प्रदेश नं ३ उद्योगमन्त्रीको मातहतका कार्यालय र कर्मचारीलाई ४५ बुँदे निर्देशन

Aug 12, 2019 06:24 PM RSS



प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मातहतका कार्यालय र कर्मचारीलाई ४५ बुँदे निर्देशन जारी गरेको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटको पूर्ण कार्यान्वयन गर्न मन्त्री अरुणप्रसाद नेपालको सक्रियतामा मन्त्रालयले रोडम्याप बनाउँदै सो निर्देशन दिएको हो ।

मन्त्रालय अन्तर्गतका निकायबाट हुने कार्य सम्पादन परिणाममुखी बनाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मार्गचित्रसहितको निर्देशनमा सुशासनलाई थप प्रभावकारी बनाउन, भ्रष्टाचार शून्य बनाउने अभियान थालिएको जनाएको छ ।

मन्त्रालयका सचिव शिवकुमार वाग्लेले मन्त्रालयले तयार पारेको रोडम्याप तथा निर्देशनमा मन्त्रालय र मातहतका सबै निकायले गरेका मासिक खर्चका विवरण विद्युतीय माध्यमबाट सार्वजनिक गर्ने उल्लेख छ ।

यस्तै, कार्यालयमा दुई महिनाभित्र डिजिटल हाजिरी, सफ्टवेयरमा आधारित दर्ता चलानी, डिजिटल नागरिक वडापत्र तथा सेवाग्राही बस्ने स्थलमा टिभी, पत्रपत्रिका र कार्यालयको चेतनामूलक प्रकाशन हेर्न तथा पढ्न पाउने व्यवस्था मिलाइने उनले बताए।

निर्देशनमा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयले हरेक महिना कम्तीमा आठ वटा उद्योगको अनुगमन गर्नुपर्ने, सब डिभिजन तथा डिभिजन वन कार्यालयले मासिक रूपमा दुईवटा समुदायद्वारा व्यवस्थापन गरिएका वन, दुईवटा वनजन्य उद्योगको अनुगमन गरी निर्देशनालयमा प्रतिवेदन पेस गर्ने पनि उल्लेख छ ।

यस्तै, चालू आवको पहिलो चौमासिक भित्र वन पैदावार काठ, दाउरा, जडीबुटीको सङ्कलन, सदूपयोग, ढुवानी र ओसार पसारको कार्यलाई थप पारदर्शी र सुरक्षित बनाउन विद्युतीय सफ्टवेयर प्रणाली विकास गर्ने तयारी गरिएको छ । मन्त्रालयले दाउराको ढुवानी र ओसारपसारको विद्युतीय अनुगमन प्रणाली स्थापना गर्न शीघ्र पहल गर्ने योजना बनाइएको छ ।

यसैगरी सेवा शुल्क सङ्कलन, राजश्व सङ्कलन, धरौटी रकम, दण्ड जरिवानाको रकम लगायत आर्थिक कारोवार बैंकिङ्ग प्रणाली मार्फत सरकारले तोकेको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा कार्यालयमा शून्य नगद कारोवार बनाउने व्यवस्था मिलाउन मन्त्री नेपालले निर्देशन दिएका छन्।

मन्त्रालयले पर्यटन कार्यालयको सञ्चालन तथा भू जलाधार व्यवस्थापन कार्यालयको सेवा विस्तार र घरेलु तथा साना उद्योग विकास समितिमा रिक्त भएका पदमा एक महीनाभित्र कर्मचारी खटाउने व्यवस्था मिलाउने जनाएको छ ।

एक महिनाभित्र मन्त्रालय तथा मातहतका कार्यालय, सव डिभिजन वन कार्यालय तथा सो कार्यालयका कर्मचारी तोकिएको स्थानमा काम गर्ने गराउने व्यवस्था मिलाई नागरिकलाई नजिकको स्थानबाट सरल तथा सहज सेवा उपलब्ध गराउने मन्त्रालयको तयारी रहेको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।