अनलाइन सेवामा आएका अवरोधसम्बन्धी प्रयोगकर्ताका रिपोर्ट दर्ता गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार, करिब चार हजार ५०० जनाले जेपी मोर्गन चेजको अनलाइन बैंकिङ सेवामा समस्या आएको जनाएका छन् ।
बीबीसीलाई प्राप्त जानकारीअनुसार चेज बैंकमा प्राविधिक गडबडी आएको थियो र यो मामिला कुनै आक्रमण वा साइबर सुरक्षासँग जोडिएको देखिँदैन ।
चेजले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा बैंकको आफ्नै हार्डवेयर सिस्टममा सफ्टवेयरको गडबडीका कारण कामकाज अस्थायी रूपमा प्रभावित भएको जनाइएको छ । “यो अवरोध कुनै साइबर आक्रमणसँग जोडिएको भन्ने कुनै प्रमाण छैन,” बैंकले भनेको छ, “केही ग्राहकका अनुरोधमा काम गर्न सामान्यभन्दा बढी समय लागिरहेको छ ।”
चेजले अरू बैंकहरूसँग जोडिएका कारोबारमा ती बैंकमा पनि असर परेको हुन सक्ने जनाएको छ । यद्यपि, यो सम्पूर्ण बैंकिङ नेटवर्कमा फैलिएको समस्या नभएको उसले स्पष्ट पारेको छ ।
क्यापिटल वन, पीएनसीलगायत अरू केही बैंकले भने आफ्ना बैंकिङ प्रणाली प्रभावित नभएको बताएका छन् ।
चेजले ग्राहकले अझै पनि आ–आफ्ना खाता र पैसासम्म पहुँच पाउन सक्ने र समस्या समाधानका निम्ति काम भइरहेको जनाएको छ ।