केन्द्रीय बैंकलाई नोट छाप्न प्रतिबन्ध लगाउने विधेयक दुवै सदनबाट पारित

Nov 28, 2026 10:49 AM Merolagani



विश्वका कुनै पनि देशमा केन्द्रिय बैंकको मुख्य काम पैसा छाप्ने र वितरण गर्ने हो ।

तर, त्यही काम गर्न नपाए उसकाे भूमिका के होला र त्यहाँको समग्र अर्थतन्त्र कसरी चल्ला ? २६ नोभेम्बर अर्थात् विहिबार अर्जेण्टिनाको तल्लो सदनले केन्द्रिय बैंकलाई नोट छाप्न नदिने सम्वन्धि विधेयक ‘केन्द्रीय बैंकको चार्टर सुधारसम्बन्धी विधेयक (Reforma de la Carta Orgánica del Banco Central de la República Argentina)’ पास गरेपछि अहिले विश्वभर नै यो प्रश्न उठिरहेको छ । यसअघि गत सेप्टेम्बरमा संसदको माथिल्लो सदनले यो विधेयक पारित गरिसकेको छ ।

कतिपयलाई लाग्न सक्छ, सरकारले पूर्णरुपमा डिजिटल करेन्सी लागू गर्ने भएकोले त्यस्तो निर्णय भएको हो कि ? त्यस्तो होइन, अर्थतन्त्र डामाडाेल हुँदै गएपछि त्यसलाई रोक्ने प्रयासस्वरुप संसदले यो कदम चालेको हो । लामो समयदेखिको मुद्रास्फीति र आर्थिक अस्थिरता नियन्त्रण गर्न मौद्रिक अनुशासन कडा बनाउने यो निर्णयलाई विश्व आर्थिक वृत्तमा चासोका साथ हेरिएको छ।

विहिबार तल्लो सदन चेम्बर अफ डेपुटिजमा भएको मतदानमा नोट छाप्न प्रतिवन्ध लगाउने पक्षमा १४१ मत,  विपक्षमा शून्य मत  परेको थियो भने १९ जना सांसद तठस्थ बसेका थिए ।

यसअघि सेप्टेम्बर २४ मा माथिल्लो सदनले पारित गरेको थियो।

यसमा प्रतिबन्धको म्याद तोकिएको छैन।

अर्थात् यो अनिश्चितकालसम्म लागू रहने कानुनी व्यवस्था हो। तर अनिश्चितकालसम्म लागू रहनु र कहिल्यै परिवर्तन गर्न नसकिनु एउटै कुरा होइन। यसलाई भविष्यमा अर्जेन्टिनाको संसद्ले अर्को कानुन बनाएर संशोधन वा खारेज गर्न सक्छ।

राष्ट्रपति हाभियर मिलेईले अघि सारेको यो व्यवस्था उनको मुद्रास्फीति नियन्त्रण अभियानको प्रमुख हिस्सा हो। नयाँ व्यवस्थाले अर्जेन्टिनाको केन्द्रीय बैंक (BCRA) को प्रमुख उद्देश्य पेसेटाको मूल्य जोगाउनु बनाएको छ। यसअघि रोजगारी र आर्थिक विकासलाई समेत केन्द्रीय बैंकका उद्देश्यमा समेटिएको थियो।

अर्जेन्टिनाले यस्तो कठोर निर्णय किन गर्‍यो ?

अर्जेन्टिनाले दशकौँसम्म सरकारको आम्दानीभन्दा खर्च बढी हुँदा केन्द्रीय बैंकलाई पैसा सिर्जना गर्न लगाएर घाटा पूर्ति गर्ने अभ्यास गर्‍यो। सरकारलाई तत्काल पैसा उपलब्ध भए पनि बजारमा मुद्राको आपूर्ति बढ्दै गयो। उत्पादन र वस्तुको आपूर्ति सोही अनुपातमा नबढ्दा मूल्यवृद्धि नियन्त्रणबाहिर पुग्यो।

सन् १९८० को दशकको अन्त्यमा अर्जेन्टिना गम्भीर मुद्रास्फीतिको संकटमा फस्यो। सन् १९८९ मा वार्षिक मुद्रास्फीति चार अङ्कमा पुग्ने अवस्था बन्यो। पछि सन् २०२३ मा राष्ट्रपति निर्वाचित भएका मिलेईले यही समस्यालाई आफ्नो राजनीतिक अभियानको केन्द्र बनाए।

उनको सरकारले खर्च कटौती गरेर बजेट बचतमा पुर्‍याएको छ। सन् २०२४ को सुरुमा झन्डै ३०० प्रतिशत पुगेको वार्षिक मुद्रास्फीति सन् २०२६ को अक्टोबरमा ३३ प्रतिशतमा झरेको समाचार छ।

तर यसको अर्को पाटो पनि छ। अर्थतन्त्र लगातार दुई त्रैमासिक संकुचनमा गएको प्रारम्भिक तथ्यांकले मन्दीको जोखिम देखाएको छ। उद्योग, निर्माण र खुद्रा व्यापारमा दबाब छ।

यो विधेयक कहिलेदेखि लागू हुन्छ?

अर्जेन्टिनाको कानुनी प्रक्रियाअनुसार सामान्यतः तीन चरण पूरा हुनुपर्छ। 

संसद्बाट पारित

संसदका दुवै सदनले यो विधेयक पारित गरिसकेका छन् ।

राष्ट्रपतिबाट प्रमाणीकरण र कानुनको घोषणा

पारित विधेयक कार्यकारी निकाय अर्थात् राष्ट्रपतिकहाँ जान्छ। राष्ट्रपतिले प्रमाणीकरण गरी कानुनका रूपमा घोषणा गर्नुपर्छ।

सरकारी राजपत्रमा प्रकाशन र कार्यान्वयन

राजपत्रमा प्रकाशन भएपछि कानुनमा तोकिएको मितिदेखि लागू हुन्छ। यदि कानुनले छुट्टै मिति तोकेको छैन भने अर्जेन्टिनाको नागरिक तथा वाणिज्य संहिताको धारा ५ अनुसार आधिकारिक प्रकाशनको आठौँ दिनपछि लागू हुन्छ।