नेपाल बैंक बलियो भईसक्यो,अब हामी लाभांश खुवाउने बारेमा सोचिरहेका छौ : सिइओ शाह

Dec 23, 2017 Merolagani

नेपालको सबैभन्दा जेठो बैंक, नेपाल बैक(NBL)  कुनै बेला खराबकर्जा र संस्थागत सुशासनको कमीले थला पर्ने अवस्थामा पुगेको थियो । पछिल्ला केहीबर्ष यता बैंकले खराबकर्जा निरन्तर घटाउदै स्वथ्थ र प्रतिपर्धी बैंकको रुपमा देखिन थालेको छ । बैंकको हालको अवस्था र आगामी योजना लगायतका सन्दर्भमा बैंकका प्रमुख कार्यकारी देबेन्द्रप्रताप शाहससँग मेरोलगानी डटकमका लागि राजेन्द्र खनाल र तीर्थराज पौड्यालले गरेको कुराकानी ।

नेपाल बैंकले चालु आर्थिक बर्षमा के—के गर्देछ, कस्ता योजना ल्याउँदै हुनुहुन्छ ?

कर्मसियल बैंकले गर्नुपर्ने सामान्य कार्यहरु त सधै नै गरिरहेकै हुन्छ । यस बर्षमा गर्ने नयाँ कुराहरुमा चाँही हामीले स्मार्ट ब्राञ्च बैंकिङ्गको अवधारणा लागू गर्न लागेका छौं । एफपीओ जारी गर्ने तर्फ कुराकानी भैरहेको छ ।

एफपीओ जारी गनुपर्ने आधार चाँही के हो ? कहिले निष्काशन हुन्छ ?

आठ अर्ब पूँजी राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी हो । त्यसभन्दा बढी पूँजी बढाउन आवश्यक हुन्छ । फेरि सरकारको नीति पनि आफ्नो स्वामित्वमा रहेको सेयर विस्तारै घटाउँदै लैजाने हो । अन्य तरिकाबाट विक्री गर्दा समेत कतिमा, कसरी बेच्ने जस्ता लामो प्रकृया तथा झण्झटहरु हुन्छन् । एफपीओमा जाँदा नेपाल बैंकको नेटवर्थ र मार्केटमूल्यका आधारमा प्रिमियम मूल्यमा जारी गर्नसक्ने आधारहरु रहेका छन् । अर्को मुख्य कुरा चाँही प्रिमियम मूल्यमा जाँदा बैंकले ठूलै रकम प्रिमियम संकलन गर्नसक्ने भएकाले यसले बैंकलाई भोलीका दिनमा धेरै सक्षम बनाउन मद्धत्त गर्दछ ।

एफपीओ अहिले नै मिति तोकेर कहिले आउँछ भनेर भन्ने अवस्था छैन । यो प्राविधिक र संवेदनशील विषय भएकाले मिति तोक्ने अवस्था छैन । तर साधारण सभामा एफपीओ सम्बन्धि एजेण्डा लैजाने हाम्रो योजना छ । साधारण सभाबाट प्रस्ताव पारित भैसकेपछि फेरि सरकारको ६२ प्रतिशत सेयर स्वामित्व रहेकाले सरकारको सहमति लिनुपर्ने हुन्छ । सकारको निर्णय नै अन्तिम हुने भएकाले प्रकृया अगाडि बढाउन हामीले यो प्रस्ताव साधारण सभामा लैजान लागेका हौं अहिले ।

विनिवेश प्रकृयाबाट सेयर बेच्ने र रणनितिक साझेदार भित्र्याउने प्रकृया चाँही के अन्त्य भएको अब ?

त्यो भन्न मिल्दैन, त्यो विकल्प सधै बाँकी रहन्छ । सरकारी स्वामित्व समाप्तै गर्न खोजेको हैन अहिले । पूँजी विनिवेश गर्ने कुरा ज्यूँदै राखेर एफपीओ प्रकृया अगाडि बढाउन लागिएको हो यो । रणनितिक साझेदार भित्र्याउने चाहना चाँही बैंकलाई राम्रो हुन्छ भनेर हाम्रै चाहनाले साधारण सभाबाट पारित गरेको हो । तर रणनितिक साझेदार भित्र्याउने कुरा त्यति सजिलो काम हैन । पहिला बैंक आफैं बलियो हुन पर्यो नि । बैंक राम्रो बनाएर साझेदार भित्र्याउँदा मात्र लगानीकर्तालाई राम्रो मूल्य आउँछ । यसबारे पछिल्लो काम सरकारले के गरिरहेको छ भन्ने मलाई जानकारीमा छैन ।

अघिल्लो साधारण सभामा ०७५ असार मान्तसम्ममा बोनस बाँड्ने गरि काम गछौं भन्नुभएको थियो, सक्नुहुन्छ ?

हो, हामीले केही बर्षभित्रमा नै बोनस बाँड्ने अवस्थामा पुग्छौं भनेर साधारण सभामा भनेको हौं तर मिति नै चाँही तोकिएको थिएन । आगामी साधारण सभामा पनि भनेको हैन त्यो समय आउँदैछ । अर्को साधारण सभासम्ममा हामीले हाम्रो स्वामित्वको सेयर विक्रीबाट आउने कमाई तथा एफपीओ जारी गर्न सक्यौं भन बोनस नै दिने हो । तर एफपीओ नआउँदाको अवस्थामा चाँही हामी दिन सक्छौं नै भनेर म अहिले भन्न चाँही सक्दिन ।

लगानीकर्ताको आशा त आगामी साधारण सभामा नै बोनस आउँछ भन्ने नै छ नि ?

लगानीकर्ताहरुले धेरै बर्षदेखि प्रतिफल नपाउनु भएकाले छिटो पाइओस् भन्ने आशा त होला । हाम्रो बैंकको पछिल्लो समयमा गरेको वित्तीय विवरणमा आएको सुधारले पनि त्यो आशा लाग्नु स्वभाविक हुनसक्छ ।

आर्थिक बर्ष ७२/७३ मा ४५१ करोड सञ्चित जगेडा नोक्सानी रहेको देखिन्छ, अहिले कति छ ?

राष्ट्र बैंकले सञ्चितमा रेकर्ड राख्ने राख्ने गर्दछ, हेर्छ । साधारण जगेडामा त हामी चार अर्बभन्दा माथि पुगिसकेका छौं । अघिल्ला धेरै बर्षहरूमा भएको नोक्सानीको बाँकी रहेको गणना गरेकोले नोक्सानी देखिएको हो त्यो । अहिले गरेको खुद नाफाबाट .साधारण जगेडामा रकम छुट्टाइसकेपछि मात्र सञ्चित नोक्सानीबाट घटाउने चलन छ । त्यो गर्दा अहिले बैंक दुई अर्ब ६० करोड रूपैयाँ बैंक अझै सञ्चित जगेडा नोक्सानीमा रहेको छ । यसलाई धनात्मक बनाएपछि मात्र राष्ट्र बैंकले बोनस वितरण गर्न दिन्छ नत्र दिँदैन । त्यसले गर्दा कहिलेदेखि बोनस दिन्छौं भनेर घोषणा गर्न नसकिएको हो ।

कहिलेसम्ममा घाटाबाट नाफामा आउनु हुन्छ त, चालु आर्थिक बर्षमा सक्छौं भन्ने विश्वाश छैन ?

नियमित आम्दानी र नाफाले मात्र त्यो सम्भव छैन । अर्को विकल्प भनेको सम्पत्ति बेचेर पूर्ति गर्ने कुरा आउँछ । हामीले यसअघि बैंकको अवस्था निकै कमजोर रहेको समयमा विक्री गरेका पनि हौं । घर जग्गाहरु चाँही अब हामी बेच्ने पक्षमा छैनौं । बेच्ने भनेको हाम्रो स्वामित्वमा रहेको कमाई न गरिरहेको सम्पत्ति । त्यस्ता सेयरहरु बेच्न खोजिरहेका छौं, जसको बजारमूल्य राम्रो रहेको छ ।

हालसम्म कति सेयर बेचेर कति कमाई गर्नुभयो ?

आर्थिक बर्ष २०७३/७४ मा मात्र हामीले एक अर्ब २४ करोड रुपैयाँको सम्पत्ति विक्री गरेका हौं । यति सम्पत्ति बिक्री गर्दा बैकको खुद नाफामा भने ७४ करोड मात्र बढ्छ । चालु आवमा पनि त्यस अनुसार नै कमाई गर्ने लक्ष्य रहेको छ । साधारण जगेडा कोषमा पनि नाफाबाट व्यवस्था गर्नुपर्ने भएकाले नियमित आम्दानीले मात्र सञ्चित जगेडा धनात्मक बनाउन पुग्दैन । त्यसैले सम्पत्ति विक्री नगरी पुरै नाफा घटाउन सक्ने अवस्था छैन ।

नागरिक लगानी कोष र डिप्रोक्स् लघुवित्तको संस्थापक सेयर बेच्न सक्नुभएन, लिलामी घटाएर फेरि ल्याउनुहुन्छ ?

पछिल्लो समय नेप्से परिसूचक आएको गिरावटले सबै सेयर विक्री हुन सकेन । अहिले नै मूल्य घटाएर फेरी लिलामीमा ल्याइहाल्ने सोचमा बैंक छैन । अब परिसूचक बढ्छ कि भनेर पर्खिरहेका छौं । आखिर यस बर्षमा नै बेच्ने हो । बेच्न बाँकी धेरै सेयर भएको राष्ट्रिय बीमा कम्पनीको सेयर हो । सञ्चालक समितिले पनि त्यसलाई विक्री गर्न अनुमति प्रदान गरिसकेको छ । बिभिन्न बाधा अड्चन आएन र विक्री भयो भने यो विक्री गर्दा हामी करिब तीन अर्ब कमाउँछौं । हामीले चालू आवमा मै विक्री गर्नका लागि स्टक एक्सचेञ्जसँग यसको विक्री गर्नका लागि छलफलमा रहेका छौं ।

समग्र बाणिज्य बैंकको औसत आधार व्याजदर साढे नौ प्रतिशत रहेको छ । नेपाल बैंकको आधार व्याजदर ७ प्रतिशत भन्दा तल र कर्जा निक्षेप अनुपात कम भएपनि चौथो त्रैमासमा भन्दा पहिलो त्रैमासमा कर्जा लगानी घटेको छ नि किन ?

चौथो त्रैमासमा बढेको कारण चाँही असार मसान्तमा बैंकहरुले तत्कालिन समयको आवश्यकतालाई सम्बोधन गर्ने हिसाबले छोटो समयका लागि कर्जा प्रदान गर्ने गर्दछन् । बजेट आउँदैछ भन्ने हुन्छ । बजेटमा भन्सार बढ्ने हुन्छ र व्यापारीहरुले सामानको जगेडा बढी राख्छन् । त्यो ऋण उनीहरुले साउन मसान्तमा तिरिदिन्छन्, हरेक बर्ष हुन्छ त्यो । प्रथम त्रैमासमा अपेक्षित रुपमा जति बढ्नुपथ्र्यो। विभिन्न कारणहरुले कर्जा प्रबाह बढाउन नसकेको चाँही हौ । दोस्रो त्रैमासमा अहिले बढिसकेको छ । तपाईले प्रथम त्रैमासमा ७३ अर्ब देख्नुभएको थियो अहिले ७५ अर्ब पुगिसकेको छ ।

अर्को कुरा हेर्नुहोस् अहिले बैंकहरुबिच प्रतिस्पर्धा निकै धेरै छ । हामीले नाफा नै कमाउनुपर्छ भन्नेमा मात्र जाँदैनौं । नाफा बढाउँदै लैजानुपर्छ भन्ने सिद्धान्तलाई हामी मान्छौं तर बजार नै अस्तव्यस्त हुनेगरि हामी जाँदैनौं । गत बर्ष लगानीयोग्य पूँजीको अभाव (क्रेडिट क्रञ्च) को अवस्था रहेको थियो । कतिपय बैंकको ८० प्रतिशत भन्दा सिसीडी नाघ्यो, हामीले ७८ प्रतिशत पनि नघाएनौं । हाम्रो चाहना के हो भने बलियो बैंक बन्ने हो नाफा धेरै कमाउने बैंक भनेर हामी चिनिन पनि चाहँदैनौं ।

नेपाल बैंकले विदेशी मुद्रा सटहीबाट अन्य बैंकको तुलनामा निकै कम आम्दानी गरिरहेको छ । दक्ष जनशक्ति अभावले हो कि किन यसतर्फ ध्यान नदिनुभएको ?

हेर्नुहोस्, नेपाल बैंक केही समय अगाडिसम्म बिरामी बैंक हो । पहिला बैंक धेरै सञ्चिति जगेडा नोक्सानीमा थियो, पूँजी कोष अनुपात पुगेको थिएन, खराब कर्जा अनुपात एकदमै बढी रहेको थियो । यी सबै बिरामीका लक्षणहरु हुन् । अहिले तपाई स्वस्थ बैंकको सिइओसँग कुरा गरिरहनु भएको छ । पहिला इक्वीटी क्यापिटल र जगेडा कोष सहित ३ अर्बको बैंक थियो अहिले १२ अर्ब पुगिसकेको छ । परार भन्दा पाहोर, पोहोर भन्दा यसपाली यसमा धेरै वृद्धि गर्दे लगेका छौं । तँपाईले वित्तीय विवरणमा पनि देख्न सक्नुहुन्छ । अरु कार्यहरु जस्तै सुनको काम पनि हामीले सुरु गर्देर्छौं, प्रोटफोलियो म्यानेजमेन्टको काम हामी गर्देछौं । व्याज आम्दानी बाहेक अन्य आम्दानी बढाउन पनि हामी लागिरहेका छौं ।

बैंकको खराब कर्जामा कस्तो सुधार गर्दे हुनुहुन्छ ?

हामीले नयाँ खराब कर्जा पुरै नियन्त्रणमा राखेका छौं । पुरानो उठाउने प्रयास समेत गरिरहेका छौं । तर पुरानो फसेको पैसा यथावत छन् । एभरेष्ट ब्रुअरी, वासुलिङ्ग सुगर मिल र फुलवारी रिर्सोटमा फसेको पैसा पनि उठिसकेको छैन ।

राजनैतिक हस्तक्षेपले फुलबारी रिर्सोटको पैसा अन्तिम समयमा उठ्न सकेन भनिन्छ नी ?

पत्रपत्रिकाहरुले केही लेखे भन्ने पनि सुनेको छु, पुरै सत्य होईन त्यो । असुली हुने स्थितिमा नै पुगिसकेर रोकिएको अवस्था हैन । केही राजनैतिक तहको स्वार्थ पनि होला नहोला नै भन्न त सकिन्न । तर राजनैतिक रुपले त्यो नगर भनेर नै रोकेको चाँही होईन । ऋणदाताले नै गरौं गरौं त भन्नुहुन्छ तर बैंकले भनेको दिनमा उहाँहरुबाट जवाफ पाईरहेको छैन । आशा गरौं अब छिट्टै फाइनल हुनसक्छ ।

अब अन्त्यमा, झण्डै तीन बर्षको कार्यकालमा प्रमुख कार्यकारीको हैसियतले कमाण्ड सम्हालेदेखि के—के उपलब्धि हासिल गर्नुभयो र लक्ष्य के के छन् ?

आफ्नो समिक्षा आफै भन्दा अरुले गर्ने हो । जे जे गरेँ जनतामा प्रकाशित गरेर सार्वजनिक गरेका नै छौं । मुख्य २ ३ वटा कुराहरु चाँही लगानीकर्ताको सम्पत्ति (सेयरहोल्र्डस् इक्वीटी) तीन अर्बमा खुम्चिएको बैंक अहिले १२ अर्बको भएको छ । एउटा व्यक्तिलाई बढीमा कतिसम्म कर्जा प्रबाह गर्न सकिन्छ (सिङ्गल बरोअर लिमिट भन्छौं हामी) ७५ करोड भन्दा बढी दिन सकिने अवस्था थिएन अहिले तीन अर्बभन्दा बढि दिनसक्ने अवस्थामा हामी पुगेका छौं । तीन अर्ब ब्यालेन्स सिटमा नै घाटामा रहेको थियो अहिले अहिले जगेडा कोष पौने पाँच अर्ब धनात्मक रहेको छ ।

मैले सिइओ भएर कार्यभार सम्हालेको पहिलो बर्ष जग्गा विक्रीको समेत जोडेर ४८ करोड खुद नाफा बैंकले कमाएको हो । अहिले गत बर्ष जग्गा समेत जोडेर तीन अर्ब २१ करोड गर्न सफल भयौं । दुई अर्ब ४२ करोड खुद नाफा त साधारण नाफा नै गरेका छौं ।

६ अर्ब ४७ करोड पूँजीमा ३ अर्ब जगेडा घाटा घटाउँदा तीन अर्ब ४७ करोडको पूँजी अहिले आठ अर्ब पुर्याएका छौं, भने जगेडा कोष जोड्दा झण्डै १३ अर्बको बैंक भएका छौं ।

त्यस्तै बैंकले ट्रेजरीमा सुनचाँदीको कारोबार हुँदैन थियो अब हुन थालेको छ, विदेशी मुद्राबाट शून्यजस्तै रहेको अवस्थामा बर्षमा १२ करोड कमाउनसक्ने अवस्थामा पुगेका छौं । भर्खर २५ वटा शाखाबाट स्मार्ट ब्राञ्च र्बैंकिङ्ग सुरु गरेका छौं।

अबको दिनमा हामीले कसरी लगानीकर्तालाई लाभांश दिन सकिन्छ भनेर लागिरहेका छौं । मेरो बानी चाँही बोनस बाँड्न सकिने अवस्थाको ग्यारेन्टि नभई दिन्छु नभन्ने । सरकारको निर्णयमा एफपीओ आउने नआउने निर्धारण हुन्छ, एफपीओ आए राम्रै बोनस खुवाउन सक्ने अवस्था हुन्छौं हामीले सुरुवात गरेका छौं हेरौं ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।