नेप्सेका सीईओलाई पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधीले भेटे, बजार सुधारका लागि ध्यानाकर्षण

Nov 27, 2026 12:40 PM Merolagani



नेपाल पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

भेटका क्रममा संघका प्रतिनिधीले नेपालको पूँजी बजारलाई पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री र लगानीकर्तामैत्री बनाउन आवश्यक सुधारका विषयमा ध्यानाकर्षण गराएका छन्। संघले बजारको विश्वसनीयता बढाउने, तरलता विस्तार गर्ने र लगानीकर्ताको विश्वास पुनःस्थापना गर्ने विषयलाई प्राथमिकता दिन आग्रह गरेको छ।

संघले नेप्से परिसूचक गणना प्रणालीलाई वास्तविक कारोबारयोग्य शेयरको अवस्थासमेत प्रतिबिम्बित हुने गरी सुधार गर्न सुझाव दिएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय स्तरको सुरक्षित कारोबार प्रणाली विकास गर्न र दोस्रो बजारमा लगानीकर्ताको सहज पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ।

बजारमा आधुनिक वित्तीय उपकरण भित्र्याउन, संस्थागत लगानीकर्ताको सहभागिता बढाउन तथा शेयर राफसाफ र भुक्तानी प्रणालीलाई छिटो र प्रभावकारी बनाउनुपर्ने संघको माग छ। साथै, बजारमा पारदर्शिता, सुशासन र लगानीकर्ता संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

नेप्सेको नयाँ नेतृत्वले प्रविधिगत आधुनिकीकरण, संस्थागत सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिमा काम गर्ने अपेक्षा गर्दै संघले बजार विकासका लागि नेप्से र नियामक निकायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।