नेपाल सरकारको गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेप्सेको सीईओमा नियुक्त हुनुभएका सुवेदीले आज नेप्से सञ्चालक समिति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको हो ।
पदबहालीपश्चात् नेप्सेका कर्मचारीहरूसँग आयोजित संक्षिप्त परिचयात्मक कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीले मुलुकको आवश्यकताअनुसार पूँजी बजारको विकास तथा विस्तारमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । उहाँले नेपाल सरकार, नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन), लगानीकर्ता तथा कारोबार सदस्य (ब्रोकर) लगायतका सम्पूर्ण सरोकारवाला पक्षहरूसँग सहकार्य र कार्यशील सम्बन्ध बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लगानीकर्ता, स्टक एक्सचेन्ज तथा कर्मचारीहरूको साझा हित प्रवर्द्धन गर्न प्रचलित कानुन तथा नियमहरूको पूर्ण परिपालना गरिने उहाँको भनाइ थियो । त्यसैगरी, संस्थागत सुशासन कायम राख्ने, नेप्सेको प्राविधिक पूर्वाधारमा समयानुकूल सुधार गर्ने र जनशक्ति व्यवस्थापनलाई चुस्त बनाउने विषयलाई आफूले उच्च प्राथमिकतामा राख्ने सुवेदीले उल्लेख गर्नुभयो ।
को हुन् नवनियुक्त सीईओ सुवेदी ?
पर्वतको कुश्माका स्थायी बासिन्दा सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । अध्ययन, अध्यापन तथा प्रशिक्षण क्षेत्रमा विशेष रुचि राख्नुहुने उहाँसँग वित्तीय क्षेत्रमा तीन दशक (३० वर्ष) लामो कार्यानुभव छ ।
सुवेदीले यसअघि केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक), कर्मचारी सञ्चय कोष तथा कृषि विकास बैंकमा विभिन्न जिम्मेवारीमा रहेर लामो समय सेवा गरिसक्नुभएको छ । यसका साथै उहाँले नेको इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र साना किसान विकास बैंक लिमिटेडमा सञ्चालकको भूमिका निर्वाह गरिसक्नुभएको छ भने कोष व्यवस्थापन कम्पनी लिमिटेडमा सञ्चालक समितिको अध्यक्षका रूपमा समेत कार्य गरिसक्नुभएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।