचारिक सुरुआतसँगै आज देशभर धनका देवता कुबेर र धनकी देवी माता लक्ष्मीको आराधना गरी धनतेरस पर्व श्रद्धा र उत्साहका साथ मनाइँदैछ। धनतेरसको मुख्य आकर्षण नै धातु, त्यसमा पनि विशेषगरी सुन र चाँदीका सिक्का, मूर्ति तथा भाँडाकुँडा खरिद गर्नु हो।

नेपाली परम्परामा धनतेरसको दिन गरिएको लगानी वा खरिदलाई केवल भौतिक सम्पत्ति जोड्ने माध्यमका रूपमा मात्र हेरिँदैन। बाल्यकालदेखि नै खुत्रुक्के वा थैलीमा थोरै–थोरै पैसा बचत गर्ने संस्कार यही दिनसँग गाँसिएको छ। वर्षभरि बचत गरिएको सानो पूँजीले परिवारका लागि सुनचाँदीका गहना वा देवी–देवताका मूर्ति किन्दा त्यसले परिवारमा सुख, समृद्धि र आत्मसन्तुष्टि सञ्चार गर्छ। यस्तो बचतले नागरिकलाई फजुल खर्चबाट जोगाएर धर्म, संस्कृति र सत्कर्मतर्फ प्रेरित गर्दछ।

धनतेरसका अवसरमा सुनचाँदी खरिद गर्नुको पछाडि धार्मिक तथा पौराणिक मान्यता पनि छ। पौराणिक कथाअनुसार, राजा हिमाका छोराको विवाहको चौथो दिन सर्पको डसाइबाट मृत्यु हुने भविष्यवाणी गरिएको थियो। तर, राजकुमारीले बुद्धिमत्तापूर्वक कोठाको ढोकामा अनगिन्ती सुनचाँदीका गहना, सिक्का र दियोहरूको लहर बालेर चम्किलो बनाइदिएपछि सर्पको भेषमा आएका यमराजको आँखा तिर्मिराएर उनी भित्र प्रवेश गर्न सकेनन् र राजकुमारको जीवन रक्षा भयो। त्यसै बेलादेखि धनतेरसमा बहुमूल्य धातु किन्दा दुष्ट आत्मा तथा नकारात्मक शक्तिबाट रक्षा हुने र परिवारमा आरोग्यता एवं ऐश्वर्य प्राप्त हुने जनविश्वास रहिआएको छ।

यसै मान्यताका कारण आज बिहानैदेखि देशभरका सुनचाँदी पसल तथा टक्सार केन्द्रहरूमा उपभोक्ताहरूको उल्लेख्य भीड लागेको छ।

उपभोक्तालाई मूल्यमा राहत : एकैदिन सुन ५,९०० ले घट्यो

धनतेरसको किनमेलकै दिन आज स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। जसले उपभोक्तालाई केही राहत दिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले घटेर रु दुई लाख ८३ हजार कायम भएको छ। हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० मा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला रु ११० ले घटेर रु तीन हजार ८१० कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला रु तीन हजार ९२० थियो। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण धनतेरसकै दिन मूल्य घट्दा खरिदकर्ताहरू उत्साहित देखिएका छन्।

राष्ट्र बैंकको टक्सारमा सुनको असर्फी सकियो

धनतेरसमा सुन र चाँदीका सिक्का किन्न सरकारी निकाय नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा उपभोक्ताको घुइँचो लाग्ने गर्छ। तर, यस वर्ष माग अत्यधिक भएपछि राष्ट्र बैंकको सुनको असर्फीको स्टक सकिएको छ। बुधबार र बिहीबार सुनको असर्फी बिक्री गरेको टक्सार महाशाखाले मौज्दात सकिएपछि आजका लागि चाँदीको सिक्काको मात्रै मूल्य निर्धारण गरेको छ। महाशाखाका अनुसार आज १० ग्रामको चाँदीको सिक्काको मूल्य तीन हजार सात सय रुपैयाँ तोकिएको छ। सुनको असर्फी पाउन छाडेपछि उपभोक्ताहरू निजी व्यवसायीका पसल र चाँदीका सिक्कातर्फ आकर्षित भएका छन्।

बजारको चहलपहल र बिक्री प्रक्षेपण : अध्यक्ष रसाइलीको भनाइ

धनतेरसको अवसरमा सुनचाँदीको वास्तविक माग, आपूर्ति र बजार अवस्थाबारे नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले बजारमा उपभोक्ताको भीडभाड उत्साहजनक रहेको बताएका छन्। “बजारमा भीडभाड निकै राम्रो देखिएको छ। मानिसहरू सुनभन्दा पनि चाँदीका सिक्का र भाँडाकुँडातर्फ बढी आकर्षित भएको पाइएको छ,” अध्यक्ष रसाइलीले भने, “माग उच्च भए पनि बैंकहरूले समयमै पर्याप्त सुन ल्याइदिएनन्। २५/२५ किलो गरेर र हिजो एउटा बैंकले ११ किलो गरेर ल्याए पनि बजारको तुलनामा १०० किलो पनि सुन आपूर्ति हुन सकेन। बैंकहरूले समयमै सुन नल्याउँदा व्यवसायीलाई केही असहजता भने भएको छ।”

अध्यक्ष रसाइलीका अनुसार आज दिनभरिमा करिब ४० देखि ५० किलो सुनको कारोबार हुने अनुमान छ। “पोहोर साल पनि धनतेरसको दिन करिब ४५ किलोको हाराहारीमा कारोबार भएको थियो। आज बजारको चाप र उपभोक्ताको माग हेर्दा ४० देखि ५० किलो सुन बिक्री हुने देखिन्छ,” उनले भने।

राष्ट्र बैंकका सिक्का र निजी व्यवसायीले बेच्ने सिक्काको भिन्नताबारे स्पष्ट पार्दै उनले थपे, “धातुको शुद्धता दुवैमा एउटै हो। राष्ट्र बैंकले देशको मुद्रा र छाप अंकित गरेर निकाल्छ भने हामी व्यवसायीले लक्ष्मी–गणेश आदिको प्रतिमा राखेर बनाउँछौँ। राष्ट्र बैंकले आफ्नै कोइनमा ७–८ प्रतिशतसम्म प्रिमियम जोडेर बेच्ने हुँदा व्यवसायीले त्यहाँबाट किनेर पुन: नाफा राखेर बेच्न सक्ने अवस्था हुँदैन। त्यसैले सर्वसाधारणले स्थानीय व्यवसायीबाटै सिक्का खरिद गर्नु व्यावहारिक रूपमा पनि सहज मान्छन्।”

बैंकबाट किन कम आयो सुन ? यस्तो छ बैंकरहरूको तर्क

व्यवसायीहरूले बैंकहरूले पर्याप्त सुन आपूर्ति नगरेको गुनासो गरिरहँदा नेपाल बैंकर्स एसोसिएसनकी एक अधिकारीले भने समग्र बजार माग नै कमजोर रहेकाले बैंकहरूले सावधानीपूर्वक थोरै परिमाणमा मात्र सुन आयात गरेको स्पष्ट पारेकी छन्।

एसोसिएसनकी अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म जम्मा १४० किलो मात्र सुन आयात भएको छ। जब कि गत आर्थिक वर्षभरिमा कुल १४०३ किलो सुन आयात भएको थियो। दसैँ तथा तिहारको सिजनलाई लक्षित गरी भएको आपूर्तिको विवरण दिँदै ती अधिकारीले भनिन्, “पछिल्लो समय अर्थात् असोजदेखि हालसम्म करिब १०१ किलो सुन आयात भएको छ। कात्तिक महिनामा मात्रै करिब ५० किलो सुन भित्रिएको हो। यसमध्ये ११ किलो असोजकै कोटा बाँकी रहेर कात्तिकमा ल्याइएको थियो।”

बैंकहरूले चाडपर्वमा पनि कम सुन आयात गर्नुको मुख्य कारण खुलाउँदै उनले भनिन्, “विगतका वर्षहरूमा मासिक २०० किलोसम्म पनि सुन आयात हुने गर्दथ्यो। तर पछिल्लो एक–दुई वर्षयता समग्र बजारमै माग न्यून छ। बजारबाट सुन उठ्ने निश्चित नभएपछि बैंकहरूले जोखिम मोलेर धेरै सुन आयात गर्दैनन्। बैंकहरूले सुन नल्याएका होइनन्, बजारको माग नभएका कारण नै आयात घटेको हो।”

उपभोग्य परम्परा र आर्थिक यथार्थको सन्तुलन

धनतेरस केवल गरगहना प्रदर्शन गर्ने चाड होइन, यो भविष्यका लागि गरिएको सुरक्षित बचत (हेजिङ) पनि हो। बहुमूल्य धातुको पुनः बिक्री मूल्य सधैँ सुरक्षित हुने मान्यताले गर्दा सहरदेखि गाउँसम्मका नागरिक आजको दिन आफ्नो क्षमताअनुसार केही न केही धातु जोड्न लालायित हुन्छन्।

यद्यपि, उच्च मूल्यवृद्धि र सर्वसाधारणको क्रयशक्तिमा आएको संकुचनका कारण सुनको तुलनामा चाँदीका सिक्का र साना भाँडाकुँडाको माग यस वर्ष अत्यधिक बढेको देखिन्छ। एकातिर बैंकहरूले माग नभएको भन्दै आयात खुम्च्याउनु र अर्कोतिर धनतेरसमा व्यवसायीले सुन अभावको गुनासो गर्नुले कर प्रशासन, बैंकिङ प्रणाली र सुनचाँदी बजारबीच अझै प्रभावकारी समन्वयको खाँचो रहेको प्रस्ट पार्छ। तर पनि, सबै खाले आर्थिक उतारचढावका बीच नेपाली समाजमा धनतेरसको सांस्कृतिक चमक र सुनचाँदीको सौन्दर्य भने आज उत्तिकै चुलिएको छ।