गत साउनदेखि असारसम्म आइपुग्दा तीन हजार ४३८ ओटा डिम्याट खाता बन्द भएको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । धितोपत्र बोर्डले एक जनाले बढीमा दुई वटासम्म मात्र खाता गर्न पाउने व्यवस्था ल्याएसँगै बहु खाता हुने लगानीकर्ताले दुई भन्दा बढी खाता बन्द गरेका हुन् ।
बोर्डले आस्वा प्रणाली र धितोपत्र निष्कासन तथा बाँडफाँड प्रणालीको कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा लगानीकर्ता एवं बजारको दीर्घकालीन हितलाई भन्दै २०७४ भाद्र मसान्तसम्म दुई भन्दा बढी खाता संचालनमा रहेका भए बन्द गर्न निर्देशन दिएको थियो ।
तर लगानी व्यवस्थापनमा सहभागी भएका लगानीकर्ताको हकमा लगानी व्यवस्थापनमा सहभागी हुनका लागि लगानी व्यवस्थापनअनुसार डिम्याट खाता खोल्न भने पाउने व्यवस्था छ । अन्यको ग्राहकले भने बढीमा दुईवटा डिम्याट खाता मात्र सञ्चालन गर्न पाउनछन् ।
सिडिएस एण्ड क्लियरिङ्गको तथ्याङ्क अनुसार अहिले पनि लगानी व्यवस्थापनमा सहभागि लगानीकर्ता तथा अन्यको गरि दुईवटा खाता सञ्चालन गर्ने लगानीकर्ताहरुको संख्या ६ हजार ८११ रहेको छ । यस अवधिमा ३ हजार ४३८ वटा खाता भने बन्द गरिएका छन् ।
असार १८ गते सोमबारसम्म विभिन्न ६७ निक्षेप सदस्यहरु मार्फत हितग्राही खाता खोल्ने लगानीकर्ताको संख्या १२ लाख ७२ हजार ८४४ पुगेको छ । ६७ निक्षेप सदस्यमध्ये मेरो सेयर प्रणालीमा ६५ दर्ता छन् । हालसम्म मेरो सेयर प्रयोगकर्ताको संख्या दुई लाख ७३ हजार बढी रहेको छ ।