टेलिकमले काठमाडौं र पोखराबाट सन २०१७ जनवरी १ देखि पहिलो पल्ट फोरजी/एलटिइ  सेवा सुरु गरेको थियो । 
देशभर फोरजी/एलटिइ  विस्तारमा ढिलाई भएको स्वीकार गर्दै सेवा विस्तारले उल्लेख्य प्रगति गरेको प्रबन्ध निर्देशक डिल्लीराज अधिकारीले जानकारी गराए । 

टेलिकमले सातै प्रदेशमा सेवा विस्तारको लागि गत माघ २० गते कोर जेटिइ कार्पोरेशन चीन, नेटवर्क आई, नेटवर्क आईआईको लागि सिसिएसआई हङकङ्गसंग सम्झौता गरेको छ । 
सम्झौता अनुसार १२ महिनामा सम्पन्न गर्नको लागि साइट सर्भेको काम सुरु भएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी गराए । उनका अनुसार अहिले सम्म साइट सर्भेको काम ६५ प्रतिशत सकिएको छ ।
प्रबन्ध निर्देशक अधिकारीले सन २०२५ सम्म फोरजीबाट पर्याप्त फाइदा लिएर फाइभजीको लागि तयार हुनुपर्ने बताए । अहिले विस्तार गर्न लागेको प्रविधिमै फाइभजी सेवा विस्तार गर्न सकिने उनको भनाई छ । अहिलेको बजारमा फोरजी सेवा नै उपयुक्ता रहेको उनको दाबी छ । फोरजीको विस्तारसंगै टुजी र थ्रिजीलाईपनि विस्तार गरिने टेलिकमले जनाएको छ । 
यस्तै टेलिकमले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा ४ सय थ्रीजि विटिएस र ४०७ वटा विटिएस थप गरिएको जनाएको छ । 
एक करोड लाइन मोबाईल आयोजना अन्र्तगत ग्राहकहरुको माग एवंम प्रविधिक अध्ययन अनुसार आवश्यक देखिएको स्थानहरुमा मोवाईल कार्य जारी रहेको पनि टेलिकमले जानकारी गराए । यस अन्र्तगत प्याकेज ए र प्याकेज बि गरी काम गरिरहेको छ । 
प्याकेज बि अन्र्तगत शत प्रतिशत काम सकिएको छ भने ए अन्र्तगत ९५ प्रतिशत काम सकिएको टेलिकमले जनाएको छ ।