भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउन–कात्तिक) को तथ्याङ्कअनुसार फलफूल, तरकारी र खाद्यान्न आयातमा मात्रै मुलुकको ३७ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी पूँजी बाहिरिएको छ।
विभागको विवरणअनुसार समीक्षा अवधिमा तरकारी तथा कन्दमूलजन्य वस्तु आयातमा १५ अर्ब ९३ करोड रुपैयाँ र फलफूल तथा बदामजन्य वस्तु आयातमा १२ अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ। त्यस्तै, प्रमुख खाद्यान्न (अन्न) आयातमा मात्रै ९ अर्ब ७७ करोड रुपैयाँ बाहिरिएको छ। यसले आधारभूत कृषि उपजको आन्तरिक माग धान्न स्वदेशी उत्पादन पर्याप्त नभएको र विदेशी बजारमाथिको निर्भरता उच्च रहेको देखाएको छ।
खाद्यान्नमा बासमती चामल, गहुँ र धानको हिस्सा ठूलो
खाद्यान्न अन्तर्गतका वस्तुहरूको आयातमा चामल र गहुँको वर्चस्व देखिएको छ। चार महिनाको अवधिमा ५३ हजार ४७० टन गहुँ आयात गर्दा २ अर्ब ३६ करोड २७ लाख रुपैयाँ (२३६.२७ करोड) बाहिरिएको छ। यसैगरी, सो अवधिमा १८ हजार ९९ टन बासमती चामल आयात गर्दा २ अर्ब ४५ करोड ८५ लाख रुपैयाँ खर्च भएको छ। अन्य साधारण चामल २६ हजार ५७६ टन आयात गर्न १ अर्ब ८९ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ भने २२ हजार ९०३ टन धान आयातमा १ अर्ब ३ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ। समग्रमा धान र चामलको आयात जोड्दा मात्रै ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
चालु आव २०८३/८४ को पहिलो चार महिनामा खाद्यान्न आयातको अवस्था :

(स्रोत : भन्सार विभाग । नोट: मकैको बीउलाई औद्योगिक तथा बीउ प्रयोजनबाट अलग राखी उपभोग्य खाद्यान्नमा मात्र गणना गरिएको छ।)
तरकारीतर्फ आलु र प्याजमा मात्रै ७ अर्बभन्दा बढी खर्च
दैनिक उपभोग्य तरकारीतर्फ सबैभन्दा ठूलो हिस्सा आलु र प्याजले ओगटेको छ। चार महिनामा १ लाख ७९ हजार ४४२ टन आलु आयात गर्दा ४ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ।
त्यस्तै, प्याज तथा छ्यापी आयातमा २ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ बाहिरिएको छ। प्रोटिनको मुख्य स्रोत मानिने दाल तथा गेडागुडीतर्फ रातो मसुरो दाल आयातमा २ अर्ब २ करोड ९ लाख, सुक्खा सिमीमा १ अर्ब ८० करोड ५१ लाख र चना आयातमा १ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ। लसुनको आयातसमेत उल्लेख्य रहेको तथ्याङ्कले देखाएको छ।
फलफूलमा स्याउको आयात सबैभन्दा अगाडि
फलफूल समूहमा स्याउको आयात सर्वाधिक देखिएको छ। समीक्षा अवधिमा ३५ हजार ५३१ टन ताजा स्याउ आयात गर्दा ४ अर्ब ४४ करोड ६७ लाख रुपैयाँ बाहिरिएको छ।
यसबाहेक ओखर आयातमा १ अर्ब १५ करोड ७८ लाख, सुपारीमा ९० करोड ३४ लाख र अनार आयातमा ६९ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तै, काजु आयातमा ६४ करोड १५ लाख र बदाम आयातमा ५३ करोड ६७ लाख रुपैयाँ बाहिरिएको छ।
कृषिप्रधान मुलुकमा धान, गहुँ, आलु र प्याजजस्ता आधारभूत वस्तुहरूकै आयातमा चार महिनामै खर्बौं रुपैयाँ बाहिरिनुले कृषि आधुनिकीकरण र उत्पादन प्रोत्साहनका सरकारी नीतिहरू प्रभावकारी हुन नसकेको स्पष्ट संकेत गरेको छ। स्वदेशी उत्पादन र भण्डारण क्षमता नबढाउने हो भने भान्साका आधारभूत खाद्यान्नमा परनिर्भरता अझै बढ्ने जोखिम देखिन्छ।