नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा दुईदिने एक्स्पो आयोजना गर्न लागेको हो । ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ (Powering Nepal’s Next Economy) भन्ने नाराका साथ आयोजना हुने एक्स्पोमा यस वर्ष स्टार्टअप प्याभिलियन र दुईवटा विषयगत प्यानल छलफल थप गरिएका छन् ।
एक्स्पोमार्फत नेपाली प्रविधि कम्पनी, बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारलाई एउटै प्लेटफर्ममा जोड्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । साथै, विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी दिने उद्देश्य पनि राखिएको छ ।
नास–आईटीका अध्यक्ष विपिन चापागाईंले नेपाली सूचना प्रविधि क्षेत्रले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने ठूलो सम्भावना रहेको बताए । उनका अनुसार नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेका छन् । अब ती उत्पादनको बजार विस्तार, स्वदेशमै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
एक्स्पोको पहिलो दिन कूटनीतिक प्रतिनिधिहरूको सहभागितामा ‘नेपालदेखिकै विश्वसम्म’ विषयमा छलफल हुनेछ । दोस्रो दिन ‘नेपालको आन्तरिक प्रविधि बजार निर्माण’ विषयमा प्यानल छलफल आयोजना गरिनेछ । दुवै दिन सञ्चालन हुने पिच सत्रमा प्रविधि कम्पनी तथा स्टार्टअपहरूले आफ्ना उत्पादन, सेवा र समाधान प्रस्तुत गर्नेछन् ।

गत वर्ष आयोजना भएको पहिलो नास–आईटी एक्स्पोमा २ हजार ५०० भन्दा बढी आगन्तुक र ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी भएका थिए । पहिलो संस्करणको अनुभवलाई निरन्तरता दिँदै यस वर्षको एक्स्पोलाई थप प्रभावकारी तथा व्यावसायिक सहकार्यमा केन्द्रित बनाउने अपेक्षा आयोजकले गरेको छ ।
यस वर्षको एक्स्पोको शीर्ष प्रायोजक आकाशटेल रहेको छ । सिल्भर प्रायोजकमा अम्निल टेक्नोलोजिज, एक्वाना, ग्लोबल आइएमई बैंक र थर्ड पार्टनर एआई–ए प्रिसा कम्पनी रहेका छन् । त्यस्तै, डिस्कभरी इन्टरनेट साझेदारका रूपमा जोडिएको छ भने किङ्स कलेज, एआरसी र बिजक सहयोगी संस्थाका रूपमा रहेका छन् ।
एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई), सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधिलगायत क्षेत्रमा कार्यरत ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने आयोजकले जनाएको छ ।