चिनियाँ पक्षले डीपीआर तयार गर्ने प्रतिबद्धता जनाएको पटकपटकको समयसीमा गुज्रिए पनि प्रतिवेदन तयार भएको जानकारी नेपाल पक्षले पाउन सकेको छैन । यसअघि २०७९ फागुनमा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली आयोजना स्थलमा आएको थियो । उक्त टोलीले दुई महिनाभित्र डीपीआर तयार गर्ने प्रतिबद्धता जनाएको थियो । तर, त्यसपछि पनि आयोजनाले गति लिन सकेन ।
त्यसपछि चिनियाँ पक्षले पुनः अध्ययन गर्ने भन्दै समय लियो । सन् २०२५ जुलाई ६ मा चिनियाँ प्राविधिक टोली नेपाल आएर चक्रपथको फिल्ड सर्भे गरेको थियो । उक्त टोलीले तीन महिनाभित्र डीपीआर तयार गर्ने प्रतिबद्धता जनाएको थियो । तर, तोकिएको समयसीमा बितेको लामो समय भइसक्दा पनि डीपीआर तयार भएको वा नभएको विषयमा आधिकारिक जानकारी आएको छैन ।
सडक विभागका अधिकारीहरूका अनुसार चिनियाँ पक्षले डीपीआर तयार गरेर छिट्टै निर्माण अघि बढाउने बताउँदै आएको छ । तर, आयोजना कहिलेदेखि सुरु हुन्छ भन्ने यकिन मिति भने तय हुन सकेको छैन । ‘चक्रपथ विस्तार सुरु गर्ने भनेर चिनियाँ पक्षले भनेको हो । डीपीआर बनाएर छिट्टै अघि बढाउने विषयमा कुरा भएको हो,’ विभागका एक अधिकारीले भने, ‘तर, कहिलेदेखि सुरु हुन्छ भन्ने एकिन भन्न सकिने अवस्था छैन ।’
डिजाइनमै पटकपटक फेरबदल
आयोजना अघि बढ्न नसक्नुमा डिजाइनसम्बन्धी अन्योल पनि प्रमुख कारण बनेको छ । सुरुमा चिनियाँ पक्षले चक्रपथमा कहाँ ओभरहेड पुल राख्ने, कहाँ कल्भर्ट तथा पुल निर्माण गर्ने भन्ने विषयमा स्पष्ट निर्णय गर्न सकेको थिएन । चक्रपथको विभिन्न तीन स्थानमा ओभरहेड पुल निर्माण गर्ने गरी प्रारम्भिक डिजाइनसमेत तयार भएको थियो ।
त्यसबाहेक स्वयम्भू मन्दिरको पुरातात्त्विक सम्पदालाई संरक्षण गर्दै सडक विस्तार कसरी गर्ने भन्ने विषयमा पनि छलफल र विवाद भएको थियो । सडक विभागका अनुसार चिनियाँ पक्षले पुनः अध्ययन गरेर डिजाइन परिवर्तन गर्न खोज्दा आयोजना थप ढिलाइमा परेको हो ।
कलंकीदेखि बसुन्धारा चौकीसम्म मात्रै विस्तार गर्न चाहन्छ चीन
दोस्रो चरणको चक्रपथ विस्तारको रेखांकन कलंकीदेखि चाबहिलस्थित धोबीखोलासम्म भए पनि अहिले चिनियाँ पक्षले कलंकीदेखि बसुन्धारा चौकीसम्मको खण्ड मात्रै विस्तार गर्न इच्छा देखाएको छ । महाराजगञ्जस्थित नारायणगोपाल चोकदेखि धोबीखोलातर्फको खण्डमा भौतिक संरचना हटाउनुपर्ने भएकाले उक्त क्षेत्रमा समस्या देखिएको हो ।

नारायणगोपाल चोकमा सडक विस्तारका लागि करिब दुई मिटरभित्र पर्ने मानव निर्मित घर तथा भवन भत्काउनुपर्ने अवस्था छ । स्थानीयको असहमतिका कारण उक्त खण्डमा साइट क्लियरेन्स हुन सकेको छैन । यही समस्यालाई देखाउँदै चिनियाँ पक्षले विवादरहित कलंकी–बसुन्धारा चौकी खण्डमा मात्रै काम अघि बढाउन चाहेको हो ।
कलंकीदेखि बसुन्धारा चौकीसम्मको खण्डमा भने सडक विस्तारका लागि आवश्यक पर्ने विद्युतका पोल, खानेपानीका पाइप, इन्टरनेटका तारलगायतका संरचना हटिसकेका छन् । सडक विभागले दुवैतर्फ सर्भिस लेन निर्माणको कामसमेत अघि बढाइसकेको छ । त्यसैले चिनियाँ पक्षले तत्काल काम गर्न सकिने उक्त खण्डलाई प्राथमिकतामा राखेको देखिन्छ ।
६ अर्ब रुपैयाँ लागत अनुमान, सबै जिम्मा चीनकै
करिब ९ किलोमिटर लामो कलंकी–बसुन्धारा खण्ड विस्तार गर्न प्रारम्भिक अध्ययनका आधारमा ६ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । उक्त आयोजना चीन सरकारको अनुदान सहयोगमा निर्माण गर्ने प्रस्ताव छ ।
आयोजनाको डीपीआर तयार गर्ने, ठेकेदार छनोट गर्ने, सुपरभिजन गर्ने तथा निर्माण सामग्रीको व्यवस्थापन गर्नेसम्मको जिम्मेवारी चिनियाँ पक्षकै हुने व्यवस्था छ । यसअघि पहिलो चरणमा चीनले कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
पहिलो चरणको विस्तारका क्रममा चीनले विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्या भोग्नुपरेको थियो । दोस्रो चरणमा पनि त्यस्ता समस्या दोहोरिन नदिन चिनियाँ पक्षले डिजाइन र अध्ययनमा बढी समय लगाइरहेको बुझिएको छ । तर, समस्या समाधानका नाममा वर्षौंसम्म डीपीआरसमेत तयार नहुनुले आयोजनाको कार्यान्वयनमाथि नै प्रश्न उठाएको छ ।
नयाँ सरकार आए पनि देखिएन ठोस प्रगति
बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएको छ महिना बितिसक्दा पनि दोस्रो चरणको चक्रपथ विस्तारमा कुनै ठोस उपलब्धि देखिएको छैन । काठमाडौंको बढ्दो सवारी चाप व्यवस्थापन र सहरी यातायात सहज बनाउन महत्त्वपूर्ण मानिएको यो आयोजना अझै चिनियाँ पक्षको प्रतिबद्धतामै सीमित छ ।
नेपाल पक्षले आफ्नो जिम्मेवारीअन्तर्गतका पूर्वतयारीका काम सकेर लामो समयदेखि निर्माणको प्रतीक्षा गरिरहेको छ । तर, चिनियाँ पक्षले डीपीआर निर्माण र अध्ययनको नाममा समय थप्दै जाँदा आयोजना कार्यान्वयनको समयसीमा नै अनिश्चित बनेको छ । सरकारले पनि चिनियाँ पक्षले आयोजना निर्माण गरिदिने अपेक्षामा मात्रै भर पर्ने हो वा निर्माण प्रक्रिया अघि बढाउन ठोस कूटनीतिक तथा प्राविधिक पहल गर्ने हो भन्ने प्रश्न उठेको छ ।
करिब चार वर्षदेखि डीपीआरकै चरणमा अल्झिएको यो आयोजनाले काठमाडौंको यातायात व्यवस्थापनमा तत्काल राहत दिने सम्भावना देखिएको छैन । अब पनि स्पष्ट समयसीमा र कार्यान्वयनको सुनिश्चितता नगर्ने हो भने दोस्रो चरणको चक्रपथ विस्तार थप वर्षौंसम्म कागजमै सीमित हुने जोखिम छ ।