विश्वलाई नै चकित पार्दै भुटानले बनाइरहेको अनौठो शहर, वौद्ध धर्मको केन्द्रसहित आठ आर्थिक क्षेत्रमा विश्वकै नमुना बन्ने

Nov 25, 2026 06:10 AM Merolagani



कुनै देशमा नयाँ औद्योगिक सहर निर्माण गर्दा सामान्यतया लगानी सम्मेलन गरिन्छ, उद्योगपतिलाई बोलाइन्छ, सडक र विमानस्थलको शिलान्यास हुन्छ र आर्थिक सम्भावनाको प्रचार गरिन्छ।

तर हिमालयको सानो मुलुक भुटानले आफ्नो नयाँ आर्थिक सहरको पहिचान निर्माण गर्न भने एउटा तरिका अपनायो ।

उसले ४० हजारभन्दा बढी स्वयंसेवकलाई एकै ठाउँमा जम्मा गर्‍यो। उनीहरूले करिब १२ घण्टाको अवधिमा १०८ वटा विशाल बौद्ध स्तूपका बाहिरी संरचना तयार पारे। यो दृश्य हेर्न भुटानसहित विभिन्न देशबाट करिब दुई लाख मानिस पुगे। कार्यक्रममा बौद्ध धर्मगुरु, राजपरिवारका सदस्य, सर्वसाधारण र अन्तर्राष्ट्रिय पाहुनाहरू सहभागी भए।

यो कुनै सामान्य धार्मिक उत्सव थिएन। भुटानले निर्माण गर्न खोजिरहेको नयाँ आर्थिक सहर ‘गेलेफु माइन्डफुलनेस सिटी’ को पहिचान, दर्शन र भविष्यको आर्थिक रणनीतिलाई संसारसामु प्रस्तुत गर्ने एउटा ठूलो अवसर पनि थियो।

सन् २०२६ नोभेम्बर १ मा भएको यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भुटानको ऐतिहासिक धार्मिक तथा सामुदायिक सहभागिताको घटनाका रूपमा प्रस्तुत गरेका छन्। एसोसिएटेड प्रेस, एएफपी र अलजजिराका रिपोर्टअनुसार करिब ४० हजार स्वयंसेवकले १०८ स्तूपका बाहिरी संरचना उठाए भने करिब दुई लाख मानिस त्यसको साक्षी बने। 

१०८ स्तूपको कथा : १२ घण्टामा सम्पन्न भएको असाधारण सामूहिक अभियान

भुटानको गेलेफुमा नोभेम्बर १ मा सुरु भएको ‘प्रोजेक्ट १०८’ नाम दिइएको कार्यक्रम नोभेम्बर १ देखि ४ सम्म चार दिन सञ्चालन गरिएको थियो।

यसको मुख्य आकर्षण पहिलो दिन एकैसाथ १०८ वटा बौद्ध स्तूप उठाउनु थियो । प्रत्येक स्तूप करिब १५ मिटर अर्थात् ५० फिट अग्लो बनाइएको छ । माओ छू (माउ नदी) को किनारमा करिब ११.७ किलोमिटर लामो क्षेत्रमा ती स्तूपहरू निर्माण गरिएका छन्। एउटा स्तूप र अर्को स्तूपबीच १०८ मिटरको दूरी राखिएको छ।

कार्यक्रम बिहान ३ बजे सुरु भएको थियो। स्वयंसेवकहरूले विभिन्न १०८ स्थानमा एकै समयमा काम थाले। करिब १२ घण्टामा सबै संरचनाको बाहिरी निर्माण पूरा भयो।  यसलाई इन्जिनियरिङ, व्यवस्थापन र सामूहिक स्वयंसेवाको असाधारण उदाहरण मानिएको छ।

भुटानको राष्ट्रिय प्रसारण संस्था बीबीएसका अनुसार कार्यक्रम बिहानै राजपरिवार, प्रमुख धर्मगुरु र हजारौँ स्वयंसेवकको उपस्थितिमा सुरु भएको थियो। धार्मिक मन्त्र, परम्परागत लामो बाजा र बौद्ध विधिअनुसार स्तूप उठाउने कार्य अघि बढाइएको थियो।

यहाँ १०८ अंकको पनि विशेष धार्मिक अर्थ छ। बौद्ध परम्परामा १०८ लाई पवित्र संख्या मानिन्छ। बुद्धत्व, आध्यात्मिक अभ्यास र धार्मिक साधनासँग यसलाई जोडिन्छ। त्यसैले यी स्तूपहरू केवल सजावटी स्मारक होइनन्।

प्रत्येक स्तूपभित्र प्रार्थना, आशीर्वाद, पवित्र ग्रन्थ र धार्मिक सामग्री राखेर बन्द गर्ने योजना छ। यसको धार्मिक प्रतिष्ठापन तथा अन्य प्रक्रिया पनि कार्यक्रमको पछिल्लो चरणसँग जोडिएको थियो। भुटानको यो आयोजनाले धार्मिक आस्था र सामूहिक श्रमलाई एउटै राष्ट्रिय अभियानमा रूपान्तरण गरेको छ। 

राजाले किन आर्थिक सहरको केन्द्रमा बौद्ध स्तूप राख्न चाहे ?

यो परियोजनाको पछाडि भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुक को विकाससम्बन्धी दीर्घकालीन दृष्टिकोण छ। उनले सन् २०२३ डिसेम्बर १७ मा भुटानको राष्ट्रिय दिवसका अवसरमा गेलेफुलाई नयाँ आर्थिक केन्द्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गरेका थिए।

राजाको सोच परम्परागत औद्योगिक सहर निर्माण गर्नेभन्दा फरक छ। उनको अवधारणामा आर्थिक समृद्धि, आध्यात्मिकता, वातावरण र नागरिकको खुसी एकअर्काका प्रतिस्पर्धी होइनन्, एकअर्कालाई सहयोग गर्ने आधार हुन्।

यसको नाम नै ‘माइन्डफुलनेस सिटी’ राखिएको छ।

माइन्डफुलनेसको सामान्य अर्थ वर्तमान क्षणप्रति सचेत हुनु, आफ्नो व्यवहार र सोचलाई बुझ्नु तथा प्रकृति र समाजसँग सन्तुलन कायम गर्नु हो। बौद्ध दर्शनमा यसको गहिरो सम्बन्ध छ। भुटानले यही अवधारणालाई सहरी विकासको दर्शन बनाउने प्रयास गरेको छ।

सहर निर्माण गर्दा कति उद्योग आए, कति भवन बने र कति लगानी भित्रियो भन्ने प्रश्नसँगै त्यहाँका नागरिकको जीवन कस्तो हुन्छ, प्रकृतिमा कस्तो प्रभाव पर्छ र स्थानीय संस्कृतिको संरक्षण कसरी हुन्छ भन्ने प्रश्न पनि महत्त्वपूर्ण बनाउने उसको दाबी छ।

गेलेफु माइन्डफुलनेस सिटीको आधिकारिक वेबसाइटले पनि यसलाई बौद्ध आध्यात्मिक विरासतबाट प्रेरित, वातावरणमैत्री र सचेत व्यवसाय सञ्चालन हुने अन्तर्राष्ट्रिय आर्थिक केन्द्रका रूपमा परिभाषित गरेको छ।

स्मरण रहोस गेलेफु भुटानको दक्षिणी क्षेत्रमा भारतको असम राज्यसँग जोडिएको स्थान हो। यसको आधिकारिक क्षेत्रफल ४,०४६ वर्ग किलोमिटर छ, जुन भुटानको कुल भूभागको करिब १० प्रतिशत हो। अहिले यो करिब १० हजार जनसंख्या भएको सानो सहर हो। राजधानी थिम्पुबाट यसको दूरी करिब २४० किलोमिटर छ। यही सानो सहरलाई भुटानले भविष्यको अन्तर्राष्ट्रिय आर्थिक केन्द्र बनाउने लक्ष्य राखेको छ।

गेलेफु माइन्डफुलनेस सिटीलाई सन् २०२४ फेब्रुअरीमा राजकीय घोषणापत्रमार्फत विशेष प्रशासनिक क्षेत्र (Special Administrative Region–SAR) का रूपमा स्थापना गरिएको हो।

यस सहरको डिजाइन डेनमार्कको चर्चित वास्तुकला संस्था Bjarke Ingels Group तथा अरूप र सिस्ट्रिजस्ता संस्थासँग सम्बन्धित छ। यसको डिजाइनमा परम्परागत सहरी विकासभन्दा फरक अवधारणा अपनाइएको छ।

नदीलाई सहरको अवरोधका रूपमा होइन, सहरको प्राकृतिक संरचनाको रूपमा हेरिएको छ। जंगल, नदी, खेतीयोग्य जमिन र वन्यजन्तुको आवागमनलाई जोगाउँदै आवासीय र व्यावसायिक क्षेत्र विकास गर्ने योजना छ।

डिजाइनमा ३५ वटा नदी तथा खोलाको प्राकृतिक प्रवाहलाई ध्यानमा राखिएको छ। नदीका किनारमा धानखेत तथा खुला क्षेत्र कायम गरेर मनसुनमा पानी फैलिन सक्ने ठाउँ छाड्ने र बाढीको जोखिम घटाउने अवधारणा पनि समेटिएको छ।

सहरका विभिन्न भागलाई जोड्ने पुलहरूलाई केवल आवागमनका संरचना नबनाई विश्वविद्यालय, स्वास्थ्य केन्द्र, सांस्कृतिक केन्द्र, बजार र आध्यात्मिक केन्द्रसँग जोड्ने सोच राखिएको छ।

हात्ती र अन्य वन्यजन्तुको प्राकृतिक आवागमनमा अवरोध नपुगोस् भन्ने विषयलाई पनि डिजाइनमा महत्त्व दिइएको छ। अर्थात् भुटानले सहर बनाउँदा प्रकृतिलाई हटाएर भवन बनाउनेभन्दा प्रकृतिभित्रै सहर विकास गर्ने अवधारणा अघि सारेको छ। 

धर्मदेखि कृत्रिम बुद्धिमत्तासम्मः आठवटा आर्थिक क्षेत्रलाई जोड्ने योजना

गेलेफु परियोजनाको विशेषता के हो भने यसले परम्परागत पर्यटन र जलविद्युतमा आधारित भुटानी अर्थतन्त्रलाई नयाँ क्षेत्रमा विस्तार गर्न खोजेको छ।

आधिकारिक परियोजना विवरणअनुसार यस सहरको आर्थिक विकासका लागि आठवटा प्राथमिक क्षेत्र निर्धारण गरिएका छन्।

आध्यात्मिकता (बौद्ध दर्शन, ध्यान र आध्यात्मिक पर्यटन), 

आधुनिक स्वास्थ्य सेवा र समग्र स्वास्थ्य,

विश्वविद्यालय, अनुसन्धान र अन्तर्राष्ट्रिय शिक्षा

कृषि प्रविधि र वन व्यवस्थापन

जलविद्युत्, स्वच्छ ऊर्जा र प्रविधि

वित्त तथा डिजिटल सम्पत्ति 

विमानस्थल, यातायात र अन्तर्राष्ट्रिय व्यापार

पर्यटन प्रकृति र संस्कृति

यी क्षेत्रलाई एकअर्कासँग जोडेर उच्च मूल्यको सेवा र व्यवसाय विकास गर्ने लक्ष्य छ।

यसमा सबैभन्दा रोचक पक्ष आध्यात्मिकता र वित्तीय सेवाको सहअस्तित्व हो।

सामान्यतया अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको चर्चा गर्दा सिंगापुर, दुबई, हङकङ वा स्विट्जरल्यान्डको ज्युरिख सम्झिन्छौँ। ती सहरले बैंकिङ, पुँजी बजार, लगानी र अन्तर्राष्ट्रिय व्यापारका आधारमा आफ्नो आर्थिक पहिचान बनाएका छन्। भुटान भने त्यही प्रकारको आर्थिक केन्द्र निर्माण गर्न चाहन्छ, तर आफ्नो सांस्कृतिक र आध्यात्मिक पहिचानलाई त्यसको केन्द्रमा राखेर।

यसले ध्यान, योग, स्वास्थ्य सेवा, वातावरणमैत्री प्रविधि, कृषि अनुसन्धान र डिजिटल वित्तलाई एउटै आर्थिक सहरभित्र समेट्न खोजेको छ। गेलेफु परियोजनाको अर्को असाधारण पक्ष यसको प्रशासनिक संरचना हो।

भुटानले यसलाई सामान्य नगरपालिका वा औद्योगिक क्षेत्रका रूपमा विकास गर्न खोजेको छैन। विशेष प्रशासनिक क्षेत्रको हैसियत दिएर फरक आर्थिक र कानुनी व्यवस्था अपनाउने तयारी गरेको छ। यसको अवधारणालाई ‘वन कन्ट्री, टु सिस्टम्स’ अर्थात् एउटा देश, दुई प्रणाली भनिएको छ। यसअन्तर्गत गेलेफुलाई आफ्नै कार्यकारी अधिकार, विधायिकी अधिकार र स्वतन्त्र न्यायिक संरचना दिइएको छ। यो व्यवस्था भुटानको बाँकी प्रशासनिक प्रणालीभन्दा फरक हुनेछ।

विशेषगरी विदेशी लगानी, कम्पनी दर्ता, बैंकिङ, वित्तीय सेवा, व्यावसायिक विवाद समाधान र डिजिटल सम्पत्तिसम्बन्धी कारोबारमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाउने लक्ष्य राखिएको छ।