धमाधम कम्पनीहरुले लाभांस घोषणा गर्दा पनि किन देखिएन बजारमा उत्साह ?

Sep 05, 2017 Merolagani

- परमेश्वर अधिकारी
सामान्यतया आर्थिक वर्षको समाप्ति पछि सेयर बजार उकालो लाग्ने गरेको विगत वर्षहरुको अनुभव छ । आर्थिक वर्षको वित्तीय विबरण सुधारिएर आउने र लाभांस घोषणाको क्रम पनि सुरु हुने भएकाले बजारमा उत्साह आउने गरेको हो । तर यसपटक भने बजारमा फरक प्रवृत्ति देखिएको छ ।

पछिल्ला दिनमा सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । बजार घट्नु पर्ने कुनै ठोस कारण छैन । एकातिर लगानीकर्ताको मनोबल खस्किएको देखिएको छ भने अर्कातिर दशैको खर्च जोहो गर्न लगानीकर्ता वाध्यतावस कम मूल्यमै सेयर वेच्न जान थालेकोले सेयर वजारमा बिक्री चाप बढेको देखिन्छ ।

आगामी वर्षहरुमा कम्पनीले दिने प्रतिफलको आँकलनको असर अहिले

बैंक तथा वित्तीय संस्थाको चुक्तापूँजी चार गुणाले बढाउने राष्ट बैंकको निर्णय पछि एकाएक बजारले सोचेभन्दा बढी छलाङ मार्यो । सोही समयमा बीमा कम्पनीको पूँजीवृद्धिको हल्लाले पनि सोही समयमा बजारलाई उकालो चढायो । राष्ट्र बैंकले तोकेको अवधि सकिन एक वर्ष बाँकी हुँदै बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा दिन सक्ने प्रतिफलको आँकलन अघिल्लो आर्थिक वर्षमा नै बजारले गर्यो ।

जसका कारण गत आर्थिक वर्षको साउन १२ गते नेपाल स्टक एक्सचेञ्जले इतिहास बनायो । नेप्से १८८१ अंकमा पुग्दा बजारमा नयाँ रेकड कायम भयो । त्यस पछि तल झरेर १२३० अंकसम्म पुगेको नेप्से आजको दिनमा १५५६ को आसपासमा छ । केही दिन यता जति जति लाभांस घोषणा हुन्छ त्यति त्यति बजार तल झरेको भान भई रहेको छ ।

अनिवार्य डिम्याट, सेयर दलालको शाखा बिस्तार लगायत विषयले लगानीकर्ताको उपस्थिती बढ्दा बजारले उचाई लिने जमर्को गरेको थियो । तर बैंक तथा वित्तीय संस्थाले पूँजी चार गुणाले बढाईसके पछि आगामी वर्षहरुमा कम्पनीले दिने प्रतिफलको अवस्थालाई आँकलन गरेर लगानीकर्ताको मनोबल खस्किएको हो ।

घट्दो प्रतिफल क्षमता हैन बढ्दो प्रगति हेर्ने कि ?

अघिल्ला वर्षहरुमा कायम भएको प्रतिसेयर आम्दानी अहिले ५० प्रतिशतभन्दा बढीले घटेका छन् । पूँजी बढाइए पनि सोही अनुसार कमाई नबढे पछि कम्पनीहरुले अर्को वर्ष दिने प्रतिफलका बिषयमा लगानीकर्ता ढुक्क नभएको अवस्था छ ।

लगानीकर्ताहरुले सबै सूचिकृत कम्पनीहरु प्रगति गर्न नसक्ने अवस्थामा छैनन भन्ने कुरा बुझ्नु जरुरी छ । सबै कम्पनीले प्रत्येक वर्ष राम्रो प्रगति गरेको वित्तीय विबरण निकालिरहेका छन् । एकै पटक पूँजी अधिक बढाउदा हुने असर अहिले देखिए पनि प्रगतिको गतिलाई हेरेर लगानीकर्ता आशावादी हुन सक्नु पर्छ ।

एक रातमा नै कम्पनीहरुले प्रतिफल दिने क्षमतामा छलाङ मार्न सक्दैनन । यदि यस्तो हुन्थ्यो भने नेशनल हाइड्रो लगायत केही कम्पनीको सेयरमूल्य अहिले चिलिमे हाइड्रोको सेयरमूल्यको हारहारीमा हुनु पथ्र्यो । तर सबैले बुझेको के हो भने कम्पनी सुध्रिएको खण्डमा प्रगति गर्छ, केही समय लाग्छ ।

यसरी आयो सेयरको बाढी

विगत दुई आर्थिक वर्षमा बैंक, वित्तीय संस्था तथा बीमा लगायत सबै सूचिकृत कम्पनीहरुले ठूलो मात्रामा हकप्रद निष्काशन तथा बोनस बितरण गरेका छन् । ती सबै सेयर सूचिकरण भैसकेको अवस्था छ । यस्तो अवस्थामा सेयरको आपूर्ति बढेपनि माग सोही अनुरुप नहुदा सेयरमूल्य घट्नु स्वभाविक पनि हो ।

सस्तोमा सेयर किनेर बसेकाहरु पनि अहिले खर्चको जोहो गर्न आफुसँग भएका सेयर बिक्री गर्ने चक्करमा छन् । यसरी विभिन्न कारणले बिक्री चाप बढ्दा बजार घटेको मौकामा सेयर किन्नेहरु पनि उत्तिकै सक्रिय बनेका छन् । सेयर मूल्य घटेपनि कारोवारको रकम नघटेको कारण पनि यही हो ।

घट्दो बजारमा किनेको सेयरले केही समयमै राम्रो कमाई गर्न सकिने विश्वासका साथ उनीहरुले गरेको लगानीलाई सकरात्मक मान्नु पर्छ । उता बजार घट्यो अब अझै घट्छ भन्ने हल्लाका पछि लाग्नेहरुले भविष्यमा पछुतो मात्र हात पार्ने सम्भावना छ । अहिलेको बजार सूचक हेर्दा सेयर बेच्नेलाई भन्दा किन्नेहरुलाई राम्रो फाइदा उठाउने वाताबरण बनेको छ ।

के अब कम्पनीले प्रतिफल नै दिँदैनन् त ?

निरन्तर प्रतिफल दिईरहेका कम्पनीहरु व्यवसाय विस्तारको क्रममा छन । नेपाल इन्भेष्टमेण्ट बैंकले अघिल्लो आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरेर चुक्ता पूँजी आठ अर्ब रुपैंया नघाएको थियो । गत आर्थिक वर्षमा ठूलो रकम कमाई गरेको बैंकले आफ्नो आकार अझै बढाउनका लागि लगानीकर्तालाई राम्रो प्रतिफल दिने सम्भावना छ ।

यस्ता अरु पनि कम्पनी छन् जसले राष्ट्र बैंक वा बीमा समितिले तोकेको पूँजी पुर्याएर चूप लागेर बस्ने सोच बनाएका छैनन् । नेपाल लाइफ इन्स्योरेन्सले पनि अहिले नै चुक्ता पूँजी तीन अर्ब माथि पुर्याइसकेको छ । उसले बीमा समितिको निर्देशन अनुरुप पूँजी बढाएको मात्र नभई आफ्नो आकार र व्यवसाय बिस्तार गरेको हो ।

उल्लेखित दुई कम्पनीलाई उदाहरणका रुपमा मात्र प्रस्तुत गरिएको हो । यस्ता अरु पनि धेरै कम्पनीहरु छन् जसले लगानीकर्तालाई राम्रो प्रतिफल दिदै आफ्नो आकार बढाउन सक्रियता देखाउने छन् । त्यसैले अहिले हतारिएर सेयर बेचिहाल्नु पर्ने अवस्था भने होइन ।

नमात्तिनुस्, नआत्तिनुस्

हतारिएर र आत्तिएर सेयर किन्ने अनि बेच्नेहरुले सँधै पछुतो मान्ने गरेका उदाहरण यस अघिको बजारमा देखि सकिएको छ । अहिले बजारमा तीन दिने सेयर कारोबारीहरुका कारण पनि सामान्य लगानीकर्ताहरु तर्सिने गरेका छन् । दिर्घकालीन सोचका साथ लगानीकर्ताले सेयर किन्न नचाहेको अवस्थामा ती कारोवारीले पनि ऋण काढेर उछालिएर गरेको लगानीले उनीहरुलाई सडकमा पुर्याउन सक्छ ।

अहिले २० प्रतिशतसम्म प्रतिफल दिन सक्ने बैंकहरुको सेयर तीन सय रुपैंयासम्ममा किन्न पाइदै छ । त्यसै गरी बीमा कम्पनीहरुको सेयर मूल्य पनि औसत अवस्थामा छ । बीमा कम्पनीले पूँजीवृद्धि गर्नका लागि अझै योजनाहरु बनाइरहेका छन् । हकप्रदभन्दा बोनस सुरक्षित भएकाले त्यस्ता कम्पनीमा लगानीकर्ताले ध्यान दिन जरुरी छ ।

लगानीकर्ताले कम्पनीहरुको संस्थागत सुसाशन, सञ्चालकहरुको अध्ययन, विगतको प्रगति, लाभांस बितरणको इतिहास लगायतका विषयलाई अध्ययन गर्न सक्नु पर्छ । यसो गर्न सके हल्लाका भरमा फलानो कम्पनीको सेयर किन्ने भन्दै दौडिनु पर्दैन । अहिलेको बजारबाट डराउनु भन्दापनि यही बजारवाट राम्रो कमाई गर्ने अवसर लगानीकर्ताले लिन सक्नु पर्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।