साढे चार रुपैयाँ इपिएस रहेको लघुवित्तको शेयरमूल्य १२८ गुणा बढी

May 10, 2019 Merolagani



लघुवित्तको शेयरमूल्य आम्दानीको अनुपातमा कयौं गुणा बढी हुन्छ भन्ने उदाहरण शुक्रवार वित्तीय विवरण प्रकाशमा ल्याएको सपोर्ट माइक्रोफाइनान्स (SMB)मा पनि लागू भएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा माइक्रोफाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६० पैसा कायम भएको छ।

सोही लघुवित्तको चैत मसान्तमा प्रतिकित्ता ५९० रुपैयाँमा शेयर कारोबार भएको थियो। यसअनुसार कम्पनीको आम्दानीको तुलनामा शेयरमूल्य १२८ गुणा अधिक देखिन्छ। सामान्यतया मूल्य आम्दानी अनुपात २० गुणालाई मानक मानिँदै आएको पाइन्छ ।

कारोबारीको चलखेल र बजारमा न्यून आपूर्तिका कारण लघुवित्त कम्पनीहरुमा धेरै चलखेल हुने गरेको पाइन्छ। यसको अलवा धेरै पूँजी हुने लघुवित्त कम्पनीको भने मूल्य आम्दानी अनुपात कम रहने गरेको छ । न्यून प्रतिफल दिने कम्पनीहरुको शेयरमा उच्च लगानी गर्न जहिले पनि घातक हुने गर्दछ ।

६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सपोर्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको ९ महिना अवधिमा २० लाख ७० हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा १९ लाख ९५ हजार नोक्सानी व्यहोरेको लघुवित्त नाफामा पुगेको हो।

माइक्रोफाइनान्सले खर्च र आम्दानीका सूचकहरुलाई सन्तुलनमा राख्दै नाफामा सुधार गरेको देखिन्छ। माइक्रोफाइनान्सको जगेडा कोषमा ५५ लाख २४ हजार रुपैयाँ सञ्चित छ।

चैत मसान्तसम्मा ११ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले ३९ करोड ६४ लाख रुपैयाँ ऋण गरेर ५४ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

यस अवधिमा माइक्रोफाइनान्सले दुई करोड १८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ४० प्रतिशतले बढोत्तरी भएको हो। गत वर्ष माइक्रोफाइनान्सले एक करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात २.८६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात १२८ .२४ गुणा छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।