इन्साईडर ट्रेडिङ्ग गरे कडा सजाय हुने प्रावधानसहित नियमावली लागू गर्ने अन्तिम तयारी

Jun 19, 2019 Merolagani

- सुरेन्द्र थापा।
नेपाल धितोपत्र बोर्डले शेयर बजारमा हुने इन्साईडर ट्रेडिङ्ग नियन्त्रण गर्न कडा सजायको प्रावधानसहित नियमावली लागू गर्ने अन्तिम तयारी गरेको छ। 

बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखेको यो विषय आगामी महिनासम्ममा लागू भईसक्ने बोर्डका अधिकारीहरुले बताएका छन् । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको सुझाब संकलन गर्न मंगलबार धितोपत्र बोर्डले आयोजना गरेको कार्यक्रममा पनि उक्त नियमावली लागू गर्ने चरणमा रहेको बोर्डले बतायो ।

बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले सम्भव भएसम्म यसै आर्थिक वर्षभित्र नभए आगामी आर्थिक वर्षको सुरुवातदेखि नै इन्साइडर ट्रेडिङ्ग प्रतिवन्ध नियमावली लागू गरिने जानकारी दिए।

बोर्डले धितोपत्रको दोस्रो बजारमा हुने कारोवारलाई विश्वसनीय बनाउन भित्री कारोवार प्रतिबन्ध नियमावली लागू गर्न लागेको हो। यस बारेमा शेयर दलालका कर्मचारीहरुलाई बोर्डले तालिमको आयोजना पनि  गर्न लागेको छ। 

विगत झण्डै एक वर्षअघि नै भित्री रुपमा हुने कारोबार (इन्साइडर ट्रेडिङ्ग) लाई बन्देज लगाउन नियमावली बनेपनि बोर्डले त्यसलाई कार्यान्वयनमा ल्याउन सकेको छैन। नियमावलीको अन्तिम मस्यौदा बनाएर ‘कानुन प्रबलीकरण समितिमा छलफलका लागि पठाइएको उप कार्यकारी निर्देशक डा. अधिकारीले जानकारी दिए ।

कानुन प्रबलीकरण समितिबाट पास भएपछि बोर्ड व्यवस्थापनबाट नियमावली स्वीकृत गरेर लागू हुन्छ - उनले भने ।

इन्साइडर ट्रेडिङ्गलाई बन्देज लगाउन अन्य देशमा बनेका नियमावलीहरुलाई अध्ययन गर्दैै नेपाल राष्ट्र बैंक ऐन, कम्पनी ऐन, धितोपत्र बोर्ड ऐन, सम्पति शुद्धीकरण ऐन लगायतका ऐन नियमहरुको अध्ययन गरेर उक्त नियमावली तयार गरिएको बोर्डको भनाई छ । 

भित्री कारोबार के हो ? कस्ता–कस्ता कारोबारलाई भित्री कारोबार भन्ने, भित्री कारोबार स्थापित कसरी हुने भन्ने सन्दर्भमा नियमावलीमा स्पष्ट रुपमा परिभाषित गरिएको छ। भित्री कारोबार कसरी प्रमाणित गर्ने भन्ने विषय समेत नियमावलीमा छ। साथै सूचना चुहाउनेलाई कस्तो कारबाही हुने भन्ने पनि नियमावलीमा समेटिएको छ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९–मा भित्री कारोबारमा संलग्न हुनसक्ने व्यक्तिको पहिचान गरेको छ । जसमा संगठित संस्थाको सञ्चालक, कर्मचारी वा शेयरवाला हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्ने व्यक्ति, संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्तिलाई जनाइएको छ। ऐनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरिद वा बिक्री भएता पनि वास्तविक स्वामित्वमा फरक परेमा त्यसलाई झुटो कारोबार ठान्ने छ ।

  • यस्तो हुनेछ सजाय 

भित्री सूचना सार्वजनिक गरी झुटो कारोबार गरेमा, मूल्यमा उतार- चढाव भएमा, धितोपत्र बजारलाई प्रभावित पारेमा ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने र एक वर्ष कैद वा दुवै कारबाही हुने उल्लेख छ । झुक्याउने विवरण दिएमा, जालसाजीयुक्त कारोबार गरेमा, लिखत विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा १ देखि ३ लाख जरिवाना, २ वर्ष जेल वा दुवै सजाय हुने व्यवस्था रहेको छ । ऐनमा भएको कुरा बर्खिलाप गरे ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने उल्लेख छ ।

अहिलेसम्म भित्री रुपमा कारोबार गरेको भन्दै नियामक निकायले कसैलाई पनि कारबाहीको दायरामा ल्याएको छैन। नियमावली लागू भएपछि यस्ता कारोबार न्यूनीकरण हुने अपेक्षा बोर्डको  छ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा अर्थ मन्त्रालयले मुद्रा तथा पूँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव पेश गर्न गठित कार्यदलले पनि यो नियमावली तुरुन्त कार्यन्वयन गर्न सुझाब दिएको थियो।

कतिपय सूचना बाहिर आउँदा त्यसलाई प्रमाणित कसरी गर्ने भन्ने पनि चुनौतीको विषय रहेको छ।

सरोकारवालाहरुले पनि धितोपत्र कारोबारमा हुने इन्साइडर ट्रेडिङ रोक्ने नीति आवश्यक रहेको औल्याएका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बिषयमा छलफल गर्न आयोजित कार्यक्रममा सहभागीहरुले यस्तो सुझाब दिएका थिए । इन्साइटर ट्रेडिङ्गको समस्या समाधान गर्न नीतिगत व्यवस्था गरी धितोपत्र कारोबार गर्न नपाउनेहरुको तथ्याङ्क बनाउनुपर्ने अधिवक्ता अमृत खरेलको सुझाब छ ।

बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले सरोकारवालाहरुको माग बमोजिम इन्साइडर ट्रेडिङ्ग नियन्त्रणका निम्ति आवश्यक नीति ल्याउने काम अघि बढी सकेको जानकारी गराएका थिए। नियमावली कार्यान्वयनमा आएसँगै इन्साइडर ट्रेडिङ्गलाई नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • के हो भित्री कारोबार ?

धितोपत्र सम्बन्धी ऐन नियमको व्यवस्था बमोजिम लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने जानकारी एवं सूचना सार्वजनिक नगरी उक्त जानकारी एवं सूचनाका आधारमा कम्पनीसँग सम्बन्धित व्यक्ति वा निजको नजिकको व्यक्तिले धितोपत्र कारोवार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ्ग) भनिन्छ। यस प्रकारको कारोवार गर्न धितोपत्र सम्बन्धी ऐननियमले बन्देज गरेको छ।

इन्साइडर ट्रेडिङ्गमा कम्पनीका अध्यक्षसहित सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, प्रमुख लेखा अधिकृत तथा व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीहरु, लेखा परीक्षक लगायतको संलग्नता हुने सम्भावना उच्च रहन्छ।

  • कसरी हुन्छ इन्साइडर ट्रेडिङ्ग ?

कम्पनीका प्रमुख वा सो सरहका पदमा रहेका व्यक्ति, सञ्चालकहरुलाई आफु आवद्ध कम्पनीको बारेमा प्रशस्त जानकारी हुन्छ।

कम्पनीले गर्ने महत्वपूर्ण निर्णयहरु, विशेषगरी लाभांश सम्बन्धीका प्रस्तावहरुका सन्दर्भमा आन्तरिक रुपमा भएको छलफल वा निर्णय तथा छलफलको विषय अन्य व्यक्तिहरुलाई सुनायो र त्यसैका आधारमा शेयर किनबेच भयो भने यसलाई इन्साइटर ट्रेडिङ्ग मानिन्छ।

त्यस कम्पनीको सञ्चालकले गरेको निर्णय सामान्य तहको कर्मचारीले पनि थाहा पाएर कोही आफन्तलाई भन्यो भने त्यो इन्साइडर हुन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।