प्रस्तावित नयाँ व्यवस्थाअनुसार चीन, युरोपेली संघ (ईयू), जापान, दक्षिण कोरिया र ताइवानसहित १४ भन्दा बढी देश तथा क्षेत्रहरू प्रभावित हुने भएका छन्।
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पद्वारा यसअघि घोषित विशेष महसुललाई गैरकानूनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चदेखि अन्य देशहरूको व्यापारिक अभ्यासमाथि अनुसन्धान सुरु गरेको थियो। सोही अनुसन्धानका आधारमा अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) ले यो नयाँ प्रस्ताव सार्वजनिक गरेको हो।
कुन देशलाई कति महसुल ?
प्रस्तावअनुसार सबैभन्दा बढी मार चीनलाई पर्ने देखिएको छ। चीनबाट हुने आयातमा अधिकतम ४० प्रतिशतसम्म भन्सार महसुल प्रस्ताव गरिएको छ। त्यसैगरी, भियतनाममाथि ३५ प्रतिशत र अन्य देशहरूमाथि २० देखि २५ प्रतिशतसम्म महसुल लगाउने तयारी छ।
यो नयाँ कर नीतिले चीन, ईयू, सिंगापुर, स्विट्जरल्याण्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्याण्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारतलाई प्रत्यक्ष प्रभाव पार्नेछ। यस्तै, छुट्टै अनुसन्धानका आधारमा ब्राजिलबाट आयात हुने विमान तथा चिनीलगायतका वस्तुमा १० प्रतिशत महसुल प्रस्ताव गरिएको छ।
यद्यपि, यो प्रस्तावित महसुल तत्काल लागू हुने छैन। आगामी वर्ष कार्यान्वयनमा लैजानुअघि यसमा सार्वजनिक परामर्श र सुनुवाइको प्रक्रिया पूरा गरिनेछ।
‘अमेरिकी कामदारको हितमा निर्णय’
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले यो कदमले अमेरिकी श्रमिक तथा उद्योगहरूलाई समान अवसर प्रदान गर्ने दाबी गरेका छन्। उनका अनुसार अमेरिकाका धेरै व्यापारिक साझेदारहरूले दशकौंदेखि उत्पादन अनुदान, कम ज्याला र श्रम दमनजस्ता बजार विकृत गर्ने रणनीति अपनाएर अमेरिकाको उत्पादन क्षेत्रलाई कमजोर बनाएका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पनि व्यापार घाटा कम गर्न र स्वदेशी उत्पादन तथा रोजगारी प्रवर्द्धन गर्न भन्सार महसुललाई मुख्य हतियार बनाउँदै आएका छन्।
यसअघि आपत्कालीन राष्ट्रपतीय अधिकार प्रयोग गरेर लगाइएका करहरू अदालतले खारेज गरे पनि यसपटक भने यूएसटीआरको कानुनी अधिकार (धारा ३०१) अन्तर्गत अनुसन्धान गरेर निर्णय लिइएकाले यसको कानुनी आधार बलियो रहेको विज्ञहरूको भनाइ छ।
अर्थशास्त्रीहरूको चिन्ता र अन्तर्राष्ट्रिय आक्रोश
अर्थशास्त्रीहरूले भने उच्च भन्सार महसुलले अमेरिकी उपभोक्तामाथि मूल्यवृद्धि (मुद्रास्फीति) को भार थप्ने र विश्वव्यापी व्यापार प्रणालीलाई नै कमजोर बनाउने चेतावनी दिएका छन्।
अमेरिकी कदमप्रति प्रभावित देशहरूले तीव्र असन्तुष्टि जनाएका छन् :
-
चीन : चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नयाँ कर नीतिलाई "राजनीतिक हेरफेर" को संज्ञा दिँदै अमेरिकाले लगाएका आरोपहरू झूटो भएको बताएका छन्।
-
ब्राजिल : राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको कार्यालयले कडा आपत्ति जनाउँदै "ब्राजिल यस्ता कुनै पनि धम्कीसामु नझुक्ने" स्पष्ट पारेको छ।
-
युरोपेली संघ र जापान : ईयूले यो कदम अस्वीकार्य रहेको जनाउँदै अध्ययन गर्ने बताएको छ भने जापानले यसलाई "अत्यन्त खेदजनक" भनेको छ।
-
भियतनाम : भियतनामले नयाँ दर दुई देशबीचको वास्तविक द्विपक्षीय आर्थिक सम्बन्ध अनुकूल नभएको टिप्पणी गरेको छ।
विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच जारी व्यापार विवाद तथा प्रविधि प्रतिस्पर्धाका बीच यो घोषणा आएको हो। यसले विश्व बजारमा पुनः नयाँ व्यापार युद्ध (ट्रेड वार) को जोखिम बढाएको छ।