धितोपत्र बोर्डमा चार वटा कोषहरुले आफ्ना ईकाइहरु बिक्रीमा ल्याउन स्वीकृति कुरेर बसेका छन् ।
एनएमबी क्यापिटलले बिक्रीमा ल्याउने एक अर्ब २० करोडको एनएमबी ५० योजनाले भरखरै स्वीकृति पाएको छ। ग्लोबल आईएमई क्यापिटलको ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले एक अर्ब २० करोडकोे ईकाई बिक्रीको स्वीकृति माग गरेको लामो समय भएको छ भने लक्ष्मी क्यापिटलको लक्ष्मी उन्नति कोषको ८० करोडको ईकाई बिक्रीको पनि स्वीकृति पखाईमै छ।
त्यसैगरी सिद्धार्थ क्यापिटलको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को एक अर्ब ४० करोड र एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया ब्यालेन्स फण्डको एक अर्ब २५ करोडको ईकाई बिक्रीको स्वीकृति माग भएको छ ।
सीबीआईएल क्यापिटलको सिटिजन्स म्युचुअल फण्ड २ को एक अर्ब र खुलामुखी योेजना अन्तर्गत एनआईबीएल क्यापिटलको एनआईबीएल सहभागिता फण्डको ५० करोड बराबरको ईकाई हुन् ।
शेयर बजारमा शेयरको मूल्य घटेर धेरै सामुहिक लगानी कोषहरुको प्रति ईकाई खुद सम्पति मूल्य अर्थात नाभ कम हुँदा नयाँ ईकाईहरु पूर्ण रुपमा बिक्री हुन समस्या भयो, शेयर बजारमा सुधार हुँदा भने ईकाई बिक्रीमा सहजता आउँने सम्भावना छ ।
अहिले शेयर बजारमा १६ वटा सामुहिक लगानी कोषहरु सक्रिय रहेकोमा तीन वटा कोषहरुको अवधि सकिनै लागेको छ ।
सिद्धार्थ क्यापिटलको दोस्रो ईकाईको म्याद यही असारमा सकिनेमा उसले धमाधम शेयर बिक्री गरेर सकेको अबस्था छ । त्यसैगरी एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ र लक्ष्मी भ्यालु फण्ड १ पनि आगामी वर्ष बाहिरिदै छन् ।
यसअघि नै सिद्धार्थको ग्रोथ स्किम १ र नविल ब्यालेन्स फण्ड १ बाहिरिई सकेका छन् । पुरानाको अवधि समाप्त हुँदै जाँदा यस्ता नयाँ कोषहरु धेरै संख्यामा बजारमा ल्याउनुपर्ने आवश्यकता खटकिएको छ । यसका लागि अनुकुल वातावरण निर्माण गरी सर्बसाधारण लगानीकर्तामा जागरण ल्याउनु आवश्यक छ । संस्थागत लगानीकर्ताहरुको सहभागिता बलियो बनेमा मात्र शेयर बजारमा स्थायित्व आउने सम्भावना हुन्छ ।
कतिपय आलोचकहरुले सामुहिक लगानी कोषलाई "ज्वाइँ सरह"को सुविधा दिए पनि उनीहरुले बजार विकासको काम नगरेको आरोप लगाउने गरेका छन् तर यस्ता कोषहरुको सही परिचालनबाट पूँजी बजारको बिकास हुनेमा भने दुईमत हुन सकिन्न ।
शेयर बजारमा गिरावट आउँदा कतिपय सर्बसाधारण लगानीकर्ताले आफ्नो लगानीको ९० प्रतिशत लगानी गुमाउँदा यस्ता कोषहरुको प्रति ईकाई खुद सम्पति मूल्य १० रुपैयाँबाट ७ रुपैयाँमा मात्र झर्यो ।
यस्ता कोषहरुले बुद्धि पुर्याएर धेरै कम्पनीका शेयरहरुमा लगानी विविधिकरण गरेकाले मात्र ठूलो जोखिमबाट बच्न सकेका हुन्। उनीहरुले जोखिमबहन क्षमता बलियोे बनाएर लामो समयसम्म शेयर धारण गर्दा अन्तिममा नाफामै पुग्छन् तर सर्बसाधारण लगानीकर्तामा यस्तो धैर्यता र क्षमता कमै हुन्छ।